दाङमा छोट्याएर मनाइयो गाईजात्रा

 भदौ ७, २०७८ सोमबार १५:४:१४ | हेमराज शर्मा
unn.prixa.net

दाङ – कोरोना भाइरसको जोखिमलाई ख्याल गर्दै नेवार समुदायले परम्परागत रूपमा मनाउँदै आएका गाईजात्रा दाङमा यसपालि स्वास्थ्य सुरक्षाकाबीच छोट्याएर मनाइएको छ । घोराही उपमहानगरपालिका वडा १५ काठेकोहलमा रहेको  भीमसेन मन्दिरमा नाचगान गरेर गाईजात्रा मनाइएको हो । 

वर्षभरि नेवार समुदायमा दिवङ्गत भएकाहरूको घर–घरबाट मृत आत्माको चिर शान्तिको कामना गर्दै सम्झना स्वरूप गाईजात्रा निकाल्ने प्रचलन रहेको छ ।

राजा प्रताप मल्लले आफ्नो छोराको मृत्युपछि भाव विह्वल भएकि रानीलाई मनाउन यस प्रकारको जात्रा निकाल्ने प्रचलन सुरु गरेको किंवदन्ती छ । त्यस बेलादेखि निरन्तर दाङमा गाईजात्रा निकाल्ने परम्परा रहेको जात्रा संयोजक विमलमान श्रेष्ठको भनाइ छ  ।

यस दिन डोको र बाँसबाट मानव आकृति निर्माण गरी मादल, बाँसुरी र मुजुराको तालमा नाच्दै बजार परिक्रमा गर्ने चलन छ ।

बाजा र डोके सँगै लठ्ठी ठटाउँदै फेटा, धोती र छड्के लगाएर सिँगारिएका युवाहरू नाच्ने गर्छन, यसलाई बैरागी भनिन्छ । गाईजात्रामा नाचिने यस नाचलाई बैरागी नाच वा डोके नाच पनि भन्ने गरिन्छ । यो पर्व ठाउँअनुसार फरक–फरक ढङ्गले मनाउने गरिएको छ ।

जिल्ला सदरमुकाम घोराहीमा निकालिने गाईजात्रा हेर्न गाँउ–गाउँबाट ठूलो सङ्ख्यामा मानिस आउने गरेका छन् ।

पछिल्लो समय युवा पुस्ता अध्ययन र कामको सिलसिलामा जिल्लाबाहिर जाने भएकाले पनि चासो नदिँदा कतै नेवारी संस्कृति र परम्परा लोप हुने आशङ्का पनि उब्जाएको वृद्धहरू बताउँछन् । 

दाङको घोराही क्षेत्रमा मात्र यस वर्ष १७ घरबाट गाईजात्रा निकालिएकाे छ । काेराेना सङ्क्रमणका कारण गएकाे वर्षदेखि गाईजात्रा भीमसेन मन्दिर परिसरमा सीमित राख्ने निर्णय गरिएको नेवार सेवा समिति दाङका अध्यक्ष सुदर्शन श्रेष्ठले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया