ताेकिएकाे तलब नपाएकाे भन्दै जाेरायल गाउँपालिकाका विद्यालय बन्द गरिँदै

 असोज १२, २०७८ मंगलबार २०:२१:१३ | विमल बिष्ट
unn.prixa.net

डोटी – डोटीको जोरायल गाउँपालिकामा रहेका विद्यालयका शिक्षक, लेखापाल र परिचरले तोकिएको तलब नपाएको भन्दै शिक्षकहरूले आज मङ्गलवारदेखि पालिकाभरिका विद्यालय अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेका छन् । यसैगरी शिक्षक सङ्घर्ष समितिले आफ्नो माग पूरा नभए पालिकाभरिका विद्यालयमा र गाउँपालिकामा समेत तालाबन्दी गर्ने निर्णय गरेको छ ।

सङ्घीय सरकारबाट छुट्याइएको १५ हजार रुपैयाँ तलब गाउँपालिकाले नदिएको भन्दै उनीहरूले आफ्नो माग पूरा नभएसम्म विद्यालय सञ्चालन नगर्ने माग राख्दै विद्यालयमा पठनपाठन पूर्णरूपमा बन्द गर्ने निर्णय गरिएको सङ्घर्ष सतितिका अध्यक्ष तथा शिक्षक प्रकाश थापाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘साथीहरूले तलब पाएका छैनन्, तलब पाउनका लागि बाध्य भएर पढाइसहित विद्यालय बन्द गर्दैछौँ, माग चाँडो सुनुवाइ होस् ।’

तलबबारे गाउँपालिकासँग पटक–पटक छलफल गर्दा स्रोत नभएको र जतिसक्दो चाँडो स्रोत जुटाएर तलब दिने आश्वासनमात्र दिएका कारण बाध्य भएर पठनपाठनमा अवरोध गर्नुपरेको नवदुर्गा आधारभूत विद्यालयका प्रधानाध्यापक तथा जोरायल शिक्षक महासङ्घका सह–अध्यक्ष उमेश कुमार साउँदले बताउनुभयो । 

यसबारेमा जोरायल गाउँपालिकाका शिक्षा अधिकारी तेजबहादुर खत्री भन्नुहुन्छ, ‘हामीले सकेजति तलब दिएकै थियौँ, पालिकाले थप बजेट विनियोजन नगरेकाले केही समस्या भएको हो तर लेखापाल र परिचरको तलबको बारेमा छलफल भइरहेको छ ।’

कोरोना महामारीका कारण महिनौँपछि विद्यालय खोलिएका भए पनि लेखापाल र परिचरको तलबका कारण फेरि पठनपाठन रोकिने भएपछि विद्यार्थीहरू निराश बनेका छन् । 

अन्तिम अपडेट: चैत १५, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया