‘राणाकालीन शिक्षा’ पुस्तक सार्वजनिक

 भदौ २३, २०७८ बुधबार २०:३३:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शिक्षा पत्रकार प्रकृति अधिकारीले लेख्नुभएको ‘राणाकालीन शिक्षा’ पुस्तक आज बुधवार सार्वजनिक भएको छ ।

अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीमा आयोजित कार्यक्रममा पुस्तक सार्वजनिक गरिएको हो । शिक्षा सचिव रामप्रसाद थपलिया, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव दीपक शर्मा र शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालले संयुक्त रूपमा पुस्तक सार्वजनिक गर्नुभयो ।

राणाकालको १०४ वर्षको अवधिमा झाङ्गिएको शिक्षाको विकासक्रमका बारेमा खोजमूलक तथा ऐतिहासिक सामग्रीसहितको यस पुस्तकमा राणाकालीन शैक्षिक लिखत, दस्तावेज आदि समावेश गरिएका छन् ।

यस पुस्तकमा अहिलेसम्म बाहिर नआएका तथ्य अगाडि ल्याइएकाे र यसबाट नेपालको शैक्षिक इतिहासमा नयाँ तथ्य उजागर हुने लेखक अधिकारीले बताउनुभयाे । लेखक अधिकारी विगत २५ वर्षदेखि शिक्षा पत्रकारिता गर्दै आउनुभएकाे छ । उहाँ इतिहासमा पनि रूचि राख्नुहुन्छ । यसअघि उहाँको ‘एसएलसीको इतिहास’नामक पुस्तक २०७४ सालमा प्रकाशन भएको थियो ।

अहिले प्रकाशित पुस्तक ईडीयु सञ्जालले प्रकाशन गरेको छ । विगत ११ वर्षदेखि हामीले विद्युतीय माध्यम तथा कार्यक्रमहरूबाट विद्यार्थीलाई सुसूचित गर्दै आएका छौँ । अब खोजमूलक लेख तथा पुस्तकहरूलाई पनि प्रोत्साहन गर्नुपर्दछ भनेर शिक्षासम्बन्धी पुस्तकहरू प्रकाशन गर्ने योजनाअनुसार यस पुस्तकबाट प्रकाशन यात्रा थालनी गरेका छौँ ईडीयू सञ्जालका प्रमुख कार्यकारी अधिकृत टंकेश्वर आचार्यले बताउनुभयाे ।  

१५ अध्यायमा विभाजित यो पुस्तक पढ्दा लाग्छ कुनै कालखण्डको शैक्षिक इतिहासलाई प्रत्यक्ष अनुभव गरिरहेका छौँ । निरङ्कुश शासकले शिक्षालाई कसरी भित्र्याए र उच्च शिक्षासम्म नागरिककाे पहुँचमा किन र कसरी पुर्‍याए भन्ने बेलीविस्तार गरिएको छ । 

पुस्तकमा दरबार हाईस्कुलका शिक्षक र उनको खान्की, भाषा पाठशाला स्थापना भएका स्थान र नियुक्त शिक्षकहरूको फेहरिस्त, एसएलसी बोर्डका पहिलो परीक्षा नियन्त्रकको नियुक्ति, एसएलसी परीक्षामा सम्मिलित हुन आवेदन फाराम भरेकी पहिलो छात्रा, पाठ्यपुस्तकसम्बन्धी गरिएको व्यवस्था, चन्द्रशम्शेरको निधनपछि उनको दराजबाट झिकिएको लिखत आदिका बारेमा उल्लेख गरिएको पाइन्छ ।

पुस्तकमा ४४४ पृष्ठ छ । पातलो गाताको मूल्य ५५० र मोटो गाताको मूल्य ८५० रुपैयाँ रहेको छ । पुस्तक थुप्रै (thuprai.com), किताबयात्रा(kitabyatra.com) जस्ता अनलाइन स्टोरबाट पनि मगाउन सकिनेछ र यसै हप्तादेखि देशभरका प्रमुख पुस्तक पसलमा उपलब्ध हुनेछ । पुस्तक छिट्टै ई–बुकका रूपमा र विश्वभर अमेजनबाट पनि उपलब्ध हुने प्रकाशकले जानकारी दिएका छन् । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया