एमाले पालिका अधिवेशनमा जुट्यो

 कात्तिक १, २०७८ सोमबार १६:१९:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आउँदाे मङ्सिर १० देखि १२ गतेसम्म १० औँ राष्ट्रिय महाधिवेशन तय गरेको नेकपा एमालेले यही कात्तिकको पहिलो हप्ता देशभरिका वडा र पालिकाकाे अधिवेशन सम्पन्न गर्दैछ ।

एमालेको असोज १५ देखि १७ गतेसम्म ललितपुरमा भएको पहिलो विधान महाधिवेशनबाट पारित विधानलाई प्रकाशनको तयारीसहित पालिकामा हुने अधिवेशनमा कायम हुने पदाधिकारी सङ्ख्या निर्धारण गरेको छ । एमालेका केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले पारित विधान प्रकाशन भइ चाँडै तल्ला कमिटीमा पठाइने र त्यहीअनुसार अधिवेशन हुने बताउनुभयो । 

एमालेको यही कात्तिक ६ गते देशैभरिका ६ हजार सात सय ४५ वडा र कात्तिक ९ गते सात सय ५३ पालिकामा अधिवेशन भइ नयाँ नेतृत्व चयन हुने एमालेका केन्द्रीय प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो । अधिवेशनमा स्थानीयस्तरमा अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव एक र उपसचिव दुई रहनेछन् । गाउँ/नगरपालिका– ७५, उपमहानगरपालिका– ८५, महानगरपालिका– १०१ सदस्य चुनिनेछन् ।

एमालेले राष्ट्रिय महाधिवेशनअघि असोजभित्र सदस्यता नवीकरण, वडा र पालिकास्तरका अधिवेशनको कार्यतालिका बनाएको थियो । याे पार्टीले २०७५ साल जेठ २ गतेको सदस्यतालाई आधार मानेर एकीकरणका क्रममा आबद्ध भएका सदस्यसमेतको पार्टी सदस्यता नवीकरण अगाडि बढाइने र २०७५ साल जेठ ३ पछि दिइएका नयाँ सदस्यको पनि नवीकरण असोज मसान्तसम्म गर्ने निर्णय गरेको छ । एमालेले आन्तरिक एकताका लागि भएको सहमति बमोजिम १० बुँदे प्रस्तावलाई कार्यान्वयनका लागि उपाध्यक्ष डा. भीम रावलको नेतृत्वको कार्यदल गठन गरेको छ । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया