लाङटाङमा चिज उत्पादन बढ्यो

 कात्तिक १, २०७८ सोमबार २०:५:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – नेपालको पहिलो चिज उत्पादन केन्द्र लाङटाङमा चिज उत्पादन बढेको छ । गत वर्षको तुलनामा यो वर्ष चिज उत्पादन बढेको हो । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ क्यान्जिनमा रहेको चिज उत्पादन केन्द्रले यो पटक ३ हजार किलो चिज उत्पादन गरेको छ ।

गत वर्ष २२ सय किलो चिज उत्पादन भएको थियो । यो वर्ष ५ हजार किलो चिज उत्पादनको लक्ष्य राखिएको भए पनि उत्पादन गर्न नसकिएको केन्द्र प्रमुख ग्याल्बु तामाङले बताउनुभयो । 

‘यसपटक लक्ष्यको तुलनामा कम उत्पादन भएको छ’, उहाँले भन्नुभयो, ‘तर गत वर्षको तुलनामा चिज उत्पादन बढाउन सफल भएका छौं ।’

जेठबाट उत्पादन सुरु गर्नुपर्ने भए पनि कोरोनाका कारण असारबाट मात्र सुरु भएको थियो ।  गएको असारदेखि असोज २८ गतेसम्म केन्द्रले चिज उत्पादन गरेको थियो । भूकम्प जानुपूर्व केन्द्रले वार्षिक ५ हजार किलो चिज उत्पादन गर्दै आएको थियो । पछिल्लो समय भने क्षमताभन्दा कम उत्पादन हुँदै आएको छ । केन्द्रको वार्षिक चिज उत्पादन क्षमता ६ हजार किलो रहेको छ । केन्द्रले हाल क्यान्जिन, छेप्चे र लाङसिसाबाट चिज उत्पादन गर्दै आएको छ ।

भूकम्पपछि चौरीपालक कृषक घटेको, उपकरणको अभाव, जनशक्तिको अभाव, अगाडि पेश्की दिने कार्य रोकिनु र पछिल्लो समय कोरोना लगायतका कारण क्षमता अनुसार चिज उत्पादन हुन नसकेको हो ।
केन्द्रले चिज प्रतिकिलो १ हजार ४ सय र मखन प्रतिकिलाे एक हजार दुई सय रुपैयाँमा बिक्री गर्दै आएको छ । पर्यटकीय क्षेत्र लाङटाङको क्यान्जिनमा रहेको चिज उत्पादन केन्द्र २००९ सालमा स्थापना भएको थियो । यो नेपालको पहिलो चिज उत्पादन केन्द्र हो ।

जिल्लाको गोसाइँकुण्ड गाउँपालिकामा रहेको पाङ्लेखर्क, चन्दनबारी र लाङटाङ तथा आमाछोदिङ्मो गाउँपालिकाको गत्लाङमा चिज उत्पादन हुँदै आएको छ । वार्षिक ३६ हजार केजी चिज उत्पादन गर्ने क्षमता रहेको भएपनि पर्याप्त मात्रामा दुध संकलन हुन नसक्दा ३४ हजारको हाराहारीमा चीज उत्पादन हुने गरेको केन्द्रहरुले जनाएका छन् ।

गत्लाङ, धुन्चे र चन्दनबारीको केन्द्रमा वार्षिक १० हजार किलो र लाङटाङमा ६ हजार किलो चिज उत्पादन गर्ने क्षमता रहेको छ । जिल्लामा बैशाखदेखि असोज मसान्तसम्म चिज उत्पादन हुने गरेको छ ।

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया