बन्द झोला र विद्यार्थीको भेट कहिले ?

 साउन २१, २०७८ बिहिबार १२:५४:० | रासस
unn.prixa.net

प्रतिकात्मक तस्बिर

जाजरकोट – कोभिड–१९ को असर देखिनेबित्तिकै विद्यालय बन्द भएका छन् । विद्यालय बन्द भएसँगै दुर्गमका विद्यार्थीको पाठ्यपुस्तकसमेत झोलामै बन्द छन् । विद्यार्थी घरायसी काममा व्यस्त हुँदा पाठ्यपुस्तक राखेको झोलासँग अझै भेटघाट हुन सकेको छैन । 

बारेकोट गाउँपालिका ५ की रमिता सिंह अहिले बारेकोटकै पाटन क्षेत्रमा पशुचौपायाको हेरालुका रूपमा दैनिक काम गरिरहनुभएको छ । उहाँलाई पढाइभन्दा पशुचौपायाको माया बढी लागिरहेको छ । हातमा मोबाइल लिएर दैनिक भिडियो हेर्दै पशुचौपायाको हेरालुको जिन्दगीबाट उहाँले मुक्ति पाउन सक्नुभएकाे छैन । घरका अभिभावक जङ्गलमा पाइने विभिन्न जडीबुटी सङ्कलन गर्न व्यस्त छन् । भाइ–बहिनीलाई दैनिक खाना, पशुचौपायाको स्याहारदेखि गोठको सुरक्षासम्मका कामले उहाँको दिन बितिरहेको छ ।

अभिभावक गोठमा आएको दिन सिंहलाई नायकबाडामा रहेकाे घरमा पठाएर आवश्यक खाद्यान्न ढुवानी गर्नुपर्ने अर्को जिम्मेवारी पनि आइलाग्दै आएको छ । सिंहले भन्नुभयो, ‘’किताब राखेको झोला र मेरो भेट नभएको धेरै महिना भइसक्यो, घरको कामले गर्दा किताब हेर्ने फुर्सद नै छैन । विद्यालय खुलेका पनि छैनन् । विद्यालयमा पास गराए कि फेल गराए, त्यो पनि थाहा छैन ।

उहाँजस्तै अर्की जुनकुमारी सिंह पनि चौथारी लेकमा हुनुहुन्छ । उहाँलाई गोठको सुरक्षादेखि पशुचौपायाकै चिन्ता छ । विद्यालय सञ्चालन भए/नभएको बारेमा जानकारीसम्म उहाँलाई छैन । पाटन क्षेत्रमा फोन नलाग्ने भएकाले बारेकोटको बोटो हुँदै जुम्ला जाने सर्वसाधारण उहाँको गोठमा बास माग्दै आएर बसेको पाहुनाले दिएको जानकारी नै उहाँका लागि नयाँ सन्देश हुन्छ ।

दैनिक वर्षे झरी, जुकाको टोकाइ, गाईभैँसी, घोडाको हेरालुको कामले गर्दा अरू कुरा सोच्ने जुनकुमारीलाई फुर्सद छैन । उमेरले मात्र १४ वर्षकी उहाँको काँधमा घरको सबै काम गर्नुपर्ने बाध्यता छ । पाटन क्षेत्रमा भारी मात्रामा फुलेका फूलहरूसँग रम्दै, जङ्गलबाट सङ्कलन गरी ल्याइएका निगालोको टुसा र अन्य जडीबुटी, च्याउ खाँदै जुनकुमारीको भविष्य कता जाँदैछ, उहाँलाई अत्तोपत्तो छैन ।

उहाँकै उमेरका विद्यार्थी इन्टरनेटको माध्यमले दैनिक नयाँ–नयाँ कुरा पढिरहेका छन् । देश, विदेशका घटनाका विषयमा छलफल, जानकार छन् । तर पाटन क्षेत्रमा रहेका विद्यार्थी कुनै सूचना, जानकारी र शिक्षा लिन पाएका छैनन् । पशुचौपायाको स्याहार नै उनीहरूको मुख्य शिक्षा आर्जन गर्ने थलो बन्दै छ । आर्थिक अवस्था कमजोर हुनुका साथै दुर्गम भएकै कारण यहाँका विद्यार्थी चाहेर पनि केही गर्न सक्ने अवस्था नरहेको वीरेन्द्र हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक गोरखबहादुर सिंहले बताउनुभयो । सिंह आफैँ पनि इन्टरनेट चलाउने र मन लागेमा विद्यालय तथा गाउँपालिकाको केन्द्र लिम्सासम्म पुग्ने गर्नुभएकाे छ ।   

बारेकोटलगायत दुर्गमका विद्यार्थीको परीक्षा फारमदेखि अन्य काम कसले गरिदिन्छ भन्ने स्वयम् विद्यार्थीलाई नै थाहा हुँदैन । त्यस्तै डोल्पाका धेरैजसाे विद्यार्थीको हालत पनि त्यस्तै रहेको छ । चिसो मौसममा विद्यालय बन्द गर्नुपर्ने र गर्मी मौसममा विद्यालय सञ्चालन गरेर पढाइलाई निरन्तरता दिनुपर्ने बाध्यता डोल्पामा रहेको छ ।

अहिले कोभिडका कारण विद्यालय बन्द हुँदा कुनै समय पनि विद्यार्थीले पढ्न पाएका छैनन् । गाउँमा हुने विकास निर्माणको काममा मजदुरका रूपमा विद्यार्थी काम गर्न बाध्य भएको त्रिपुरासुन्दरी नगरपालिका लिकुका रामबहादुर पहाडीले बताउनुभयो । ‘विद्यालय बन्द छन्, सरहरू कहाँ हुनुहुन्छ थाहा छैन’, उहाँले भन्नुभयो । आर्थिकरूपमा सबल भएको परिवारका विद्यार्थी ठूला सहरमा गएर विभिन्न माध्यमबाट शिक्षा लिए पनि गाउँमा रहेका विद्यार्थीको अवस्था बिजोग बन्दै गएको छ ।

‘कोरोनाविरुद्धको खोप शिक्षकलाई लगाउन सुरु गरे पनि विद्यार्थीलाई लगाइएको छैन । शिक्षकलाई लगाएको खोपले विद्यार्थीहरू कसरी सुरक्षित हुन्छन् ?’, रुकुम पश्चिम आठबीसकोट नगरपालिका राडीका कालीबहादुर बटालाले भन्नुभयो । ‘हामीले हाम्रो छोराछोरीलाई विद्यालय पठाउँदा कसरी पठाउने ?’, उहाँले प्रश्न गर्नुभयो । ‘शिक्षक मात्र बाँचेर विद्यार्थीहरू मरून् भन्ने नीति लिएको हो कि जस्तो लाग्छ’, उहाँले आक्रोशित हुँदै थप्नुभयो । केही विद्यार्थीहरू घर छाडेर भारतसमेत पुगिसकेको पाइएको छ । दशैँ, तिहारमा घर फर्कने गरी भारत पुगेको सामाजिक सञ्जालमा सार्वजनिक गरिएका सन्देशबाट थाहा हुँदै आएको छ ।

हाम्रो जीवनशैली र जीवनस्तर बदल्नका लागि आर्थिकरूपमा सबल भएमा मात्र हरेक प्रविधिसँग नजिक हुन सकिन्छ । बिहान र बेलुकी के खाने, के लगाउने भन्ने चिन्ताले रुमलिने हाम्रो परिवेशबाट हुर्केको जीवनशैलीबाट संसार थाहा पाउने सपना पूरा गर्न राज्यले ठूलो लगानी गर्नुपर्ने जानकारहरू बताउँछन् ।  

अन्तिम अपडेट: साउन २२, २०७८

तपाईको प्रतिक्रिया