सबै पदाधिकारी प्रत्यक्ष निर्वाचित गर्ने एमालेकाे प्रस्ताव

 असोज ४, २०७८ सोमबार १९:२०:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको स्थायी कमिटी बैठकले विधान राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्ने तीन वटा प्रतिवेदनमाथि छलफल गरेको छ । आज सोमवार पार्टी कार्यालयमा बसेको स्थायी कमिटी बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको तीन प्रतिवेदनमाथि छलफल गरेको हो ।

बैठकपछि नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले स्थायी कमिटीका सदस्यहरूले विधान संशाेधनसम्बन्धी प्रस्ताव, सङ्गठनसम्बन्धी प्रस्ताव र राजनीतिक प्रतिवेदनसम्बन्धी प्रस्तावमा सुझाव दिएको बताउनुभयो ।

उहाँले स्थायी कमिटीले दिएका सुझावलाई समेटेर आउँदाे असोज ८ र ९ गते बस्ने केन्द्रीय कमिटीको बैठकमा राखिने र केन्द्रीय कमिटीमा आएका सुझावलाई समेटेर असोज १५, १६ र १७ गते विधान राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्ने निर्णय गरिएको बताउनुभयो । बैठकले सबै पदाधिकारी हलबाट प्रत्यक्ष निर्वाचित गर्ने प्रस्ताव गरेको पनि उहाँले बताउनुभयो ।

प्रचार विभाग प्रमुख भट्टराईले भन्नुभयो, ‘पार्टीले आयोजना गरेको विधान राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्ने तीन वटा प्रतिवेदनमाथि छलफल गरेको छ । स्थायी कमिटीका सदस्यहरूले प्रतिवेदनमाथि आफ्ना गहन सुझाव दिनुभएको छ । विधान संशाेधनसम्बन्धी प्रस्ताव, सङ्गठनसम्बन्धी प्रस्ताव र राजनीतिक प्रतिवेदनसम्बन्धी प्रस्तावमा स्थायी कमिटी सदस्यहरूबाट सुझाव प्रस्तुत भएका छन्, यी सुझावलाई समेटेर असोजको ८ र ९ गते आयाेजना हुने केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरिन्छ । त्यो बैठकमा केन्द्रीय कमिटीका साथीहरूको सुझाव लिएपछि ती सुझावलाई समावेश गरेर असोजको १५, १६ र १७ गते विधान राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्ने गरी प्रतिवेदन स्थायी कमिटीबाट अगाडि बढेका छन्, बैठकले सबै पदाधिकारी हलबाट प्रत्यक्ष निर्वाचित गर्ने प्रस्ताव गरेको छ ।’

विभाग प्रमुख भट्टराईले अब विधान राष्ट्रिय महाधिवेशनको तयारीमा लाग्ने बताउनुभयो । आइतवारदेखि चलेको पार्टीको स्थायी कमिटीको बैठक सोमवार सम्पन्न भएको छ ।   

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया