मुगु बस दुर्घटना : प्रदेश प्रमुख र मुख्यमन्त्रीद्वारा दुःख व्यक्त

 असोज २७, २०७८ बुधबार १४:२८:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

सुर्खेत – मुगुमा हिजाे मङ्गलबार भएको बस दुर्घटनाप्रति कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी र मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दुःख व्यक्त गर्नुभएको छ । छुट्टाछुट्टै समवेदना सन्देश जारी गर्दै उहाँहरूले मृतकका परिवारप्रति सहानुभूतिका साथै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको हो । 

मुख्यमन्त्री शाहीले दुर्घटनाको सूचना पाउनेबित्तिकै उद्धार तथा प्रारम्भिक उपचारमा खटिने सुरक्षा निकाय, स्वास्थ्यकर्मी, स्थानीय जनप्रतिनिधिलगायतलाई धन्यवाद दिनुभएको छ । 

त्यस्तै, चाडपर्वका बेला सवारीसाधनमा हुने भिड कम गर्न, सवारी साधनको यान्त्रिक अवस्था दुरुस्त राख्न तथा ट्राफिक नियमको पालनालाई कडाइ गरी दुर्घटना न्यूनीकरणको व्यवस्था मिलाउन प्रदेश सरकार, पालिका, स्थानीय प्रशासन, सुरक्षा निकाय र सरोकारवालालाई निर्देशनसमेत दिनुभएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव कृष्णप्रसाद आचार्यद्वारा जारी शोक वक्तव्यमा उल्लेख छ । 

नेपालगञ्जबाट सोमवार छुटेको भे १ ख ३१६७ नम्बरको यात्रुवाहक बस हिजाे दिउँसाे १२ बजेतिर छायाँनाथ रारा नगरपालिकाको वडा नं ७ मा रहेकाे पिनातपने खोला नजिकै दुर्घटनामा परेको थियो । दुर्घटनामा ३२ जनाको जानुका साथै १३ घाइते भएका थिए । 

घाइतेको मुगु जिल्ला अस्पताल, बाँकेको नेपालगञ्ज र कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको छ । 

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया