पहेँलपुर : पारसचक्की र जिन्दगीको सौदाबाजी !!

 भदौ १९, २०७८ शनिबार १३:३७:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

(असोजको पहिलो हप्ताबाट बजारमा आउन लागेको जिएस पौडेलको उपन्यास पहेँलपुरको पुस्तक अंश )

हिजोआज बिहान बेलुका शितल हुन थालेको छ । गर्मीमै तीज सकिएको थियो र अब दसैँ नजिक आउँदैछ । तर चाडपर्वको त्यो पुरानो रौनक अब कतै देखिँदैन । उसैमा आलोकलाई उत्साह र उत्सवले कुनै उमङ्ग दिँदैन । उसको चिन्ताग्रस्त जिन्दगी । 

स्टिङ्गर भएर ऊ अरुलाई पारसफूलको विषमा घोल्न चाहँदैन जसरी घोलेर गएकी थिई राधाले उसमाथि । अहँ ! ऊ पारसमणिको धन्दामा सामेल हुन चाहँदैन । तर अब ऊसँग अर्को विकल्प पनि छैन । 

एउटा पारस चक्कीको मूल्य तेइस हजार पुगिसक्यो । हप्ताको एकपटक खानुपर्ने पारस चक्कीमा मात्रै मासिक झन्डै एक लाख खर्च हुन्छ उसको । उसैमाथि हरेक वर्ष अरू बजारभाउ महँगिए जस्तै पारस चक्की पनि महँगो हुँदै गइरहेको छ । 

आखिर एकदिन घर बेचेको सबै पैसा सकिन्छ र उसलाई स्टिङ्गर हुनैपर्नेछ भने “व्हाइ नट नाओ ?” आलोकले अब जतिसक्दो चाँडो आफूसँग भएको पैसा जोगाउनतिर लाग्नु नै उचित ठानेको छ ।  

मौसममा चिसो बढिसकेको छ। कम्मरसम्म ब्ल्याङ्केट खापेर आलोक सिरानीमा अडेस लागेर पल्टिएको छ । भर्खर मनोज पटेलको म्यासेज आएको थियो । त्यही हेरिरहेको छ ऊ आफ्नो मोबाइलमा । मनोजले हालखबर सोधेको छ र आलोकको एकाङ्गीपनमा चिन्ता व्यक्त गरेको छ । 

श्याम र गाउँका अरू साथीहरूसँग जस्तै आलोक मनोजसँग पनि टाढिँदै गएको सत्य हो । मनोज आलोकको मनोचिकित्सक मात्र नभएर उसको बालसखा पनि हो । कैलाश आश्रम नजिकको नारायणी प्राविमा पाँच कक्षासम्म उनीहरूले सँगै पढेका थिए । 

मनोजका पिताले आफ्नो गाउँ पायक विद्यालयमा सरुवा मिलाएपछि मनोज परासी फर्केको थियो । छुट्टिएको केही वर्षसम्म त उनीहरूको मित्रताले वर्षे बिदामा झाङ्गिन पायो तर समय सधैँ एकनासको रहँदैन । मनोज पढाइमा अब्बल थियो । एसएलसीपछि ऊ काठमाडौँ बसेर पढ्न थाल्यो र  अहिले त ऊ काठमाडौँमै सेटल भएको छ।  

म्यासेज पढ्दापढ्दै आलोक आफैँसँग फिस्स हाँस्छ । एकाउन्न सालको धमिलो बाढीमा मनोज रोएको सम्झिन्छ । टेगोर माछाले टोकेर ज्वरो आएको थियो मनोजलाई । उप्रान्त ऊ माछा देख्यो कि डराइहाल्थ्यो । स्मृतिमा एक झिल्को चम्किएर फर्किन्छ आलोक पुनः मोबाइलकै म्यासेजतिर । 

“फेरि टोलाउन थालिस् कि के हो? हिजोआज फोन पनि गर्दैनस्। सब ठीक छ नि यार?”

मनोजले जताएको त्यो आफ्नोपनमा आलोक द्रवीभूत हुन्छ तर ऊ छाती खोलेर देखाउन सक्दैन आफूभित्रको पहेँलपुर दुनियाँ । आलोक दुःख बाँड्न चाहँदैन तर मनोजलाई याद नगरी बसिरहन पनि सक्दैन । 

कलेज लाइफ सुरु भएपछि निक्कै पातलो थियो भेटघाट, र पछि तत्यो पनि बन्द भयो। आलोक दुबई लाग्यो र एकदिन उतैबाट माल्दिभ्स गयो । धेरै वर्षपछि आलोकले नै एकदिन फोन गरेको थियो मनोजलाई । 

जब आलोकलाई थाहा लाग्यो कि ऊ आफ्नै मानसिक हमलाको शिकार भएको छ, उसले मनोचिकित्सक भएको मनोजलाई सम्झिएको थियो । परामर्शका लागि केही दिनपछि नै ऊ काठमाडौँ हानिएको थियो । राधा पनि गएकी थिई आलोकसँगै । मनोजतिर अल्झिएको उसको मन अब राधाको उल्झनमा फस्नथाल्छ । 

“मेरो पूरा नाम राधाकुमारी चालिसे हो र म हजुरको साथी नारायण चालिसेकी छोरी हुँ ।” आलोक सम्झिन्छ राधासँगको त्यो पहिलो भेट । तीन घण्टासम्म आफ्नै भ्रमलाई आफ्नो विगत सुनाएको त्यो दिन राधा आएकी थिई उसलाई भेट्न गैँडाकोटको घरमा । ज्योतिले एयरपोर्टबाट स्कुटरमा ल्याएकी थिई उसलाई। 

“अनि यो सब अघि दिउँसो कुरा गर्दा चाहिँ किन भन्नुभएन त मलाई ?”

यसरी नै प्रश्न सोधेको थियो आलोकले राधालाई । त्यो प्रश्नले आश्चर्यमा पारेको थियो राधा र ज्योति दुवैलाई। आश्चर्यमा आँखीभौँहरू खुम्च्याएका थिए उनीहरूले तर कहिलेकाहीँ सबैथोक संयोगले नै ठीक बनाउँदो रहेछ । 

जब आलोकले थाहा पायो कि केही समयअघिसम्म जसलाई ऊ आफ्नो विगत सुनाइरहेको थियो त्यो राधा नभएर उसको आफ्नै मानसिक भ्रम थियो तब ऊ अर्धमूर्छित भएको थियो तर तत्कालै ऊ आफूलाई सम्हाल्न सफल भयो । 

उनीहरूका विस्फारित नेत्रलाई उसले सजिलै सहज गरिदियो फिस्स हाँसेर । भनिदियो –  जिस्काएको नि मैले !, उसले यसरी अभिनय गरेको थियो कि ज्योति र राधाले आलोक अलमल्लमा परेको पत्तै पाउन सकेनन् । 

कहिलेकाहीँ ठूला ठूला सङ्कटहरू पनि सानातिना कुराले नै समाधान गरिदिन्छन् । आलोकको त्यो दिनको फिस्स हाँसो यस्तै एउटा उदाहरण थियो । ऊ कोल्टे फेर्छ र ब्ल्याङ्केट मिलाउँछ ।

ऊ घरि मलेखुमा नारायण चालिसेलाई देखेको कुरा सम्झन्छ, घरि राधाले रुँदै भनेका कुरा, “बाबाआमा दुवैलाई भूकम्पले लग्यो आलोक !” आलोकले राधामाथि विश्वास गर्‍याे । नगर्नुपर्ने कुनै आवश्यकता देखेन तर महिना दिन बित्दा नबित्दै राधा एकाएक गायब भई । आलोक सन्न भयो । 

त्यो धोकाले केवल आलोक मात्र पीडित भएन, आलोकको परिवार नै पिल्सियो । राधालाई बुहारी बनाएर भित्र्याएको सपना देखिसकेका थिए उसका काका-काकीले । ज्योतिले त पहिलेदेखि भाउजू नै भन्न थालिसकेकी थिई राधालाई । 

परिवारको कान्छो सदस्य किरणले पनि पक्कै दाइको बिहेमा नाच्ने सपना बुनेको थियो । सब भताभुङ्ग पारेर फरार भएकी थिई धोकेबाज । राधाले आफूलाई धोका दिएर गएको थाहा पाएको केही दिनमै आलोकले यो पनि थाहा पायो कि उसले आफूलाई पारसमणिको शिकार बनाएर गएकी थिई । 

आलोक रोयो, चिच्यायो र तड्पियो । राधाप्रति चरम आक्रोशबाट गुज्रिँदै उसका केही महिना बिते र त्यसपछि बल्ल आक्रोशमा केही कमी आएको थियो । समयले घाउहरू बिस्तारै पुर्दै लगे । आज आलोक जुन चरणबाट गुज्रिरहेको छ, उस्तै षड्यन्त्रको शिकार भएकी थिई राधा भन्ने बुझ्न उसलाई गाह्रो थिएन । 

आफू बाँच्नका लागि राधाले उसलाई फसाएकी थिई । आफूमाथि परेको बज्रपातले एउटा असीम घृणा उत्पन्न हुनु र त्यसले क्रोधित बनाउनु एक स्वाभाविक प्रकृया थियो । आज आलोकले सबैकुरा बिर्सिएर राधालाई माफ गरेपनि, ऊ घोत्लिरहेछ कि आखिर किन राधाले आफ्नै जिउँदै बाउलाई मारी ? त्यसको के आवश्यकता थियो?  ऊ फेरी कोल्टे फेर्छ र ब्ल्याङ्केट मिलाउँछ ।  

राधा फरार भएको केही दिनपछि नै ऐनामा आलोकका आँखाहरू पहेँला भएर टल्किन थालेका थिए, जन्डिस भए झैँ । उपचारको क्रममा उसलाई पारस रोग लागेको थाहा भयो । भित्रभित्रै भुस झैँ सल्किँदै गएको पारस रोगको उपचार महँगो मात्र छैन, पछिल्लो समयमा यो कानुनको निगरानीमा पनि छ, यद्यपि निगरानी मानौँ देखाउने दाँत मात्रै हो । चपाउन नसक्ने दाँत । 

पारस रोग लागेको रिपोर्ट आएपछि आलोक प्रहरीको सोधपुछमा पर्‍याे तर फगत सरकारी औपचारिकता पूरा गर्न गरिएको प्रहरीको सोधपुछले केही हुनेवाला थिएन । झन् त्यतिबेलासम्म राधा हावा झैँ अदृश्य भइसकेकी थिई । 

प्रहरीलाई बताउन आलोकसँग त्योबाहेक कुनै जानकारी थिएन। उसो त राधालाई पक्राउ गरेर पनि हुने केही थिएन । ऊ पनि यो षड्यन्त्रकारी पहेँलो खेलमा चालिएकी लाखौँ प्यादाहरूमध्येकी एक हो, आलोक जस्तै । 

यो पहेँलो खेलको मालिक कतै नेपथ्यमा बसेर डकार मारिरहेको छ, गुमनाम र भूमिगत । प्रहरी प्रशासनले कहाँ सक्छ र त्यस्ता अग्ला पर्खालभित्र चिहाएर हेर्न पनि ? सरकारी अनुदानमा किन्दा एउटा पारसचक्कीको मूल्य पैँतिस हजार थियो । मासिक डेढलाख जतिको औषधी खाएर कतिदिन बाँच्ने ? यसैक्रममा केही दिनपछि नै आलोकको भेट विक्रमसँग भयो, विक्रमकै सक्रियतामा । उसले तेइस हजारमा बेच्दो रहेछ एकचक्की पारस । 

आश्चर्य थियो कि सरकारले पचास प्रतिशत अनुदान दिँदा पनि वैधानिक रूपले किन्दा यसको मूल्य त्यतिधेरै हुनपुग्थ्यो तर उही औषधी पहेँलपुरका एजेन्टहरूबाट किन्दा त्यतिधेरै सस्तो ? आलोकले सोच्यो – यो कस्तो हिसाब हो ? 

त्यतिबेला उसले झट्ट कुरो बुझ्न सकेन तर अब उसले बिस्तारै बुझ्दै गएको छ । उसले बुझेको छ कि यो पहेँलपुरमा राजनीति मिसिएको छ । तीन दशकअघि जब यो षड्यन्त्रले काठमाडौँमा प्रवेश पायो । 

ती दिनहरूमा पारसचक्कीको मूल्य चालिस रुपैयाँमात्र थियो, मासिक डेढसय । तीन दशकमा आज यसको वैधानिक मूल्य मासिक लगभग डेढलाख पुगेको छ । कति महँगिएको छ बजार हिजोआज !! कति महँगो भएको छ जिन्दगीको सौदाबाजी !!  

बिस्तारै आलोकले थाहा पायो कि जुन मालिकले यो पहेँलो रोग रोपिरहेको छ, औषधि पनि उसैको नियन्त्रणमा छ । पहेँलपुर सङ्गठनले सरकारलाई सब्सिडीमा दिने मूल्य आफ्ना एजेन्टहरूलाई दिने मूल्यभन्दा धेरै महँगो छ । सरकारसँग पहेँलपुरको सिधा सम्बन्ध छैन । ​

पहेँलपुर सङ्गठनले नै पारस रोग फैलाइरहेछ भन्ने सरकारलाई थाहा छैन, या सायद यो तथ्य गलत हो र सही तथ्य यो हो कि थाहा नहुने गरी थाहा भएको छ । उसले बुझ्यो कि कति भयानक सिकारीको जालमा परेको छ ऊ ।  “उफ् !” आलोक फेरि कोल्टे फेर्छ र ब्ल्याङ्केट मिलाउँछ।  

निद्रा पटक्कै परेको छैन । यसपालिको कोल्टे फेराइमा आलोकको एकालापको रिल फेरिन्छ र मानसपटलभित्र फेरि राधा बेरिँदै जान्छे । 

हप्तादिनमै कति नजिक भएकी थिई राधा । आलोक पनि सहज भइसकेको थियो ऊसँग । घरमा उनीहरूको बिहेको कुरा चलिसकेकाले पनि दुवैलाई त्यो सहजता प्राप्त थियो । राधाले कलेजमा एक महिनाको छुट्टी चलिरहेको बताई । उसले ज्योति र आलोकलाई बताई कि ऊ यो एक महिना गीतानगर मामाघरमा बिताउँदै छे । 

उसले आलोकलाई भावहरूको इशाराबाट बताई कि ऊ बिहेअघि आलोकसँग केही युगल समय व्यतित गर्न चाहन्छे । गीतानगर र गैँडाकोटको दूरी कति नै टाढा भो र ? राधा र आलोकको भेट दिनहुँ नारायणी किनारमा  हुनथाल्यो । 

राधा पुलचोक आएर आलोकलाई फोन गर्थी, आलोक स्कुटर लिएर कुदिहाल्थ्यो । उनीहरू कहिले नारायणघाटतर्फको दक्षिणी किनारा त कहिले गैँडाकोटतिरको उत्तरी किनारामा भेट्थे । दोस्रो भेटमा राधा आफ्ना बुवाआमाको सम्झनामा पोखिएकी थिई । बहत्तर सालको भूकम्पले लगेको थियो उसका बुवा र आमालाई । 

“अघिल्लो महिना मात्रै बाबा माल्दिभ्सबाट फर्कनुभएको थियो । त्यहाँ रहँदा माज्दासँगको सम्बन्धले बाबा र मम्मीको सम्बन्धमा घाउ बनाएको थियो । बाबाको ठाउँमा मम्मीको त्यस्तो घटना भएको भए बाबाले सायद डिभोर्स गरिसक्नुहुन्थ्यो तर मम्मीले त्यसो गर्नुभएन । त्यो मम्मीको भूल थियो या नारी हृदयको सहनशीलता, मैले बुझिनँ आलोक ! 

घर फर्किएपछि बाबाको आँखामा दिनहुँ पश्चात्तापबोध देखिन थाल्यो र त्यसले बाबालाई माफीको हकदार बनायो सायद । सुस्तरी हामीले त्यो असहजतालाई सहजतामा बदल्दै लग्यौँ । बाबा फर्किएको त्यस्तै एक डेढ महिनापछि, मैले बाबामम्मीलाई काठमाडौँ बोलाएँ तर त्यो मैले होइन मेरो दुर्भाग्यले बोलाएको रहेछ । भूकम्पले लग्यो दुवै जनालाई, जसोतसो म बाँचेँ ।”

उसले यसरी छोट्कारीमा सुनाएकी थिई त्यो उसको तितो विगत । अर्को प्रसङ्गमा भनेकी थिई, “मेरो बिहेको प्रस्ताव ठूलोबामार्फत लमीहुँदै तिम्रो घरसम्म पुगेको हो । मलाई बिहे गर्ने मन थिएन आलोक तै पनि ठूलोबाको कुरा टार्न सकिरहेकी थिइनँ । 

एकदिन जब तिम्रो फोटो आयो तब म त्यै फोटोमा रोकिएँ । तिमी माल्दिभ्समा बाबासँगै थियौ भन्ने मलाई थाहा थियो। तिमी र बाबा दुवैजना माल्दिभ्समा हुँदै मलाई फेसबुकमा तिम्रो फ्रेन्डरिक्वेस्ट आएको थियो तर मैले त्यतिबेला रिक्वेस्ट एक्सेप्ट गरिनँ । 

घर आएपछि बाबाले तिम्रा बारेमा कुरा गर्नुभएको थियो । मम्मीसँग धेरै नबोले पनि मसँग भने बाबाले बेलाबेलामा धक पोख्नुहुन्थ्यो । बाबाले माल्दिभ्समा हुँदा ड्रग्सको प्रयोग गर्ने गरेको कुरा मलाई खुलेरै बताउनुभएको थियो । तिमीलाई त्यसको दलदलमा पस्नबाट रोक्ने कोसिस नगरेकोमा पछुतो पनि मान्नुहुन्थ्यो । 

बाबाको निधनपछि मैले लगभग तिमीलाई बिर्सिसकेकी थिएँ । अचानक बिहेको लागि तिम्रै फोटो आएपछि ती स्मृति ताजा भएर आए र त्यसले एक प्रकारको उत्सुकता पनि जगायो म मा ।  तिमीले माल्दिभ्समा ड्रग्स प्रयोग गर्थ्याै भन्ने थाहा हुँदाहुँदै पनि मैले तिमीलाई रिजेक्ट गर्न सकिनँ । तिमीमा केही थियो जसले मलाई तिमीतिरै खिच्यो । केही विशेष लाग्यौ तिमी मलाई तर जे भए पनि बिहेजस्तो निर्णय गर्नुअघि तिमीसँग केही समय व्यतित गर्न आवश्यक थियो र म तिमीलाई भेट्न आएँ।”

राधाले नहिच्किचाइकन आलोकसँग भनेकी थिई कि उसलाई पनि चुरोट पिउने बानी लागेको छ । यसरी दोस्रो भेटमै राधा खुलस्त भएकी थिई । त्यो खुलस्तताले आलोकलाई पनि बलियो बनायो। आफ्नै भ्रमलाई आफ्नो कहानी सुनाएपछि, आलोकलाई फेरि हिम्मत आएको थिएन त्यो सब बताउने तर राधा आफैँ आलोकभन्दा खुलस्त भएर कुरा गर्न थालेपछि आलोकले पनि त्यो तातेको फलाममा घन ठोक्ने हिम्मत जुटायो । 

उसले माल्दिभ्सका ती अनगिन्ती सर्काहरूको धागोमा जेल्लिएको मानसकथाको यथार्थ विगतलाई राधाको सामुन्नेमा राखिदियो। राधाले सजिलै आलोकको दर्दको महसुस गरेको भान देखाएकी थिई । आलोकको हात समाएर उसले ढाडस दिएकी थिई । 

हरेक साँझ नारायणीको तीरमा बसेर एक एक खिल्ली चुरोट पिउँदै ती दुईबीच कुरा हुन्थ्यो । बिहेअघि नै राधा विश्वासिली देखिन्थी आलोकप्रति । आलोक त उसै पनि सबैलाई सजिलै विश्वास गर्ने खालको मान्छे । 

भेट भएको त्यस्तै दश दिनपछि उनीहरू दुवैजना आलोकको साथी मनोचिकित्सक मनोज पटेललाई भेट्न एकसाथ काठमाडौँ गएका थिए । काठमाडौँमा रहँदा उनीहरूबीचको सबै पर्दा उघ्रिएको थियो । 

उनीहरूले त्यो सुमधुर बसाइलाई तीन दिनबाट लम्ब्याएर दश दिन पुर्याएका थिए । आलोकलाई गरिने मनोवैज्ञानिक परामर्शको अवधि लम्बिनु आफैँमा उनीहरूका लागि एउटा बहाना जस्तै बन्यो काठमाडौँको बसाई । वास्तवमा ती दिनहरु उनीहरूका लागि हनिमून अवधि जस्तै बन्न पुगेको थियो । 

आलोक फेरि कोल्टे फेर्छ र ब्ल्याङ्केट मिलाउँछ । यसपालि भने उसका आँखाका परेला अलि भारी भएका छन् । अब निदाउँछ कि !
+ + +

भोलिपल्ट बिहान आलोक ढिलो गरी ब्युँझेको छ । उसले बिस्तराबाटै बाहिर बैठकबाट आइरहेको परिचित आगन्तुकको आवाज सुन्छ जो उसको काकासँगै गफिँदै छ । हातेघडी हेर्छ, खाना खाने बेला हुन लागिसकेछ । 

ऊ उठेर बैठकमा आउँछ। सेवक बाजे आलोकका काकासँग गफ गरिरहेछन् । साठी पुग्नलागेका आलोकका काका र चौरासी काटिसकेका सेवक बाजे चियाका गिलासहरूमा पुरानो जुगका कुराहरू डोब्दैछन् । आलोक सेवक बाजेलाई हेर्दै मुस्काउँछ र उनलाई नमस्कार गर्छ। छेउको एउटा कुर्सीमा बस्छ।  

“काकी चिया खाम् न ।” कुर्सीमा बस्नासाथ आलोक पुकारा गर्छ । 

“मुख त ध्वै पैला !” काकाले अह्राउँछन् । 

आलोक उठेर घरपछाडि जान्छ र मुख धोएर फर्किन्छ । बैठकमा फर्किँदा चिया आइसकेको छ । आलोकका काका शर्मा परिवारको वंशक्रमको बेलिविस्तार लाइरहेका छन् सेवक बाजेलाई । 

“के भन्यौ रे बाजेको नाम ?” सेवक बाजे चासो दिँदै सोध्छन् ।

दुई महिनाअघि मात्रै हो उनी आलोकसँग परिचित भएका । एउटा संयोगले जुरायो आलोक र सेवक बाजेको भेट । हर्कपुरचोकमा बाटो काट्न लागेका सेवक बाजे निमेषभरले बाँचेका थिए, सुदूरपश्चिम पुग्न हतारिएको यात्रुबसको ठक्करबाट । 

संयोगले आलोक नजिकै थियो र ह्वात्त तानेको थियो उनलाई । त्यहीँबाट प्रारम्भ भयो आलोक र सेवक बाजेको निकटता । उनी कृतज्ञ थिए आलोकप्रति । जिन्दगी नै बचाउने मान्छेसँग, जो कोही हुन्छ कृतज्ञ । 

सम्बन्धलाई चाँडै नजिक बनाउन सेवक बाजे आफैँ अग्रसर भए । आलोक भने त्यो अग्रसरतासँग सङ्कोचित थियो । त्यो अग्रसरताले आलोकलाई राधाको झल्को दिलाउँथ्यो । कसरी राधा आफैँ अग्रसर भएर सम्बन्धलाई कसेकी थिई र छोटो समयमै समागमसम्म पुगेको थियो त्यो सम्बन्ध । 

राधाको धोकाले उसलाई तर्साएको थियो । हिजोआज सम्बन्धहरू स्थापित गरिन्छन्, तर तिनले अङ्कुरित हुन पाउँदैनन् । सेवक बाजे र आलोकको भेटघाट केही पटक अरू चल्यो, आलोकको संशयकै बीचमा पनि ।

एक दिन कैलाश आश्रममा भेट भयो उनीहरूको । उनी त्यहीँ पाहुना भएर बसेका छन् । पटनावासी सेवक बाजे नेपाली भाषा राम्ररी बोल्न सक्छन् । 

कैलाश आश्रममा बस्नुको या उनी यहाँ आउनुको प्रयोजनबारे अझैसम्म आलोक अज्ञात छ । त्यो भेटको दिन आलोकलाई सेवक बाजेले आश्चर्यको झट्का दिएका थिए । उनले भने कि उनलाई आलोकलाई पारस रोगले छोएको कुरा थाहा छ र ऊ नियमित रूपमा पारस चक्कीको सेवन गरिरहेको छ । 

आलोकका आँखाहरू ठूला भएर तन्किए । उनले यो पनि बताए कि उनी आफैँ पनि पारस रोगको शिकार भएका छन् र यो पहेँलपुर दुनियाँको उनी पनि एउटा सिपाही हुन् । उप्रान्त उनीहरूको सम्बन्धले अर्कै मोड लिएको थियो । आलोक बेला बेलामा कैलाश आश्रम पुगिरहन थाल्यो र बाजेका गन्थनहरू सुन्न थाल्यो । यसै क्रममा एक साँझ सेवक बाजेले आफ्नो मालिकको कहानी आलोकलाई सुनाउने निधो गरे । 

त्यसको भोलिपल्ट ज्योतिलाई लिएर आलोक काठमाडौँ जानुपर्ने भएकाले कथा सुरु भए पनि सकिएको थिएन । आज बाजेलाई आफ्नै घरमा चिया पिइरहेको भेट्दा उसलाई त्यो अधुरो कथाको सम्झना आउँछ । तर यतिखेर भने उसका काका सेवक बाजेलाई आफ्नो वंशक्रमको बेलिविस्तार लगाइरहेका छन् । 
“बाजेको नाम लेखराम शर्मा हो दाजै ।”

“अनि बाबुको के रे?” सेवकबाजे अर्को प्रश्न गर्छन् । 

“बिदुर शर्मा ।” आलोकका काका जवाफ दिन्छन् ।

“अनि पहाड ?”

“बराजुहरू खुर्कोटबाट अमलापुर झरेका रे । बा पन्ध्र वर्षको हुँदा हजुरबा–हजुरआमा, अमलापुरबाट ह्याँ झर्नु भ’को ।”

“ए, भनेपछि कालीसँगै बग्दै बग्दै नारायणीसम्मको बसाईँ भएछ है ?”

यत्तिकैमा दुईजनाको वार्तालापलाई आलोककी काकीले भङ्ग गर्छिन् । सेवक बाजेलाई पनि खाना पकाइएको जानकारी हुन्छ । खाना खाएपछि आलोक र सेवक बाजे घरबाट निस्किन्छन् र नारायणीतिर लाग्छन् । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया