‘वडा अधिवेशन हतारमा गरिहालौँ र जाेसुकै नेतृत्वमा आए हुन्छ भन्ने पक्षमा म छैन’

 कात्तिक ३, २०७८ बुधबार १४:१३:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीको वडा अधिवेशन र पालिका अधिवेशन यही कात्तिक ६ गते देशभर एकै पटक गर्ने पार्टीको निर्देशनप्रति असन्तुष्टि जनाउनुभएको छ । 

वाग्मती प्रदेशकी मुख्यमन्त्रीसमेत रहनुभएकी उपाध्यक्ष शाक्यले पार्टीको वडा अधिवेशन हतारमा गरिहालौँ भन्ने पक्षमा आफू नरहेको बताउनुभयाे । आज बुधवार काठमाण्डाैमा आयोजित नेकपा एमाले वाग्मती प्रदेश अधिवेशन आयोजक कमिटीको प्रथम बैठकमा बोल्दै उहाँले वडा अधिवेशन हतारमा गरिहालौँ र जोसुकै नेतृत्वमा आए पनि हुन्छ भन्ने पक्षमा आफू नरहेको बताउनुभयो ।

नेकपा एमालेले पार्टीको वडा तथा पालिका अधिवेशन देशभर एकै दिन गर्ने गरी निर्देशन जारी गरिसकेको बेला उपाध्यक्ष शाक्यले हतारमा गर्ने पक्षमा आफू नरहेको प्रतिक्रिया दिनुभएको हो । उहाँले आफूले पार्टीभित्र समूहगत स्वार्थ छिराउन नचाहेको पनि पटक–पटक दोहोर्‍याउनुभयो ।

उपाध्यक्ष शाक्यले भन्नुभयो, ‘अब ६ गतेदेखि वडा तहमा एकै चोटि अधिवेशन, पालिकाहरूको अधिवेशन भन्ने कुराहरू निर्देशनमा आइसकेको छ । सम्पूर्ण कमरेडहरू त्यसका लागि तयार हुनै पर्दछ । त्यतिमात्र होइन वडा कमिटीको अधिवेशन, पालिकाको अधिवेशन भनेको केन्दीय कमिटीको महाधिवेशनभन्दा पनि महत्त्वपूर्ण छ भन्ने मैले ठानेको छु । किन भन्दा यो हाम्रो आधार हो, हाम्रो धरातल हो । वडा अधिवेशन भनेको हाम्रो टेक्ने धरातल हो । हाम्रो पाइला कस्तो ठाउँमा राख्ने ? कहाँ राख्दा बलियो हुन्छ ? भन्ने कुराहरू सोच्ने बेला आएको छ । त्यसैले पालिका र वडा अधिवेशन यो सामान्य हो, केही पनि होइन र हतार हतारमा गरिहालौँ, जोसुकै नेतृत्वमा आए पनि हुन्छ भन्ने पक्षमा म चाहिँ छैन । किन भन्दा यो हाम्रो टेक्ने धरातल भएको हुनाले यहाँभित्र समूहगत स्वार्थ छिर्न दिनु हुँदैन । मैले समूहगत स्वार्थ भनिराखेको छु । पार्टीभित्र यो पनि हाबी भएको छ । समूहगत स्वार्थ छिर्न दिनु हुँदैन । व्यक्तिगत स्वार्थ छिराउनु हुँदैन । आफ्नो पारिवारिक स्वार्थदेखि अनेकौँ स्वार्थहरू हाबी भइराखेको छ । यसो हुने हो भने पार्टीको वडा तह बलियो हुन सक्दैन । सुदृढ हुन सक्दैन ।’

उपाध्यक्ष शाक्यले पार्टीलाई गुटमुक्त बनाउनुपर्ने आवश्यक्ता औल्याउनुभयो । समाजवादको लक्ष्य प्राप्त गर्न र सिङ्गो नेपालको कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्न पनि एमाले गुटमुक्त हुनुपर्ने उहाँको तर्क थियो । उपाध्यक्ष शाक्यले वाग्मती प्रदेशलाई नमुना प्रदेशको रूपमा विकास गर्नुपर्नेमा पनि जोड दिनुभयो । 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया