जाजरकोटको दुर्गममा पर्ने बारेकोट गाउँपालिकाले सेवा प्रवाहमा अन्य पालिकालाई उछिन्याे

 कात्तिक ७, २०७८ आइतबार २०:३३:२१ | रासस
unn.prixa.net

जाजरकाेट – जाजरकोटको दुर्गम क्षेत्रमा पर्ने बारेकोट गाउँपालिकाले स्वास्थ्य सेवा प्रवाहमा अन्य पालिकालाई उछिनेको छ ।

स्वास्थ्य सेवा कार्यालयकाअनुसार स्वास्थ्य सेवा प्रवाहलाई आधार बनाइ गरिएकाे समीक्षामा अन्य सात पालिकालाई उछिन्दै बारेकोट एक नम्बरमा आएको छ ।

स्वास्थ्य संस्थामा आएर सुत्केरी हुने दर, पोषणलगायतका ४३ सूचकलाई आधार बनाइ गरिएको समीक्षामा बारेकोटले १०० मा ६१ दशमलव ९२ अङ्क ल्याएर प्रथम भएको हो । त्यस्तै भेरी र नलगाड नगरपालिका क्रमशः दोस्रो र तेस्रो भएका छन्।

भर्खरै मात्र सडक सञ्जालसँग जोडिएको बारेकोटका सबै ठाउँमा सडक पुगेको छैन । पछिल्लो समय जिल्लामा स्वास्थ्य संस्थामा सुत्केरी हुने दर बढेको छ । बढ्दो जनचेतनाका साथै गाउँगाउँमा स्वास्थ्य संस्था स्थापना भएपछि सुरक्षित सुत्केरी हुनेको दर बढेको हो ।

घरमै सुत्केरी हुँदा समस्या आउनेबित्तिकै धामी, झाँक्रीको सहारा लिने स्थानीयवासी अहिले स्वास्थ्यकर्मीको सम्पर्कमा जाने गरेको बारेकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरराज सिंहले जानकारी दिनुभयो । स्वास्थ्य संस्थामा आएर सुरक्षित सुत्केरी भए यातायात खर्चका साथै न्यानो झोला, स्वास्थ्य सामग्रीसमेत उपलब्ध गराउन थालेपछि झन् महत्त्व बढेको हो ।

उहाँका अनुसार स्वास्थ्य संस्थामा नियमित गर्भ जाँच गर्नेको सङ्ख्यासमेत बढेको छ । नलगाड, छेडागाड र शिवालय गाउँपालिकाले एम्बुलेन्स खरिद गरेर सेवा दिइरहेका छन् ।   

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया