डोटीमा सीडीओ र प्रशासकीय अधिकृत नहुँदा सेवा प्रवाहमा समस्या

 असोज १३, २०७८ बुधबार १९:२९:२३ | विमल बिष्ट
unn.prixa.net

डोटी – जिल्ला प्रशासन कार्यालय डोटीमा महिनौँसम्म पनि प्रमुख जिल्ला अधिकारी (सीडीओ) र प्रशासकीय अधिकृत नपठाएका कारण सेवा प्रवाहमा कठिन हुँदै आएको छ । प्रमुख जिल्ला अधिकारी नहुँदा जिल्लामा विभिन्न सुरक्षासम्बन्धीका बैठक हुन सकेका छैनन् भने प्रशासकीय अधिकृत नहुँदा नागरिकता वितरणदेखि अन्य सिफारिसका काममा सेवाग्राहीलाई समस्या भएको छ ।

साथै प्रशासनमा तोकिएका अन्य दरबन्दीअनुसारका कर्मचारी नहुँदा समस्या भएको दिपायल सिलगढी नगरपालिका ५ का बासिन्दा रामबहादुर भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘जिल्ला प्रशासनमा नागरिकता वा राहदानीको सिफारिसका लागि जाँदा तोकिएका कर्मचारी नै भेटिँदैनन्, हामीलाई सारै समस्या भएको छ, हाम्रा पीडा कसले बुझ्ने ?’ 

डोटीमा कार्यरत प्रमुख जिल्ला अधिकारी सुनील खनाललाई गृह मन्त्रालयमा सरुवा गरिएपछि जिल्ला प्रशासन कार्यालय प्रमुखविहीन बनेको हो । प्रमुख जिल्ला अधिकारीको सरुवा भएपछि अहिले निमित्त प्रमुख जिल्ला अधिकारी किरण जोशीलाई तोकिएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी जोशीले नागरिकता प्रदान, राहदानी सिफारिसदेखि अन्य विभिन्न प्रकारका सेवा प्रदान गर्नुपर्ने बाध्यता रहेको छ ।

कार्यालयमा महिनौँदेखि कर्मचारी अभावले सेवाग्राहीले सास्ती झेल्न बाध्य भएको खबर गृह मन्त्रालयमा जानकारी गराउँदा समेत प्रजिअ तथा अन्य कर्मचारी नपठाएको निमित्त प्रजिअ जोशीले बताउनुभयो । 

डोटीमा प्रमुख जिल्ला अधिकारीसहित २१ जनाको दरबन्दी रहेकामा अहिले १७ कर्मचारी कार्यरत छन् । कार्यरत कर्मचारीमध्ये केही कारागारमा पठाइएका कारण पनि सेवाग्राहीलाई समस्या भएको छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया