सर्लाहीको नवलपुरमा बन्यो नयाँ सबस्टेशन, उद्याेगहरूलाई चाहिँदाे बिजुली दिन सकिने

 कात्तिक ७, २०७८ आइतबार १३:२४:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारको लगानीमा नेपाल विद्युत् प्राधिकरणले सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरमा १३२/३३ केभीको सबस्टेशन निर्माण गरेको छ ।

सर्लाहीको विद्युत् आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन र आउँदा दिनमा खुल्ने नयाँ उद्योगहरूलाई विद्युत् उपलब्ध गराउन निर्माण गरिएको सबस्टेशन हिजाे शनिवारदेखि सञ्चालनमा ल्याइएको छ । सबस्टेशन हिजाे चार्ज गरिएको हो ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबस्टेशन सञ्चालनमा आएसँगै सर्लाहीको विद्युत् आपूर्ति विश्वसनीय हुने र प्राविधिक चुहावट घट्ने बताउनुभयो ।

‘सर्लाहीमा अहिले ढल्केबर र चन्द्रनिगाहपुर सबस्टेशनबाट ३३ केभी लाइनमार्फत विद्युत् आपूर्ति भइरहेको थियो, ३३ केभी लाइन धेरै लामो हुँदा प्राविधिक चुहावट थियो भने विद्युत् आपूर्तिमासमेत अवरोध हुँदै आएको थियो’, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, ‘अब नवलपुर सबस्टेशनबाट सिधै विद्युत् आपूर्ति हुने भएकाले लाइन छोटो हुँदा चुहावट घट्छ, विद्युत् आपूर्ति पनि विश्वसनीय र गुणस्तरीय बन्ने छ, सर्लाहीमा खुल्ने उद्योगहरूलाई पर्याप्त विद्युत् दिन सकिने छ ।’

पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइन नवलपुर सबस्टेशनमा भित्रने (लुप इन) र बाहिरिने (लुप आउट) छ । यही १३२ केभी लाइनबाट नवलपुर सबस्टेशनमा विद्युत् आपूर्ति दिइने छ

सबस्टेशनमा १३२/३३ केभी, ६३ एमभीए र ३३/११ केभी, १६ एमभीए क्षमताका दुई वटा ट्रान्सफर्मर राखिएको छ । यही सबस्टेशनमार्फत सर्लाहीका हरिपुर र मलङ्गवा ३३/११ केभी वितरण सबस्टेशनहरूमा विद्युत् आपूर्ति दिइने छ ।

सबस्टेशनको प्रारम्भिक काम आर्थिक वर्ष (आव) २०७४/७५ र मुख्य निर्माण आव २०७५/७६ मा सुरु गरिएको थियो । कोभिड–१९ को महामारी कारण उपकरणहरू ल्याउन नसक्दा निर्माणमा केही ढिला भएको सबस्टेशन आयोजनाका प्रमुख निरञ्जन साहले बताउनुभयो ।

सबस्टेशन निर्माणको ठेक्का पावर टेक, भारत र वाइबा इन्फ्राटेक, नेपालको संयुक्त उपक्रम (जेभी) ले पाएको थियो । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया