अस्ताए आमा, दिदीबहिनीका गीत गाउने टुहुरे

 भदौ १०, २०७८ बिहिबार १७:५:४२ | रासस
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

‘आमा दिदीबहिनी हो कति बस्छौ दासी भई सुखको सधैँ प्यासी बनेर’

काठमाण्डौ – नेपाली समाजलाई उचनिचको व्यवहारबाट दोस्रो दर्जामा पारिएका महिलालाई विद्रोहको झण्डा बोक्न प्रेरित गर्ने वरिष्ठ जनगायक जेबी टुहुरेको निधनबाट नेपालको साङ्गीतिक क्षेत्रमा अपूरणीय क्षति भएको छ ।

खास नाम जुठबहादुर खड्गी भए पनि नेपालीले उहाँलाई जेबी टुहुरे भनेर नै चिने । जनताको गीत गाउने गायकको खास परिचय बनाउनुभएका उहाँको उपचारको क्रममा आज निधन भएको हो । केही दिन पहिले आफ्नै घरमा लड्नुभएका टुहुरेको बल्खुमा रहेकाे वयाेधा अस्पतालमा ७८ वर्षकाे उमेरमा निधन भएको हो ।

उपचारमा संलग्न चिकित्सकले उहाँलाई स्ट्रोक भएको बताउनुभएको थियो । उहाँलाई सीसीयूमा राखेर उपचार गराइएको थियो । विसं २०२४ देखि निरन्तर जनताको गीत गाउँदै आउनुभएका टुहरेको धेरैजसाे गीत लोकप्रिय छन् । टुहुरेको ‘बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुँदो छ, लाखौँका लागि उजाड छ यो देश मुठ्ठीभरिलाई त स्वर्ग छ’ भन्ने गीत पनि उत्तिकै चर्चित छ ।

विसं २०२८ देखि सुरु भएको झापा विद्रोह र त्यसपछि सिर्जना भएको राजनीतिक अवस्थाले धेरैजसो नेता, कार्यकर्ता विस्थापित भए । टुहुरे भने त्यतै गाउँगाउँमा गीत गाउँदै लुकीलुकी हिँड्नुभयो । उहाँ त्यति बेला कोशी प्रान्तीय परिषदमा सङ्गठित हुनुहुन्थ्यो । पञ्चायतकालमा आफ्ना अधिकारको कुरा गर्नु नै अपराधजस्तो ठानिन्थ्यो । त्यसै बेला गीत गाएर मानिसको अधिकारको कुरा गर्नु कति जोखिमपूर्ण थियो होला ? उहाँले सुनाउनुभएको थियो । धरानको सैनिक भवनमा विसं २०३३ मा पहिलो पटक ‘आमा दिदीबहिनी हो’ भन्ने गीत गाएको उहाँले सुनाउनुभएको थियो । त्यसपछि यो गीत कति पटक गाएँ भन्ने आफैँलाई हेक्का नभएकाे उहाँले बताउनुभएकाे थियाे । 

सुनसरीको धरानका स्थायी बासिन्दा रहनुभएका टुहरेलाई नेकपा माओवादी केन्द्रले दोस्रो संविधान सभामा समानुपातिक प्रणालीअन्तर्गत संविधान सभा सदस्य बनाएको थियो । संविधान सभामा पनि उहाँले आफ्नै लोकशैलीमा धारणा राख्ने गर्नुहुन्थ्यो ।

उहाँको पार्थीव शरीरलाई आज साढे २ बजेसम्म पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखेर त्यसपछि पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कारको तयारी गरिएको छ । झन्डै आधा शताब्दीभन्दा बढी नेपाली जनवादी गीत–सङ्गीगतमार्फत जनताको बीचमा मुक्ति, स्वतन्त्रता र परिवर्तनको शङ्खनाद गर्ने वरिष्ठ जनगायक टुहुरेको निधनप्रति सामाजिक सञ्जालमा दुःख व्यक्त गरिएको छ ।

टुहुरे नेपाली वाम–लोकतान्त्रिक आन्दोलनका एक अथक, पुराना र अत्यन्तै निष्ठावान् व्यक्तित्व हुनुहुन्थ्यो । विसं २००१ कात्तिक १५ गते पूर्वी नेपालको धरानमा जन्मनुभएका टुहुरेले विसं २०२४ देखि जनताको गीत गाउन थाल्नुभएको थियो । विसं २०२५ बाट पूर्व कोशी प्रान्तीय कमिटीमार्फत कम्युनिस्ट पार्टीको सदस्यता लिनुभएका टुहुरेले आफ्नो सिङ्गो जीवन कम्युनिस्ट आन्दोलनमा बिताउनुभयो । टुहुरेले गीत–सङ्गीतका माध्यमबाट तत्कालीन पञ्चायती कालरात्रिका विरुद्ध जनतालाई जागृत र पछिल्लो लोकतान्त्रिक गणतन्त्र प्राप्तिको आन्दोलनमा समेत अग्रभागमा रही उल्लेखनीय योगदान पुर्‍याउनुभएकाे थियो ।

टुहुरे विसं २०५२ देखि २०५९ सम्म राष्ट्रिय जनसांस्कृतिक मञ्चको अध्यक्ष, सांस्कृतिक संस्थानको अध्यक्ष हुँदै २०७० मा  तत्कालीन माओवादीबाट संविधान सभाको सदस्य बन्नुभएको थियोे । त्यस बेला उहाँले व्यवस्थापिका संसद्को श्रम तथा अन्तर्राष्ट्रिय समितिको सभापतिको जिम्मेवारीसमेत निर्वाह गर्नुभएको थियोे । त्यसयता टुहुरे लगातार नेकपा माओवादी केन्द्रको  केन्द्रीय सल्लाहकारको जिम्मेवारीमा हुनुहुन्थ्यो । टुहुरेका श्रीमती, एक छोरा र चार छोरी हुनुहुन्छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया