पहिरोले ४ घर बगायो, ५ घर उच्च जोखिममा

 भदौ ५, २०७८ शनिबार १९:६:६ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा – शुक्रबार राति आएको वर्षाका कारण रोल्पाको सुनछहरी गाउँपालिका–१ बाछेममा पहिरोले चार वटा घर बगाएको छ ।

फुलिबनमा पहिरोको उच्च जोखिम भएपछि गएको वर्ष बाछेममा सारिएको नयाँ बस्तीमा पनि पहिरो गएको हो । पहिरोले रणबहादुर घर्ती, टेकमाला घर्ती, गजमा घर्ती र मनपुरा घर्तीको घर बगाएको इलाका प्रहरी कार्यालय पोबाङका इञ्चार्ज सूर्यलाल गुरुङले जानकारी दिनुभयो । यस्तै अन्य पाँच वटा घरमा पनि आंशिक रुपमा क्षति पुग्नुका साथै उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ । दिलबहादुर घर्ती, चिमा घर्ती, धनमाला घर्ती, बिजयी घर्ती र दलबहादुर घर्तीको घर उच्च जोखिममा रहेको छ ।

पहिरोले नयाँ बस्ती उच्च जोखिमा रहेकाले रातको समयमा सबै सुरक्षित ठाउँमा थिए । त्यसैले मानवीय क्षति हुन नपाएको सुनछहरी गाउँपालिका–१ का वडाध्यक्ष महावीर रानाले बताउनुभयो ।

प्रदेश सरकारको १५ करोड रुपैयाँ लगानीमा फुलिवनबाट ४० घर परिवारलाई बाछेमको नयाँ बस्तीमा सारिएको थियो । नयाँ बस्ती पनि पहिरोले बगाएपछि प्रदेश सरकारको लगानी बालुवामा पानी भएको छ । गाउँपालिकाको अन्य ठाउँमा पनि पहिरोको जोखिम भएकाले त्यस ठाउँमा नयाँ बस्ती राखिएको गाउँपालिका अध्यक्ष आशबहादुर पुनको भनाइ छ । भूगर्भविद् र स्थानीयको सुझावलाई नमानेर त्यस ठाउँमा बस्ती बसाल्दा अहिले यो अवस्था आएको स्थानीयको गुनासो छ । 

यस्तै पहिरोले सडक बगाउँदा सुलिचौर–थबाङ सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।
 

अन्तिम अपडेट: चैत ३०, २०८०

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया