ईपीएल क्रिकेट : भैरहवासँगकाे खेल रद्द भएपछि काठमाण्डाै प्लेअफमा

 असोज १९, २०७८ मंगलबार १३:४६:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट अन्तर्गत लिग चरणको अन्तिम खेलमा भैरहवा र काठमाण्डौ किङ्ग्स इलाभेनबीचको खेल रद्द भएको छ । त्रिवि मैदानमा आज मङ्गलवार हुने तय भएको खेल हिजो सोमवार परेको पानीले मैदान भिजेका कारण खेल रद्द भएको हो ।

खेल रद्द भएपछि काठमाण्डौ किङ्ग्स इलाभेन र भैरहवा ग्लाडियटर्सले एक–एक अङ्क बाँडेका छन् । एक अङ्क पाएसँगै काठमाण्डौ प्लेअफमा पुगेको छ । भैरहवा यसअघि नै प्लेअफमा पुगिसकेको छ ।

काठमाण्डौ पाँच खेलमा तीन अङ्क जोडेर चौथो स्थानमा रहँदै प्लेअफमा पुगेको हो । ललितपुर प्याट्रियट्सको पनि तीन अङ्क नै भए पनि काठमाण्डौ नेट रन रेटमा अघि छ । योसँगै साविक विजेता ललितपुर र दोस्रो संस्करणको विजेता विराटनगर वारियर्स भने लिग चारणबाटै बाहिरिएका छन् ।

अब एलिमिनेटरमा तेस्रो भएको भैरहवा र चौथो भएको काठमाण्डौबीच खेल हुनेछ । ईपीएल क्वालिफायरमा शीर्ष स्थानमा रहेको चितवन टाइगर्स र दोस्रो स्थानमा रहेको पोखरा राइनोजबीच खेल हुनेछ ।  

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया