भ्यागुताको पूजा गरी भोजन खुवाउँदै नेवार समुदायमा ‘गुन्हुपुन्ही’ मनाइँदै

 भदौ ६, २०७८ आइतबार १५:५८:१७ | रासस
unn.prixa.net

भक्तपुर – श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज पहाडी समुदायले रक्षाबन्धन, जनै पूर्णिमा तथा ऋषितर्पणी, मधेशी समुदायले राखी पर्व र नेवार समुदायले गुन्हुपुन्ही पर्व धुमधामले हर्षोल्लासका साथ मनाउँदैछन् । 

नेपाल संवतमा गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्मको एक महिना गुँला अर्थात् नवौँ महिना हो । गुँलामा पर्ने भएकाले नेवारीमा यसको नाम ‘गुन्हुपुन्ही’ रहन गएको इतिहासविद्को भनाइ छ । गुन्हुपुन्हीकै अवसरमा नेवार समुदायले कम्तीमा विभिन्न प्रकारका नौ थरी गेडागुडीको मिश्रण क्वाँटी खाने प्रचलन छ ।

यही प्रचलन नेवार समुदायबाट विस्तार भएर अन्य समुदायमा पनि क्वाँटी खाने प्रचलन चलेको बताइएको छ । क्वाँटी विशेषगरी मास, मुगी, केराउ, बोडी, चना, राजमा, सिमी, भटमास, मकै, बकुल्लालगायत कम्तीमा नौ थरी गेडागुडीको मिश्रणबाट बनेको हुन्छ । रोपाइँ र धानखेत गोडमेलको बेला तथा वर्षायाम भएकाले तातो पोषणयुक्त आहारले शरीरलाई ताजगी बनाउने भएकाले पनि नेवार समुदायमा आहार विज्ञानअनुसार जनै पूर्णिमामा क्वाँटी खाने प्रचलन रहेको संस्कृतिविद् प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिनुभयो ।

खाद्यान्न विज्ञान र प्रकृतिको अनुपम मिलन नेवारी संस्कृतिमा रहेको छ । नेवार समुदाय मौसमअनुसारको चाडपर्व मनाउने र त्यहीअनुसारका खानेकुरा खाने गर्दछन् यसको एउटा उदाहरण श्रावण शुक्ल पूर्णिमामा क्वाँटी खाने प्रचलन हो, उहाँले भन्नुभयो ।   

गुन्हुपुन्हीकै अवसरमा नेवार समुदायले पनि खस, आर्य समुदायले जस्तै रक्षासूत्र डोरो बाँध्ने प्रचलन रहेको छ । नेवार समुदायले भने पञ्चतत्त्वसहितको डोरो बाँध्ने प्रचलन छ । यसले भूत, प्रेत, पिशाच र मृत्युको भयबाट जोगाउने विश्वास गरिन्छ । विषेशतः क्षेत्री, बाहुनले लगाउने डोरो र नेवार समुदायले लगाउने डोरो रक्षा गर्नकै निम्ति भए पनि नेवार समुदायमा तान्त्रिक विधिले डोरो तयार गर्ने र वैदिक विधिले बाँध्ने चलन रहेको संस्कृतिविद् ओम धौभडेलले बताउनुभयो ।  

भ्यागुताको पूजा गरी भोजन खुवाउँदै  

गुन्हुपुन्हीका अवसरमा आज नेवार समुदायले वर्षा गराउन मद्दत गर्ने जीव भ्यागुताको पूजा गरी भात र क्वाँती खुवाउँदैछन् । किसानकाे मुख्य बाली धान लगाउने बेला पानी पार्न मद्दत पुर्‍याउने जीवका रूपमा भ्यागुतालाई लिने गरिन्छ । किसान प्राकृतिक देवताका रूपमा भ्यागुतालाई विभिन्न परिकारका भोजन खुवाएर पुज्ने गर्दछन् । 

वर्षा गराउने दूत तथा खेतबारीको शत्रु किरा मारेर अन्न उब्जाउन सहयोग गर्ने प्राकृतिक देवताका रूपमा सिमीको पातमा चामल, रोटी, क्वाँटी, मुलाको ऐना र विशेष प्रकारको सुपारीलगायतका खाद्य परिकार राखेर खेत–खेतमा गइ किसानले भ्यागुतालाई पूजा गर्ने तथा भोजन गराउने परम्परा रहेको प्रा. डा. श्रेष्ठ बताउनुहुन्छ । यसलाई स्थानीय भाषामा ‘व्याँचा जाः नक वानेगु’ भनिन्छ ।

मानिसको महान् गुरुमध्ये भ्यागुता पनि एक हो । यसैले आजको दिन गुरुलाई पुज्ने अवसरका रूपमा लिइ नेवार समुदायले भ्यागुता पूजा गरी धानबारीसम्म गइ खाना खुवाउने प्रचलन बसेको हो, उहाँले भन्नुभयो । रोपाइँका समयमा किसानले आ–आफ्नो खेत खन्दा मरेका किरा, फट्याङ्ग्रा र भ्यागुतालाई मारेको दोष निवारण गर्न र पापमोचन गर्नका लागि पनि आजका दिन भ्यागुतालाई पूजा र भोजन गराउने प्रचलन रहेको उहाँको भनाइ छ । 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया