टी–२० विश्वकप क्रिकेटमा अष्ट्रेलियाकाे विजयी सुरुवात

 कात्तिक ६, २०७८ शनिबार १९:५७:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईसीसी टी–२० विश्वकप क्रिकेटमा अष्ट्रेलियाले विजयी सुरुवात गरेको छ । 

सुपर १२ को समूह ‘ए’ को पहिलो खेलमा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई ५ विकेटले हराएको हो । आबुधाबीमा भएको खेलमा १ सय १९ रनको लक्ष्य पाएको अष्ट्रेलियाले १९ ओभर ४ बलमा ५ विकेट गुमाउँदै भेट्टायो । 

अष्ट्रेलियाका स्टिभ स्मिथले सर्वाधिक ३५ रन बनाए । त्यस्तै मार्कस स्टोइनिस २४ रनमा र म्याथ्यु वेड १५ रनमा अविजित रहे । ग्लेन म्याक्सवेलले १८ रन जोडे । दक्षिण अफ्रिकाका एनरिच नोर्कियाले २ तथा कागिसो रबाडा, तबरेज शाम्सी, केशव महाराजले १/१ विकेट लिए । 

टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १८ रन बनाएको थियो । 

दक्षिण अफ्रिकाका लागि एडेन माक्ररमले सर्वाधिक ४० रन बनाए । कागिसो रबाडा १९ रनमा अविजित रहे । अष्ट्रेलियाका जोश हेजलवुड, एडम जाम्पा, मिचेल स्टार्कले २/२ तथा प्याट कमिन्स र ग्लेन म्याक्सवेलले १/१ विकेट लिए । 

टी–२० विश्वकप क्रिकेटमा आजदेखि सुपर १२ का खेल सुरु भएका हुन् ।

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया