कुलमानकाे गुनासाे– ‘सडक विभाग, खानेपानी विभागका कारण तार 'अन्डरग्राउन्ड' गर्न समस्या भयाे’

 असोज १२, २०७८ मंगलबार १८:३८:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणले सडक विभाग, खानेपानी विभागलगायतका निकायका कारण बिजुलीका तार (केबल) अन्डरग्राउन्ड गर्ने कामले गति लिन नसकेको स्पष्ट पारेको छ । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तार अन्डरग्राउन्ड गर्ने काममा सडक विभाग, खानेपानी विभागलगायतका कारण समस्या भएको उल्लेख गर्दै समस्या समाधानका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पहल गरिरहेको पनि जानकारी दिनुभयो । उहाँले ती समस्या समाधान गरेर देशमा सूचना प्रविधि क्षेत्रको विकासमा आवश्यक सहयोग पुर्‍याउन प्राधिकरण प्रतिबद्ध रहेको पनि बताउनुभयो । 

आज मङ्गलवार काठमाण्डाैमा आयोजित ‘नेपालमा सूचना प्रविधि प्रयोगको अवस्था र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले नेपालको सूचना प्रविधि क्षेत्रको विकासमा प्राधिकरणले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको दाबी गर्नुभयो । उहाँले झन्डै ९५ प्रतिशत नेपालीको घरमा विद्युतीकरण भइसकेको उल्लेख गर्दै त्यसले पनि सूचना प्रविधिको विकासमा उल्लेखनीय योगदान पुर्‍याउन सहयाेग गरेकाे बताउनुभयाे । 

कार्यकारी निर्देशक घिसिङले भन्नु भयो, ‘तार बिछ्याउने काममा सडक विभाग, खानेपानी विभागलगायतका निकायहरूले समस्या खडा गरिरहेका छन् र ती समस्या समाधानका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पहल गरिरहेको छ । ती समस्या हामी छिट्टै समाधान गरेर अघि बढ्नेछौँ । प्रत्येक नेपालीको घरघरमा, गाउँगाउँमा अहिले झन्डै ९५ प्रतिशत विद्युतीकरण भइसकेको छ । यसबाट हरेक घरमा हाम्रो पोल पुगेको छ । यो सूचना प्रविधिको विकासका लागि ठूलो इन्फ्रास्ट्रकचर हो । कुनै पनि फाइबर तान्नुपर्‍याे भने त्यही पोल प्रयाेग हुन्छ र फाइबर होम भनेर जुन हामी अहिले डिजिटल नेपालको अवधारणा अन्तर्गत आइरहेका छाैँ, त्यो नेपाल विद्युत् प्राधिकरणको इन्फ्रास्ट्रचरले धेरै सहयोग गरेको छ ।’

कार्यकारी निर्देशक घिसिङले नेपाल विद्युत् प्राधिकरणले उपभाेक्ताबाट वार्षिक झन्डै ७० अर्ब आयआर्जन गरिरहेकाे जानकारी पनि दिनुभयो ।

अन्तिम अपडेट: असार १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया