सपना देख्नै छाडे आँखाले, हाँस्न बिर्से ओठहरु !

 साउन २३, २०७८ शनिबार १२:५६:१० | श्यामशितल परियार
unn.prixa.net

साउनको महिना । सुनसान रात । बाहिर एकतमासले झरी परिरहेको छ । मनले औधी सम्झिरहेको छ, तिमीलाई । हुन त यो मनले तिमीलाई कैले पो भुल्न सकेको छ र !

पलपल, हरपल हुन्छ्यौ तिमी सम्झनामा । धड्केकी हुन्छ्यौ हृदयमा । किन–किन आज तिम्रो धेरै नै याद आइरहेछ । तिम्रै तस्बिर हेर्दै तिमीसँगै बात गरिरहेछु ।

‘त्यति धेरै माया गर्थ्याै । उसैगरी मैले पनि त तिमीलाई माया गर्थेँ नि । मनको चोखो मिठो माया, न्यानो साथ दिँदादिँदै किन टाढियौ हँ ?’ लामो सुस्केरा हाल्दै मनले प्रश्न तेर्स्याउँछ तिमीसामु ।

मेरा प्रश्नमा, बोलेन तिम्रो तस्बिर । मात्र मुस्कुराइरह्यो ।

झ्याप्प बत्ति जान्छ । घडी हेरेँ । रातको ११ बजेर ३४  मिनेट भइसकेछ । बाहिर उसैगरी रोइरहेछ आकाश । एकतमासले बर्सिरहेछ वर्षा । तिम्रै यादमा आँखाबाट यस्तै साउने झरी खसाल्दै तिम्रो यादमा, तिम्रै अभावमा जिएको पनि वर्षौँ भइसकेछ ।

आँखा चिम्लिएँ । छातीमा तिम्रै तस्बिर राखी तिमीलाई नै एकोहोरो सम्झिरहेँ ।​

तिमीबिनाको जीवन कल्पना पनि गर्न सक्दिनथेँ म । उसैगरी तिमी पनि, म बिनाको जीवन कहाँ सोच्न सक्थ्यौ र !

त्यसपल तिमीले यो हृदयमा टाँसिएर यो शिर छोइ कसम खाँदै भनेकी थियौ, ‘तिमीबाट छुट्टिएर बाँच्न सक्दिन कैल्यै । दुःखमा सँगसँगै रोउँला, सुख–खुशीमा सँगसँगै हाँसुला । सँगसँगै बाँचुला, सँगसँगै धर्ती छोडुँला ।’

त्यति धेरै माया गर्ने तिमी । खै कसरी म बाट टाढियौ, यो हृदय दुखाई पराईको बनी गयौ । खै कसरी तिमीले मलाई, मेरो चोखो मायालाई पलभरमै छोडी, भुलिजान सक्यौ ।

तिमीले छाडी गएपछि एक्लै छु । एक्लै भएको छु । तिमी बिना एकपलको जीवन कल्पना गर्न नसक्ने म । तिमी पराई बनी गएपछि तिम्रै यादमा पलपल दुख्दै, रुँदै बाँचिरहेछु ।

तिमीले छोडी गएको पनि वर्षौँ भइसकेछ । सायद तिमीले त भुलिसक्यौ हौली । मैले भने तिमीलाई भुल्न सकेको छैन । सक्ने छैन, कैल्यै तिमीलाई भुल्न ।​

तिमीसँगै हुँदा मिठामिठा सपना देख्थे आँखाहरुले । दुःखमाझ पनि मुस्कुराउँथे ओठहरु । तर तिमी पराई बनी गएपछि सपना देख्न छाडे आँखाहरुले । हाँस्नै भुले ओठहरुले ।

हेर न, तिम्रो यादमा रुँदारुँदै यी आँखाका आँशु पनि रित्तिसकेछन् । आफ्नो भन्नु तिमी थियौ । तिमी नि टाढियौ । तिमी टाढिएपछि आफ्नो भन्नु यही आँखाको आँशु थियो । त्यही आँशु पनि रुँदारुँदै सकियो । रित्तियो ।

एकोहोरो तिमीलाई सम्झिदैँ तिमीसँगै दुखेसो, गुनासो पोखिरह्यो मनैले । झ्याप्प कोठाको बत्ती बल्छ । आँखा खुल्छन् । छातीमै छ, तिम्रो तस्विर । अहिले पनि बाहिर उस्तै झरी बर्सिरहेछ । तिमीलाई सम्झदैँ गर्दा पत्तै नपाई आँखाबाट पनि बगिसकेका रैछन् साउने भेल ।

घडीले रातको साढे बाह्र बजाइसकेछ । बत्ती निभाउँछु । फेरि बिच्छौनामा पल्टिन्छु । तिम्रै तस्बिर छातीमा टाँस्दै, आँखा चिम्लिदै नजरभरि तिमीलाई ल्याउँदै भन्छु, ‘सधैँ, साथमा रहेर जीवनभर हसाउँछु भन्नेले नै अक्सर पलभरमै छोडी जाने रैछन् । जाँदाजाँदै मनमा पीडा, आँखामा आँशु पनि सुम्पेर जाने रैछन् । र त छोडिएको मन छोडी जानेकै यादमा दुखिरहन्छ । उसकै याद पर्खाइमा रोइरहन्छन् आँखाहरु ।

माया, तिमी बदलिन सक्यौ । अरु नै रोज्न सक्यौ । रमाउन सक्यौ । ठीकै छ । तर माया, तिमीलाई माया गर्ने यो मन बदलेर अरु नै रोजी, अरुसँगै रम्न, हाँस्न बाँच्न सक्दिन म ।

पराइ दिलमा फुल्यौ, सजिलै मलाई भुल्यौ

जति भुल्न खोजे नि तिमी यो मुटुभित्रै रह्यौ !’

चोट लागेको छ मुटुमा । दुखेको छ जीन्दगी, तिमी टाढा भएदेखि । चोखो माया गर्दागर्दै, छोडीगइहाल्यौ, मनमा कहिल्यै निको नहुने गरी घाउ लगाएर । र पनि तिमीले दिएको चोेटलाई मायाको चिनोे सम्झी बडो जतन गरी सम्हाली राख्या छु, दिलैमा ।

तिमी आकाशको जुनझैँ भयौ सकिन पाउन

तिम्रो माया, याद यो मनबाट सकिन हटाउन

माया । जहाँ छौ, जो सँग छौ। सदा खुशी रहनु है । टाढैबाट मिठो सम्झना, न्यानो, चोखो मिठो माया तिमीलाई !

अन्तिम अपडेट: चैत ६, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया