रसुवागढी नाकामा ‘हुक एण्ड ड्रप’ प्रणाली सञ्चालनमा ल्याइने

 असोज १६, २०७८ शनिबार १३:३८:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

रसुवा – रसुवागढी नाकामा ‘हुक एण्ड ड्रप’ प्रणाली सञ्चालनमा ल्याइने भएको छ । चिनियाँ सामग्रीको आयात बढाउनका लागि प्रणाली सञ्चालनमा ल्याउन लागिएको हो । लामो समयदेखि आयातमा वृद्धि हुन नसक्दा नेपाली व्यापारी तथा व्यवसायीलाई समस्या हुँदै आएको छ । 

नयाँ प्रणाली सञ्चालनमा आएमा नाकाबाट आयातमा वृद्धि हुने रसुवा भन्सारका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताउनुभयो । ‘अहिले चिनियाँ टेलरले ल्याएको सामग्री नेपालीले नाकाबाट अर्को गाडीमा हालेर ल्याउन पर्ने थियो,’ उहाँले भन्नुभयो, ‘हुक एण्ड ड्रप प्रणाली सुरु भएपछि आएको सामग्री नेपाली टेलर हेड जोडेर यार्डसम्म ल्याउन सकिन्छ ।’ 

नेपाली व्यवसायीले रसुवागढी नाकामा प्रणाली सञ्चालनमा ल्याउनका लागि केही महिना अघि नै प्रक्रिया अघि बढाएका थिए । विविध समस्याका कारण प्रणाली सञ्चालनमा आउन सकेको थिएन । नयाँ प्रणाली सञ्चालनमा ल्याउनका लागि सिल्क ट्रान्सपाेर्ट  कम्पनीले  आवश्यक टेलर समेत ल्याइसकेको छ । १३ वटा टेलर हेड तयारी अवस्थामा रहेको निर्देशक सोनाम वाङ्दी लामाले बताउनुभयो ।

‘यो प्रणाली सञ्चालनमा आयो भने नाकाबाट आयात बढ्छ’, उहाँले भन्नुभयो, ‘हामीले पर्याप्त टेलरको व्यवस्था गरिसकेका छौं ।’ 

ल्हासाबाट रसुवागढी नाकासम्म सामग्री आउने भएपनि नाका वारीसम्म मात्र ल्याउँदा सामग्रीको आयात बढ्न नसकेकोले उक्त प्रणाली सञ्चालनमा ल्याउनुपर्ने व्यवसायीले बताएका छन् । नाका वारीसम्म सामग्री ल्याएर झार्दा सामग्री हराउने, बिग्रने, बढी समय लाग्ने लगायतका समस्या आइरहेको निर्देशक लामाले बताउनुभयो । सुरुमा ५ वटा टेलरमा सामग्री आइरहेकोमा अहिले दैनिक ९ वटामा सामग्री आइरहेको छ । २०७६ माघयता  नाकाबाट आयात निकै कम भएको छ । २०७६ माघ १५ गतेदेखि २०७७ जेठ तेस्रो सातासम्म नाका बन्द गरिएको थियो । अहिले एकतर्फी रूपमा नाका सञ्चालन भइरहेको छ । 

चीनबाट रेडिमेट, इलेक्ट्रोनिक, जलविद्युत् आयोजनाका सामग्री, टेलिकमका सामग्री र फलफूल आयात हुँदै आएको छ । त्यसैगरी नेपालबाट बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचो लगायतको सामग्री चीनतर्फ निर्यात हुने गरेको छ । तर कोभिड–१९ का कारण निर्यात लामो समयदेखि ठप्प छ ।

२०७१ सालदेखि औपचारिक रूपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका थिए । चीनले अन्तर्राष्ट्रिय नाकाको रूपमा घोषणा गरेपछि सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएको थियो । रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ ।
 

अन्तिम अपडेट: मंसिर २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया