हिरासतमा थुनुवा मृत्यु प्रकरणकाे यथार्थ बाहिर ल्याउन प्रतिबद्ध छु– गृह मन्त्री

 असोज ३१, २०७८ आइतबार १९:३४:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका मोहम्मद हकीम साहको जिल्ला प्रहरी कार्यालय सुनसरीको बन्दी गृहमा भएको मृत्यु प्रकरणबारे यथार्थ बाहिर ल्याउने प्रतिबद्धता जनाएको छ ।  

गृह मन्त्रालयमा आज आइतवार मुस्लिम समुदायसँग सम्बन्धित सङ्घ संस्थाका प्रतिनिधिले बुझाएको ज्ञापन पत्र बुझ्दै मन्त्री खाणले नागरिकको जीवन रक्षा गर्नु सरकारको पहिलो काम रहेको बताउनुभयो । उहाँले सामाजिक सद्भाव कायम गरी सत्य बाहिर ल्याउन सरकार र आफू संवेदशील रहेको बताउनुभयो ।

सबै नागरिक आफ्नो धर्म संस्कृति अवलम्बन गर्न स्वतन्त्र रहेको उल्लेख गर्दै उहाँले सरकारको पहिलो दायित्व नागरिकको जीवन रक्षा भएको त्यसमा आफू प्रतिबद्ध रहेको बताउनुभयो । 

ज्ञापन पत्रमा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित छानबिन समितिलाई भङ्ग गरी उच्च अदालतका न्यायाधीशको संयोजकत्वमा मानव अधिकारकर्मीसहितका विज्ञ टोली गठन गर्न माग गरिएको छ । मन्त्री खाणले स्थानीयवासीले विश्वास गर्ने गरी अहिलेको छानबिन समितिका सदस्यलाई फेरबदल गर्ने विषयमा कुराकानी भएको जानकारी दिनुभयो । 

मन्त्रालयमा ज्ञापन पत्र बुझाउन इस्लामी सङ्घका अध्यक्ष खुर्शिद आलम, नेपाल मुस्लीम सङ्घका महासचिव रहमतुल्ला मियाँ, राष्ट्रिय मानव अधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारीसहित ११ प्रतिनिधिको टोली सहभागी थियो ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया