विपद्को आकलन गर्न नसके आउँदाे दशक भयावह हुन सक्छ : सांसद

 साउन १५, २०७८ शुक्रबार २०:१८:१५ | रासस
unn.prixa.net

काठमाण्डाै – प्रतिनिधि सभाका सांसदले विपद्को जोखिमलाई आकलन गर्न नसके आउँदाे दशक भयावह हुने बताउनुभएको छ । 

प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका गिरिराजमणि पोखरेले बेलैमा जोखिम रोक्नतर्फ लाग्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले पानीको भण्डारले चुरे अत्यन्त जोखिममा रहेकाले त्यसका कारण अन्नको आधार तराई क्षेत्र पनि खतरामा परेको बताउनुभयो । 

‘चुरेको जोखिमलाई आकलन गर्न नसके आउँदा १० वर्षमा अवस्था भयावह हुनेछ’, उहाँले भन्नुभयो । क्षति न्यूनीकरण, वातावरण संरक्षण तथा जोखिम रोक्ने सवालमा विभिन्न दश बुँदा प्रस्तुत गर्दै पोखरेलले हरित अभियान चलाउन पनि सरकार तथा अन्य निकायसँग अनुरोध गर्नुभयो ।

उहाँले यसपालि मनाङ र मेलम्चीमा ठूलो मनसुनजन्य घटना आएकाले प्रभावितको पुनर्स्थापनमा ध्यान दिन आग्रह गर्नुभयो । विकास निर्माणका कार्यकम मूल्यमा बन्नुपर्ने हुँदा जोखिम क्षेत्रमा नै बन्ने गरेको र धेरैजसाे विकासका पूर्वाधार पनि नदी किनारमा रहेको दृष्टान्त प्रस्तुत गर्दै उहाँले नदीको तटीय क्षेत्र सुरक्षित बनाउन नसक्दा घर तथा कृषियोग्य जमिन बगरमा परिणत हुने गरेको यथार्थ प्रस्तुत गर्नुभयो ।

उहाँले नदीका लागि आवश्यक बगर र हरित क्षेत्र छाड्न पनि आग्रह गर्नुभयो । राजमार्ग र जलविद्युत् आयोजनाका पूर्वाधार जोगाउन सांसद पाेखरेलले ध्यानाकर्षण गराउनुभयो ।

सांसद महेश्वरजङ्ग गहतराजले राप्ती नदीको बाढीले अत्यधिक क्षति पुर्‍याएकाे भन्दै तटबन्ध निर्माणमा ध्यान दिन सरकारसँग माग गर्नुभयो । किसानलाई मल अभाव भएकाले सरकारले समयमै उपलब्ध गराउन पहल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

सांसद रङ्गमति शाहीले कोरोना नियन्त्रणका लागि सरकारले यथाशक्य कदम चाल्नुपर्ने बताउनुभयो ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का कृष्णभक्त पोखरेलले भूमिहीनका समस्या समाधान गर्न सरकारसँग माग गर्नुभयो । अघिल्लो सरकारले भूमिहीनका समस्याबारे चालेका कदमलाई वर्तमान सरकारले निरन्तरता दिनुपर्नेमा उहाँको जोड दिनुभयो । 

जनता समाजवादी पार्टी जसपाका डा. सुरेन्द्रप्रसाद यादवले विगतमा कोरोना प्रभावित भएका र नभएकालाई एउटै अस्पतालमा उपचार गराउँदा जटिलता उत्पन्न भएको उल्लेख गर्दै अबका दिनमा त्याे गल्ती दोहोर्‍याउन नहुनेमा जोड दिनुभयो । 

सांसद रेणुका गुरुङले कोरोना सङ्क्रमित बढ्दै गएकाले त्यसको रोकथामका लागि सरकारले पहल गरोस् भनेर माग राख्नुभयो । नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले सरकारले स्वास्थ्य र शिक्षा निःशुल्क गर्नुपर्नेमा जोड दिँदै कोरोनाविरुद्धको खोप सुनिश्चित गर्न माग गर्नुभयो ।   

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया