उपचुनावको प्रचारमा तोकिएकाभन्दा बढी गाडी प्रयोग नगर्न आयोगको ...
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – कोरोनाको जोखिम कम हुँदै गएकाले यस वर्ष महानवमीका अवसरमा हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर खुला गरिने भएको छ ।
प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिनमात्र भक्तजनका लागि खुला गरिने तलेजु भवानी मन्दिर गएकाे वर्ष कोरोना जोखिम बढी भएकाले बन्द गरिएको थियो । यस वर्ष धेरैले खोप लगाइसकेको र जोखिम पनि कम भएकाले खुला गर्ने तयारी भएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिनुभयो ।
प्रत्येक वर्ष महानवमीका दिन धेरै भक्तजन तलेजु भवानीको दर्शन गर्न हनुमानढोका दरबार क्षेत्रमा लाइन लाग्ने गर्छन् । यसैबीच तुलजा भवानीलाई नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतअनुसार आज बिहान ७;११ बजे हनुमानढोका दरबार क्षेत्रको मूलचोकमा यात्रा गराइएको छ । तुलजा भवानीलाई बिहान ८ः४४ बजेको साइतमा स्थिरासनमा राखिएको कार्यालय प्रमुख खनालले सुनाउनुभयो । तलेजु भवानीलाई मूलचोकमै राखेर महाअष्टमीको राति कालरात्रि पूजाका साथ ५४ बोका र ५४ राँगाको बलिसहित पूजा आराधना गर्ने तयारी भएको छ ।
विजयादशमीसम्म तलेजु भवानीलाई यहीँ राखेर पूजा आराधना गरिन्छ । विजयादशमीका दिन बिहान समितिले दिएको साइतमा भवानीलाई मूल मन्दिर फर्काइन्छ । हनुमानढोकाको दशैँ घरमा फूलपाती भित्र्याउने तयारी हनुमानढोका दरबारको दशैँ घरमा आज दिउँसो चार बजे गोरखाबाट ल्याइने फूलपाती भित्र्याउने तयारी गरिएको कार्यालयले जनाएको छ । गोरखाबाट दिउँसाे ३:३० बजे जमलमा रहेकाे फूलपाती विश्रामस्थलमा आइपुग्ने छ । फूलपाती लिन हनुमानढोका दरबारबाट डोलीसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कर्मचारी, स्थानीय क्लब एवम् स्थानीयवासीसहितको टोली जमल जाने तयारी भएको छ । दिउँसो साँढे चार बजेसम्म हनुमानढोकाको दशैँ घरमा फूलपाती भित्र्याउने तयारी छ ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालालगायत उच्च पदस्थ कर्मचारीको पनि सहभागिता रहने जनाइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।