माथिल्लो मैलुङ जलविद्युत् आयोजनाको ४८ प्रतिशत काम सम्पन्न

 असोज ९, २०७८ शनिबार १३:१४:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – रसुवाको उत्तरगया गाउँपालिका–१ मा निर्माण भइरहेको माथिल्लो मैलुङ जलविद्युत् आयोजनाको ४८ प्रतिशत काम सकिएको छ । २०७७ असोजदेखि कामलाई गति दिएको आयोजनाले ४८ प्रतिशत काम सकाएको हो ।

आउँदो माघसम्ममा सिभिल, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकल काम सकाउने गरी काम अघि बढाइएको आयोजनाले जनाएको छ । आयोजनामा अहिले हेडबक्स, पावरहाउस लगायतका क्षेत्रमा संरचना निर्माण गर्ने लगायतका काम भइरहेको छ । अहिले आयोजनामा २ सय ५० कामदार छन् । आउँदो चैत भित्र निर्माण कार्य सम्पन्न गर्ने गरी काम गरिरहेको आयोजनाका प्रबन्धक काँगडा प्रसाईंले बताउनुभयो ।

२०७८ सालभित्र निर्माण सम्पन्न गर्ने गरी काम सुरु गरिएको भएता पनि विभिन्न समस्याका कारण निर्माण कार्य प्रभावित हुँदै आएको छ । आयोजनाका अनुसार विश्वव्यापी फैलिएको कोरोना र स्थानीयको अवरोधका कारण उत्पादन समय पछि धकेलिएको हो । 

२०७७ असोजसम्म आयोजनाको कामले गति लिन सकेको थिएन । त्यसपछि भने आयोजनाले निर्माण कार्यलाई गति दिएको छ । अप्पर मैलुङ खोला हाइड्रोपावर कम्पनीले आयोजनाको निर्माण गरिरहेको छ । आयोजना निर्माण पूरा गर्न २ अर्ब ५० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । सानिमा हाइड्रो समूह अन्तर्गत निर्माण भइरहेको आयोजनामा सिद्वार्थ बैंकको अगुवाईमा नेपाल एसबीआई बैंकले १ अर्ब ८७ करोड ५० लाख रुपैयाँ ऋण लगानी गरेका छन् । आयोजनामा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी लगानी छ ।

आयोजनाले दिएको जानकारी अनुसार १ हजार ८ सय  ५५ मिटर मुुख्य सुरुङ निर्माण हुनेछ । १ हजार मिटर पेनस्टक निर्माण हुने आयोजनाले जानकारी दिएको छ । १४.३ मेगावट क्षमताको आयोजनाले २०७८ असारमा विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य राखेको थियो ।

उत्पादन भएको विद्युत् नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको थ्रिबी हबमा जोडिनेछ । त्यहाँसम्म आयोजना आफैँले प्रसारण लाइन निर्माण गर्नुपर्ने हुन्छ । थ्रिबी हबसम्म आयोजनाले करिब १५ किलोमिटर लामो प्रसारण लाइन निर्माण गर्नुपर्ने आयोजनाले जनाएको छ ।

निर्माण पूरा भएपछि आयोजनाले वार्षिक रूपमा ७ करोड ९६ लाख ७० हजार ४ सय ८३ किलोवाट घण्टा विद्युत् उत्पादन गर्नेछ । आयोजना निर्माणका लागि २०६८ भदौ २३ गते पीपीए भएको थियो । मोनलिया पावर लिमिटेडले निर्माणको जिम्मा लिएको थियो । यो कम्पनीले पछि सानिमा हाइड्रो समूहलाई नामसारी गरेको हो । २०७२ साउन १ गते निर्माण सम्पन्न गर्ने गरी मोनलियाले प्रक्रिया अघि बढाएको थियो ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया