ओलीकै गलत प्रवृत्तिका कारण पार्टीमा रहिरहन सकिनँ : वामदेव गाैतम

 भदौ १८, २०७८ शुक्रबार २०:३५:४० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीको सबै जिम्मेवारीबाट राजीनामा दिनुभएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरिएको राजीनामा पत्र उपाध्यक्ष गौतमले आज शुक्रवार पार्टी केन्द्रीय कार्यालय थापाथलीमा दर्ता गराउनुभएको छ ।

राजीनामा पत्रमा उहाँले संविधान जारी भएपछि भएको पहिलो प्रतिनिधि सभाको चुनाव २०७४ मा एमाले र नेकपा माओवादी केन्द्रको साझा घोषणा पत्रलाई कार्यान्वयन नगरेको तथा सरकारको कामलाई पटक–पटक सर्वोच्च अदालतको संवैधानिक इजलासले असंवैधानिक भन्दै खारेज गरेपछि पनि सुधार गर्न नसकेको आरोप लगाउनुभएको छ । 

अध्यक्ष ओलीलाई सम्बोधन गरिएको पत्रमा भनिएको छ, ‘म आफैँ संलग्न भएर निर्माण भएको नेकपा एमालेमा तपाईँकै गलत विचार, प्रवृत्ति र शैलीका कारण यस पार्टीमा रहिरहन असमर्थ भएकाले आजको मितिबाट पार्टीको उपाध्यक्ष पद र पार्टीको सबै जिम्मेवारीबाट राजीनामा दिएको छु ।’

राजीनामा पत्रमा जनताको बहुदलीय जनवाद (जबज) र जननेता मदन भण्डारीका विचार र मान्यता संविधानको सर्वोच्चता र कानुनी राज्यको सिद्धान्त पालना नभएको, कम्युनिस्ट पार्टीले जनताको जनादेशको आधारमा राज्यसत्ता सञ्चालन गर्नुपर्छ भन्ने मान्यताका विपरीत जनताको अत्यधिक बहुमतलाई लत्याउँदै २०७५ पुस ५ र २०७८ जेठ ७ गते दुई–दुई पटक संविधान विपरीत जनताद्वारा निर्वाचित सदन भङ्ग गरिएको उल्लेख छ । 

‘आफ्ना समकक्षी कमरेडलाई एकपछि अर्को गरी अपमान गर्ने, कारबाही गर्ने र पार्टीबाट निष्कासनजस्ता स्वेच्छाचारी तथा निरङ्कुश प्रवृत्ति र शैली अँगाल्नुभयो, त्यतिमात्र होइन राष्ट्रपति समेतलाई आफ्ना स्वेच्छाचारी तथा सर्वसत्तावादी नीति र निर्णय कार्यान्वयन गर्न दुरुपयोग गर्नुभयो’, राजीनामा पत्रमा उल्लेख छ ।  

यस्ताे छ पत्र–

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया