भित्री भन्दा बाहिरी सुन्दरतामा बढी ध्यान दिएकाले सहरी क्षेत्रमा कुपोषण बढ्दै

 असोज २२, २०७८ शुक्रबार १३:३३:४५ | केदार पराजुली
unn.prixa.net

पछिल्लो समय सहरी क्षेत्रका बालबालिका कुपोषित हुने क्रम बढ्दै गएको छ । सहरी क्षेत्रका अभिभावकले भित्री सुन्दरतामा भन्दा बाहिरी सुन्दरतामा बढी ध्यान दिएकाले सहरी क्षेत्रका बालबालिका कुपोषणको सिकार बन्दै गएका हुन् ।

अभिभावकले बालबालिकाको फेसनलाई ध्यान दिने, तर खानपानमा त्यति ख्याल नगरेका कारण सहरी क्षेत्रका बालबालिका कुपोषणको सिकार बन्दै गएका छन् । पैसा नभए, खोजेर भए पनि बालबालिकाको कपडा किन्न ध्यान नदिने प्रवृत्ति छ । 

सहरी क्षेत्रका अभिभावकले बालबालिकालाई स्तनपान गराउन छाड्दै गएका छन् । जन्मेको एक घण्टाभित्र आमाले बच्चालाई स्तनपान गराइसक्नु पर्छ ।  र छ महिनासम्म आमाको दूध मात्रै चुसाउनु पर्ने हुन्छ । तर बच्चा जन्मेपछि ६ महिनासम्म बालबालिकालाई  दूध चुसाउने क्रम पनि बिस्तारै  कम हुँदै गएको छ ।  

अभिभावकले बजारमा प्याकिङ गरेर राखिएका तयारी खानेकुरा बालबालिकालाई खुवाउने गरेको पाइन्छ । चाउचाउ, चिजबल लगायतका खानेकुरा पछिल्लो समय बालबालिकालाई धेरै दिन थालिएको छ । लगातार यस्ता  खानेकुरा दिने गर्नाले  बालबालिकालाई पनि यस्तै खानेकुरा खाने बानी पर्दै गएको छ ।  

सहरमा बसोबास गर्नेमध्ये २० प्रतिशत मानिसहरु निक्कै गरिब छन् । दिनभर काम गरेर बिहान बेलुका छाक टार्छन् ।  छाक टार्नैका लागि भनेर  नुन, तेल धेरै भएका खानेकुराहरु खाने गरेका पाइन्छ । यस्तै म्याद गुज्रन लागेका वा गुज्रिएका खानेकुराहरु पनि उनीहरुले खाने गरेका पाइन्छन् । 

सहरी क्षेत्रमा बसोबास गर्नेहरु र त्यसमाथि पनि  गरिबीको चपेटामा परेकाहरु असाध्यै जोखिममा छन् । र उनीहरु धेरै कुपोषणको सिकार भएका छन् । सहरी खानपानले कुपोषण हुनेको सङ्ख्या बढाउँदै लगेको छ।सहरीया खानपानको नामले चिनिने चाउचाउ, चिजबल लगायतका खानेकुराहरु  देख्दा राम्रो, जिब्रोका लागि मिठो हुन्छ ।  घाँटीबाट तल पुग्नेबित्तिक्कै त्यसको असर नराम्रो हुन्छ ।  

चाउचाउ र चिजबलमा नुन धेरै हुन्छ । कतिपय  खानेकुराको म्याद सकिइसकेको हुन्छ । कुनै सकिन लागेका हुन्छन् । त्यसको  हामीले त्यति ख्याल गरेका हुँदैनौ । कतिपय प्याकिङ गरिएका खानेकुरा म्याद सकिइसके पछि स्टिकर मात्रै टाँसिएको पनि हुन सक्छ । 

कतिपयको स्टोरेज राम्रो हुँदैन । पैसा तिरेर पनि विषादीयुक्त खानेकुरा खान हामी बाध्य छौँ । हामीले  धेरै अशुद्ध खानेकुरा खाइरहेका छौँ । सहरमा धेरै मानिसहरु घाममा बस्न रुचाउँदैनन् । अनुहार कालो हुने र त्यसले सुन्दरतामा असर पार्छ भन्ने उनीहरु ठान्छन् । घाममा नबस्दा भिटामिन 'डी' को कमी हुन सक्छ । काठमाण्डौको जनसङ्ख्या हेर्ने हो भने ५० प्रतिशत मानिसलाई भिटामिन 'डी'को कमी भएको देखिन्छ । हरियो तरकारी र फलफूल कम खानाले पनि समस्या निम्तिएको छ ।  

खानपान र आनीबानी नबदलिने हो भने सहरी क्षेत्रमा कुपोषणले विकराल रुप लिन सक्ने देखिन्छ । आनीबानी र खानपानको शैली सुधार्न आवश्यक छ । सहरी क्षेत्रमा रहेर बालबालिकालाई पोषणयुक्त खानेकुरा खुवाउनै सकिँदैन भन्ने खोजिएको होइन । आफूले चाहेमा सहरी क्षेत्रमा रहेर पनि बालबालिकालाई पोषणयुक्त खानेकुराहरु खुवाउन सकिन्छ । 

अर्गानिक क्षेत्रबाट उत्पादन भएका खानेकुराहरु किनेर ल्याउने गर्नुपर्छ ।  कोदो, मकै सहरमा पनि किन्न पाइन्छ । त्यस्ता खानेकुरा किनेर खानुपर्छ । भर्खरै विषादी हालेर पकाइएको खानेकुरा जस्तो लागेमा तत्काल नखाएर केही समय राखेर राम्ररी पकाएर खाने गर्नुपर्छ ।  किनेर ल्याएको दुई तीन दिनपछि पकाएर खानुपर्छ । त्यसो गर्न सकिएमा पनि कुपोषण कम गर्न सकिन्छ । 

विषादी नहालिएका तरकारी र फलफूलमा स्टिकर टाँसेर यसमा विषादी छैन भन्ने कुराको जानकारी दिने सिस्टम बसाउन आवश्यक छ ।  विषादी हालेको तरकारी र फलफूल निक्कै चम्किलो र खाउँखाउँ लाग्ने जस्तो देखिन्छ । तरकारी पनि निक्कै ताजा देखिन्छ । त्यहाँ किराले खाएको जस्तो पनि देखिँदैन । त्यही भएर खाउँखाउँ लाग्ने हुन्छ । 

सहरी क्षेत्रमा भित्रने तरकारी र फलफूल सम्बन्धी केही मापदण्ड बनाउन आवश्यक छ । सबै परीक्षण गरेर यो चाहिँ विषादीरहित छ है भने पछि मात्र बिक्रीवितरण गर्न दिनुपर्ने व्यवस्था गर्नुपर्छ । हाम्रो वातावरण, सडक नै प्रदूषणयुक्त छ । निश्चित तरिकाले बजारमा फलफूल तरकारी बेच्ने र त्यसलाई राख्ने व्यवस्था मिलाउनुपर्ने हुन्छ । 

अहिले डिपार्टमेन्टल स्टोरहरुमा राखिएको मोडालिटीमा  मात्रै राख्न सकियो भने पनि केही सुरक्षित हुन सक्छ । स्टोरेज बनाउन सिस्टम बनाउन जरुरी देखिन्छ । त्यसका लागि आवश्यक मापदण्डहरु पनि तयार गर्नु आवश्यक हुन्छ । 

आफूलाई कुपोषण भए/नभएबारे जानकारी लिनका लागि र अरु खालका समस्या पनि भएका छन की भनेर वर्षमा एक/दुई पटक शरीरमा रगतको जाँच गर्नुपर्छ । रगतको जाँच गरेर रगतमा भिटामिन 'डी'को अवस्था के छ ? हेमोग्लोबिनको अवस्था लगायतकाबारे बुझ्नका लागि वर्षमा एक/दुई पटक परीक्षण गर्नु आवश्यक छ । शरीरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर भयो भने अरु विभिन्न खालका बिरामी पनि बढ्ने सम्भावना हुन्छ ।

(स्वास्थ्य सेवा विभागको पोषण शाखा प्रमुख केदार पराजुलीसँग गरिएको कुराकानीमा आधारित ) 

अन्तिम अपडेट: कात्तिक २, २०७८

केदार पराजुली

केदार पराजुली स्वास्थ्यसेवा विभागको पोषण शाखा प्रमुख हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया