युरोपेली सङ्घलाई पनि कर बढाउने अमेरिकी राष्ट्रपति ट्रम्पको सङ्केत

 माघ २१, २०८१ सोमबार १८:२५:० | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली सङ्घ (ईयू) का देशहरूबाट आयात हुने सामानमा कर बढाउने सङ्केत गर्नुभएको छ । ट्रम्पले अमेरिकामा आयात हुने ईयूका सामानहरूमा छिट्टै भन्सार शुल्क बढ्न सक्ने बताउनुभएको बीबीसीले जनाएको छ ।

अमेरिकी राष्ट्रपतिले बेलायती प्रधानमन्त्री सर केयर स्टाररसँग राम्रो सम्बन्ध रहेको र बेलायतसँगको व्यापारिक समस्या भने समाधान गर्न सकिने उल्लेख गर्नुभयो । क्यानडा, मेक्सिको र चीनबाट आयात हुने सामानमा नयाँ भन्सार दर घोषणापछि ट्रम्पले ईयूमा पनि कर लगाउने बताउनुभएको हो ।

अमेरिकामा क्यानडा र मेक्सिकोबाट आयात हुने सामानमा २५ प्रतिशत र चीनबाट आउने सामानमा १० प्रतिशत आयात कर शुरू भएको छ । क्यानडाले पनि अमेरिकी उत्पादनहरूमा २५ प्रतिशत कर लगाउने निर्णय गरेको छ । तर अमेरिकी राष्ट्रपति ट्रम्पले क्यानडाले अमेरिकाले लगाएको करको बदला लिएमा क्यानडामाथि थप कर लगाउने चेतावनी दिनुभएको छ ।

यस्तै अमेरिकाले लगाएको करलाई लिएर क्यानडाका केही पसलहरूले अमेरिकी उत्पादनहरू हटाउन शुरू गरिसकेका छन् । यसअघि आइस हक्की र बास्केटबल खेलहरूमा क्यानडेलीहरूले अमेरिकी करको विरुद्धमा नारा लगाएका थिए ।

क्यानडाको नोभा स्कोटियाकी ६७ वर्षीया क्यारोल चान्डलरले सम्भव भएसम्म सबै अमेरिकी उत्पादनहरू बहिष्कार गर्ने  र फ्लोरिडा भ्रमणको योजना पनि रद्द गर्न लागेको बताउनुभएको छ ।

अमेरिकी निर्णयपछि मेक्सिकोले पनि अमेरिकी उत्पादनहरूमा आयात कर लगाउने घोषणा गरेको छ ।

चीनले अमेरिकी कदम विश्व व्यापार सङ्गठनको नियमको प्रतिकूल भएको भन्दै निकै असन्तुष्ट रहेको बताएको छ । चीनले अमेरिकालाई आफ्नो त्रुटिपूर्ण अवधारण सच्याउन र संवादमार्फत समस्याको समाधान गर्न आग्रह गरेको छ ।

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया