एमालेमा अध्यक्ष मात्र निर्वाचित गर्ने प्रस्ताव, विधान महाधिवेशनका लागि चार समिति गठन

 साउन २५, २०७८ सोमबार २०:१८:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेमा महाधिवेशनबाट अध्यक्ष मात्रै निर्वाचित गर्ने प्रस्ताव गरिएको छ । आज सोमवार च्यासलमा रहेकाे तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटी बैठकले दुई सय २५ सदस्यीय केन्द्रीय कमिटीको प्रस्ताव अघि सारेको छ ।  

बैैठकले महाधिवेशनबाट अध्यक्षमात्रै निर्वाचित हुने गरी विधान संशोधन प्रस्ताव तयारी पारेर पार्टीको तल्लो निकायसम्म छलफलका लागि पठाउने निर्णय गरेको हो । 

प्रस्तावित विधानमा अध्यक्ष एक, उपाध्यक्ष दुई, महासचिव एक, उपमहासचिव दुई र सचिव सात जना रहने व्यवस्था गरिएको पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । उहाँले अध्यक्षबाहेकका अन्य पदाधिकारीको चयन भने पार्टी केन्द्रीय कमिटीले गर्ने प्रस्ताव पनि संशोधनका लागि तयार पारिएको विधानमा उल्लेख गरिएको नेता ज्ञवालीले स्पष्ट पार्नुभयो । 

एक महिना पार्टीको तल्लो कमिटीले छलफल गरेपछि त्याे प्रस्तावित विधान आउँदाे भदौ २७ र २८ गते हुने एमालेको विधान महाधिवेशनले पारित गर्नेछ । प्रवक्ता ज्ञवालीले विधान महाधिवेशन गर्ने स्थायी कमिटीकाे प्रस्तावलाई पनि अनुमोदन गरेको जानकारी दिनुभयो ।

प्रस्तावित विधान मस्यौदामा महाधिवेशन प्रतिनिधि परिषद्को व्यवस्था गरिएको छ भने केन्द्रीय कमिटी, पोलिटब्युराे र सचिवालय मात्रै रहने व्यवस्था पनि गरिएको छ । स्थायी कमिटी भने विधानबाट हटाउने प्रस्ताव गरिएको प्रवक्ता ज्ञवालीले बताउनुभयो ।

प्रस्तावित विधानमा पाँच वर्षमा पार्टीको राष्ट्रिय महाधिवेशन गर्ने, प्रदेश अधिवेशन चार वर्षमा, तीन वर्षमा जिल्ला अधिवेशन र अन्य कमिटीहरूको अधिवेशन दुई/दुई वर्षमा गर्ने पनि प्रस्ताव गरिएको एमालेले जनाएको छ । बैठकले भदौ २७ र २८ गते विधान महाधिवेशन गर्ने भनी तयार पारेको प्रस्तावलाई पनि अनुमोदन गरेको छ ।

प्रवक्ता ज्ञवालीका अनुसार महाधिवेशनका लागि अध्यक्ष केपी शर्मा ओली नेतृत्वको राजनीतिक प्रस्ताव मस्यौदा समिति, महासचिव ईश्वर पोखरेल नेतृत्वको सङ्गठनात्मक प्रस्ताव मस्यौदा समिति, सङ्गठन विभाग प्रमुख विष्णु पौडेल नेतृत्वको विधान संशोधन मस्यौदा समिति र नेता रामबहादुर थापा नेतृत्वको महाधिवेशन व्यवस्था समिति बनाउने स्थायी कमिटीकाे निर्णयलाई पनि अनुमोदन गरेको छ ।

एमालेले पार्टीको राष्ट्रिय महाधिवेशनबाट पार्टीको नेतृत्व र विधान अधिवेशनबाट नेतृत्व चयन गर्ने निर्णय यसअघि नै गरिसकेको छ । 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया