सञ्चालनमा आएको ३० वर्षपछि दाङ–प्युठान जोड्ने सडक कालोपत्र, ‘एक महिनामै उप्किन थाल्यो पिच’

 भदौ ३, २०७८ बिहिबार १३:४५:४९ | हेमराज शर्मा
unn.prixa.net

दाङ ‍- दाङ र प्यूठान जिल्लालाई जोड्ने पहिलो सडक घोराही—देविस्थान सडक सञ्चालनमा आएको ३० वर्षपछि कालाेपत्र भएको छ । करिब ५२ करोड रुपैयाँको लागतमा तीन वर्ष अघि सुरु भएको यस सडकको दाङ खण्डको काम अन्तिम चरणमा पुगेको छ । 

दुई जिल्लासँगै पहाडलाई तराईसँग जोड्ने सडकको स्तरोन्नति भएसँगै स्थानीय खुशी भएका छन् । तर त्यही सडककोे घोराही—तापा खण्ड कालाेपत्र भएको एक महिना पनि नपुग्दै भत्किएकाे छ । 

दाङको सदरमुकाम घोराही हुँदै माथिल्लो बाटो लोहारपानी मुकृट्टीबाट प्युठानको देविस्थान पुग्ने यो सडक दुवै जिल्लाका स्थानीयकाे सहयाेगमा खनिएकाे पुरानो सडक हो । यो दाङ-प्युठान जोड्ने सबैभन्दा छोटो सडक पनि हो ।

पहाडी भेग हुँदै जानुपर्ने यो सडकलाई फराकिलो बनाउँदै घोराहीबाट मुर्कुट्टीसम्म कालाेपत्रेे गर्ने काम भइरहेको छ । तर यही सडकको घोराही-तापा खण्ड ३१ करोड खर्च गरेर गरिएको कालाेपत्र एक महिना नपुग्दै बिग्रिएको छ ।

कालाेपत्रेे गरिएको सडकमा ठूलाठूला खाडल बनेका छन् भने धेरै ठाउँमा कालाेपत्र नै देखिँदैन । कालाेपत्र सडक भत्किएपछि वर्षौंपछि राम्रो सडकमा हिँड्न पाउने आशामा रहेका स्थानीय निराश भएका छन ।

घोराही उपमहानगरपालिका–१ हर्नोककी छवि महरा भन्नुहुन्छ,–‘सडक बन्न लाग्यो भनेर खुशी थियाैँ । तर बनेर नसकिँदै सडक भत्कियाे । कालाेपत्र पनि उप्किएकाे छ।'

उहाँ मात्रै होइन सडक कालाेपत्र बन्दै गर्दा खुशी भएका जुम्लेपानी, कमिरेचौर, तापा, बचेनी, झेल्नेटासँगै मुर्कुट्टी लगायतका स्थानीयवासी दु:खी भएका छन् । 

ओभरलोडेड टिपरकै कारण सडक छियाछिया भएको स्थानीयहरुको गुनासो छ । बङ्गलाचुली गाउँपालिका-५ लोहारपानीका शालिकराम वलीले भन्नुभयो,'कराेडाैँ लगानी गरेर कालाेपत्र गर्याे । टिपरकाे कारण उप्किहाल्छ ।'

घोराहीको सिस्नेखोलादेखि तापाचोकसम्म करिब १८ किलो मिटर सडक कालोपत्र गरिएको छ । सिमेन्ट उद्योगका लागि चुनढुङ्गा लिन जाने आउने टिपरहरुले ओभरलोड बोक्ने र एकै पटक धेरै टिपरहरु चल्दा सडक बिग्रिएको निर्माण कम्पनी लुम्बिनी जलजला जेबीकाे आरोप  छ  । 

कम्पनीका आधिकारिक प्रतिनिधि कुलबहादुर वली सडकको क्षमताभन्दा बढी टिपरहरुले चुनढुङ्गा बोकेकै कारण एक महिनामै  सडक बिग्रिएको बताउनुहुन्छ । 'सरकारले हामीलाई दिएको याेजना अनुसारको काम हामीले गरेका छौँ'—वलीले थप्नुभयो — 'दिनमा सात सय टिपर ओहोरदोहाेर गर्छन्, कसरी सडक टिक्छ ?'

मर्मतको जिम्मा आफूहरुको भएकाले वर्षात् सकिनासाथ मर्मतको काम पनि गर्ने उहाँले बताउनुभयो।

ओरालो, घुम्ती र पानी जम्ने ठाउँहरुमा कालाेपत्र उप्किएर भुइँ तहको माटो बाहिर आएको छ । टिपर चालकहरु निर्माण कम्पनीले गुणस्तरहीन काम गरेकाले कालाेपत्र सडक बिग्रिएको आरोप लगाउँछन्। यस सडक खण्डमा टिपर चलाउँदै आउनु भएका टिपर चालक डिल्लीबहादुर साहुले आफूहरुले क्षमता अनुसारको ढुवानी गरे पनि सडक नै कमजाेर बनेकाे बताउनु हुन्छ । 

निर्माणाधीन अवस्थामै कालाेपत्र उम्किएपछि स्थानीयबासीले सुनुवाइका लागि गाउँपालिकादेखि प्रशासनलाई समेत गुहारेका छन् । स्थानीयहरुको अगुवाइ गर्दै आइरहेको स्टार बङ्गलाचुली युवा क्लबका अध्यक्ष सुशील परियारले आफूहरुको आवाजलाई कसैले सुनुवाइ नगरेको गुनासो गर्नुभयाे। 

सडक फराकिलो बनाउनका लागि काटिएको भित्ताबाट पहिरो जान सुरु गरेपछि सडक अवरुद्ध हुने क्रम पनि बढेको छ । पहिरो गइहाले तत्काल हटाउनका लागि डाेजर तयारी अवस्थामा राख्ने व्यवस्था गरिएको छ । 

अन्तिम अपडेट: बैशाख १, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया