डिजिटल गाईजात्रा : मनोज गजुरेलको थरीथरी अवतार !

 भदौ ७, २०७८ सोमबार ९:११:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : मनाेज गजुरेलकाे फेसबुक

काठमाण्डाै - कोरोना भाइरसका कारण यस वर्ष पनि कलाकारहरुले डिजिटल गाईजात्रा प्रस्तुत गरेका छन् । टेलिभिजन, युट्युब, फेसबुक लगायतका माध्यमबाट कलाकारहरुले थरीथरीका प्रहसन पस्केका छन् । 

विभिन्न व्यक्तिको क्यारिकेचर गर्न खप्पिस मनोज गजुरेलको समूहले ‘०७८ सालको गाईजात्रा’ प्रदर्शन गरिरहेको छ । भदौ १ गतेदेखि ७ गतेसम्म टेलिभिजनबाट प्रत्यक्ष प्रसारण भइरहेको यो कार्यक्रम 'गजुरियल युट्युब' च्यानलमा समेत हेर्न सकिन्छ ।

यसपटक मनोज गजुरेल बेलायती प्रधानमन्त्री बोरिस जोन्सन, रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन, प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वशिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको भूमिकामा देखिनुभएको छ ।

गजुरेलको समूहमा शैलेन्द्र सिंखडा, किरण केसी, शिवशंकर रिजाल ‘जोगिन्दर’, रवि डङ्गोल, पशुपति शर्मा, चट्याङ मास्टर, लक्ष्मण गाम्नागे, सुबाेध गौतम, राजा राजेन्द्र पोखरेल, सुमन कार्की, हिमेश पन्त लगायतका कलाकारले चोटिलो व्यङ्ग्य प्रहार गरेका छन् । 

अरु धेरै कलाकारहरुले पनि युट्युब र फेसबुकमार्फत गाईजात्रे प्रहसन र प्यारोडी ल्याएका छन् । हास्य कलाकार शिवशंकर रिजालले ‘बकम्फुसाय नमः’ नामक गाईजात्रे कोसेली ल्याउनुभएको छ । यसमा दमन रुपाखेती, शशी विक्रम थापा, घनश्याम गौतम, सुरेश तिमल्सिना, सबु लामिछाने, बेदमणि अधिकारी, प्रेम शर्मा पौडेल, श्रेया दुलाल, शिवराम कार्की, धिरेन्द्र सिंह, गायिका राधिका हमाल लगायतको प्रस्तुति छ ।

यस्तै कलाकार दमन रुपाखेती र उत्सव केसीले ‘छताछुल्ल’ नामक प्रस्तुति ल्याएका छन् । यसमा सुभाष गजुरेल, कमलकान्त मैनाली, लक्ष्मण बिक्रम बस्नेत, सङ्गम भण्डारी, घनश्याम गौतम, लक्ष्मीनाथ तिमिल्सिना, सुरेश तिमिल्सिना, शोभा भण्डारी, दीपक सापकोटा, मनिता डङ्गोल, सन्देश राउत, आयुस्मा पाण्डे, उत्सव केसी लगायतको प्रस्तुति छ ।

कलाकार कमल ‘गाउँलेले राजनीतिक र सामाजिक क्षेत्रका विकृति विसङ्गतिलाई व्यङ्ग्य गर्दै ‘बाइ लब यु केपी बा’ नामक गाईजात्रे कोसेली ल्याउनुभएको छ । 

कलाकार आशिष शाह ठकुरीले ‘बालकोटको बार्दली’ नामक गाईजात्रे प्रस्तुति ल्याउनु भएको छ । 

यस्तै कलाकार गोेपाल तिमल्सिनाले ‘खै के खै के’ नामक गाईजात्रा कोसेली ल्याउनुभएको छ । विशाल कार्की, राजकुमार श्रेष्ठ, राम तिमल्सिनाको अभिनय रहेको यो प्रस्तुतिमा पनि समसामयिक राजनीतिलाई व्यङ्ग्य गरिएको छ ।

यस्तै सन्तोष खनाल र सुयसा खनालले 'डाक्टरसँग प्रधानमन्त्री' नामक प्रस्तुति ल्याएका छन् ।

राजनीतिक र सामाजिक क्षेत्रका विकृति विसङ्गतिलाई व्यङ्ग्य गरिने गाईजात्रा हास्यव्यङ्ग्य कलाकारहरुका लागि दशैँजस्तै हो । तर कोरोनाका कारण धीत मर्ने गरि प्रस्तुति दिन नसकिएको कलाकारहरुको गुनासो छ ।

‘डिजिटल माध्यमबाट त गरिरहेका छौँ तर स्टेजमा दर्शकको अघिल्तिर प्रहसन गरेजस्तो हुँदैन’ कलाकार मनोज गजुरेलले भन्नुभयो ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया