म्याग्दीको कालीपुलमा पहिरो खस्दा तीन जना घाइते

 भदौ १४, २०७८ सोमबार १२:४१:४७ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी - पहिरो खस्दा म्याग्दीको सदरमुकाम बेनीबजारमा रहेको कालीपुलमा तीन जना घाइते भएका छन् । घाइते हुनेमा कालीपुलका गोविन्दबहादुर बुढा, रेखा नेपाल र सन्तु पुर्जा रहेका जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

म्याग्दीसँग सीमा जोडिएको पर्वतको जलजला गाउँपालिका-३ कालीपुल क्षेत्रबाट गएराति खसेको पहिरोले कालीगण्डकी नदीलाई थुन्दा बाढी बस्तीतर्फ पसेको थियो ।

बाढीले कालीपुलका ६ वटा घरमा क्षति पुगेको छ । बाढीका कारण विस्थापित परिवारलाई अहिले कालीपुलमा रहेको कभर्डहलमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक इन्स्पेक्टर वीरेन्द्रराज गुरुङले जानकारी दिनुभयो । 

सडकभन्दा माथिबाट ठूलो ढिस्कोसहितको पहिरो कालीगण्डकी नदीमा खसेकाे प्रहरी निरीक्षक गुरुङले जानकारी दिनुभयो । वर्षाकै कारण हिमाली जिल्ला म्याग्दी र हिमालपारिको जिल्ला मुस्ताङलाई जोड्ने राष्ट्रिय राजमार्गसहित जिल्लाका ग्रामीण सडकहरु बन्द भएका छन् । 

बेनी–जोमसोम सडक खण्डको राहुघाट, गुइँठे, रुप्सेखोला र काभ्रेभीरमा पहिरो खसेर सडक बन्द भएकाे प्रहरीले जनाएको छ । 

यस्तै पश्चिम म्याग्दी हुँदै जलजला–ढोरपाटन भएर रुकुम जोड्ने बेनी–दरबाङ सडकअन्तर्गत घुमाउने भीर तथा बाङ्गे पहिरो भन्ने ठाउँमा पहिरो खसेर सडक बन्द भएकाे छ । यस्तै, बेनी–बाग्लुङ खण्डको पनि भसभसे र रानीवनमा पहिरोले सडक बन्द भएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया