उपचुनावको प्रचारमा तोकिएकाभन्दा बढी गाडी प्रयोग नगर्न आयोगको ...
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै - आज विश्व हुलाक दिवस मनाइँदै छ । सञ्चार सेवाको सबैभन्दा पुरानो तथा भरपर्दो माध्यम हुलाक सेवाको महत्त्व बुझाउँदै हरेक वर्षको अक्टोबर ९ मा विश्व हुलाक दिवस मनाइँदै आएकाे छ ।
हुलाकलाई विश्वभर सूचना सन्देश प्रवाह गर्ने विश्वव्यापी संस्थाका रुपमा लिइन्छ । नेपालले सन् १९५६ मा विश्व हुलाक सङ्घको सदस्यता लिएसँगै हुलाक दिवस मनाउन थालिएकाे हो ।
तर, सूचना प्रविधिको विकाससँगै हुलाक सेवाको अस्तित्व भने पछिल्लो समय सङ्कटमा परेको छ ।
नेपालमा १९३५ सालदेखि सुरु भएको हुलाक सेवाले जनताको घरदैलोमा सेवा पुर्याउँदै आए पनि सूचना प्रविधिमा भएको विकास र ग्रामीण क्षेत्रमा इन्टरनेटको पहुँचका कारण हुलाकको अस्तित्व जोखिममा परेको हो ।
एक दशकअघिसम्म आमनागरिकको भरोसा बनेको हुलाक सेवा अहिले सरकारी पत्र र केही व्यक्तिगत काममा सीमित छ । हुलाकको प्रयोजन अहिले सरकारी कार्यालयको चिठीपत्र बोक्ने र पार्सलका केही सामग्री पुर्याउने काममा मात्र साँघुरिएको हुलाकका कर्मचारी बताउँछन् ।
जिल्ला हुलाक कार्यालय म्याग्दीमा २० वर्षभन्दा बढी सेवा गरी अहिले सेवानिवृत्त हुनुभएका झकबहादुर थापा एक दशकअघिसम्म चिठीपत्रको चापका कारण काम गर्न भ्याइनभ्याइ हुने हुलाक अहिले सरकारी कार्यालय तथा संस्थाका पत्र र विदेशबाट आउने व्यक्तिगत सामानको काम गरेर आफ्नो अस्तित्व बचाइरहेको बताउनुहुन्छ । सूचना प्रविधिले इन्टरनेटको विकास गरेपछि विश्वलाई नै एउटा गाउँमा परिणत गरिदिएको र यसले दूरसञ्चारमा समेत चुनौती थपिएको उहाँको भनाइ छ ।
सूचना प्रविधिको पहुँचका कारणले सेकेण्ड–सेकेण्डमा सूचना पाउने भएपछि चिठीपत्र र हुलाक सेवा दुवैको औचित्य घटेको जिल्ला हुलाक कार्यालय म्याग्दीका प्रमुख साधनाकुमारी श्रेष्ठ बताउनुहुन्छ ।
उहाँका अनुसार हुलाक सेवा विश्वमै भरपर्दो सञ्चार सेवा भएका कारण संयुक्त राष्ट्रसङ्घको अङ्गकै रुपमा विश्व हुलाक सङ्गठन स्थापित छ तर, पछिल्लो समय हुलाक सेवा नेपालमा मात्र नभइ विश्वमै सङ्कटोन्मुख अवस्थामा पुगेको छ । हुलाकलाई आधुनिकीकरण गर्न सरकारका तर्फबाट पनि कुनै पहलकदमी नहुँदा हुलाक सेवाको औचित्य स्थापित हुन नसकेको जानकारले बताएका छन् ।
हुलाक बचत बैंकलाई सरकारले आर्थिक वर्ष २०७५/०७६ बाट खारेज गरेसँगै हुलाकको अस्तित्व झन सङ्कटमा परेको कतिपयको बुझाइ छ । सरकारले हुलाक बचत बैंकको खारेजी गरेसँगै यस बैंकमा जम्मा भएको रकम खातासहित राष्ट्रिय वाणिज्य बैंकमा सारेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।