साफ च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग पराजित

 असोज २५, २०७८ सोमबार ५:५९:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - साफ च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग पराजित भएको छ । गएराति भएको खेलमा नेपाल भारतसँग १–० गोल अन्तरले पराजित भएको हो ।

माल्दिभ्सको मालेमा रहेको राष्ट्रिय रङ्गशालामा भारतका लागि कप्तान सुनिल क्षेत्रीले खेलको ८२ औँ मिनेटमा गरेको एक गोल नै  निर्णायक बन्यो । जितसँगै ३ खेलमा ५ अंक जोडेको भारत तेस्रो स्थानमा पुगेको छ । प्रतियोगितामा नेपालको यो पहिलो हार हो । नेपाल ३ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा छ ।

६ अंक जोडेको माल्दिभ्स शीर्ष स्थानमा उक्लिएको छ । भारतसँगको हारसँगै अब नेपाललाई फाइनल पुग्न अन्तिम खेल कुर्नु पर्ने भएको छ । अब बंगलादेशसँगको खेल नेपालका लागि ''गर या मर''को अवस्थामा हुने छ । नेपालले बंगलादेशसँग बराबरी गरे वा जित निकालेमा फाइनल पुग्नेछ ।

बंगलादेशलाई भने जित्नै पर्ने दबाब छ ।  बंगलादेश ३ खेलमा ४ अंक जोडेर चौथाे स्थानमा छ । नेपाल र बंगलादेशको खेल पर्सि दिउँसो पौने ५ बजे हुनेछ । साफ च्याम्पियनसिपमा ५ राष्ट्रको सहभागिता रहेकोमा श्रीलंका भने बाहिरिसकेको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया