दाङमा जनावरलाई पानी खान जङ्गलमा पोखरी

 भदौ ७, २०७८ सोमबार ११:४४:३५ | हेमराज शर्मा
unn.prixa.net

दाङ – वन्यजन्तुलाई जङ्गलभित्रै खानेपानीको व्यवस्थापन गर्न दाङको देउखुरीको जङ्गलमा पोखरी खनिएको छ । देउखुरीको लमही बजारदेखि १ किलोमिटर पूर्व राजमार्गदेखि ५ सय मिटरभित्र जङ्गलमा ठूल्ठूला पोखरी खनिएको छ । 

वन्यजन्तुलाई जङ्गलभित्रै खानेपानीको व्यवस्थापन गर्न पोखरी तयार पारिएको हो । पानी खानको लागि राजमार्ग पार गरेर खोला तथा बस्तीमा पस्ने जङ्गली जनावरलाई अब जङ्गलभित्रै आकाशे पानीलाई सञ्चित गर्ने उद्देश्यले पोखरी निर्माण गरिएको डिभिजन वन कार्यालय देउखुरीले जनाएको छ ।

देउखुरीका विभिन्न ठाउँमा गरि आधा दर्जनभन्दा धेरै ठाउँमा जङ्गलभित्रै संरक्षण पोखरी निर्माण गरेर जनावरलाई पानी व्यवस्थापन गरिदिएको छ । लमही नगरपालिका वडा – ५ मा रहेकाे पारिजात महिला सामुदायिक वन उपभोक्ता समूहभित्र संरक्षण पोखरी निर्माण गरिएको छ । वन क्षेत्रभित्रको खाली जमिनलाई पोखरीको आकार दिएपछि आकाशे पानी जम्मा भएको छ ।

डिभिजन वन कार्यालयल देउखुरीले लमही नगरपालिका, राजपुर गाउँपालिका, गढवा गाउँपालिका र राप्ती गाउँपालिका भित्रका विभिन्न सामुदायिक वन उपभोक्ता समूहमा आधा दर्जन बढी संरक्षण पोखरी निर्माण गरेको छ । यसरी पोखरी निर्माण गर्दा वन्यजन्तुलाई पानी उपलब्ध भएको छ भने जमिनमुनिको पानी संरक्षणमा सहयोग पुगेको रेञ्जर हरि पौडेलले जानकारी दिनुभयो ।

जङ्गली जनावरहरू पानीको खोजीमा खोला तथा तलाउ खोज्दै राजमार्ग हुँदै गाउँबस्तीमा पुग्ने भएका कारण राजमार्गमा गाडीको ठक्करबाट मर्ने तथा घाइते हुने अवस्थामा र गाउँबस्तीमा जङ्गली जनावरको भय हुने अवस्था देखिँदै आएको थियो । पोखरी निर्माण भएसँगै जङ्गली जनावरको सुरक्षा र मानव बस्तीमा जङ्गली जनावरको त्रास कम गर्न यी पोखरीहरू उपयोगी हुने देखिने वन कार्यालयको भनाइ छ । 

डिभिजन वन कार्यालय देउखुरीले आर्थिक वर्ष २०७७/७८ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार यहाँ पोखरी निर्माण गरेको हो । 

अन्तिम अपडेट: चैत २४, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया