खेलाडीहरूकाे मनाेबल बढाउन मन्त्रालयले नयाँ तरिका अपनाइरहेकाे छ : मन्त्री गहतराज

 कात्तिक ७, २०७८ आइतबार १६:२६:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले खेलाडीहरूको मनोबल बढाउन सरकारले ध्यान दिने बताउनुभएको छ । 

आज आइतवार युवा तथा खेलकुद मन्त्रालयमा बङ्गलादेशको ढाकामा हुने पाँचौँ सेन्ट्रल साउथ एसियन आर्टिस्टिक जिम्न्यास्टिक च्याम्पियनशिप खेल्न बङ्गलादेश जान लागेका खेलाडी तथा प्रशिक्षकहरूको बिदाइ गर्दै मन्त्री गहतराजले खेलाडीहरूको मनोबल बढाउन व्यवस्थापकीय कुराहरूमा मन्त्रालयले ध्यान दिने बताउनुभएको हो । उहाँले खेलाडीहरूको मनोबल बढाउनका लागि मन्त्रालयले नयाँ तरिका र नयाँ पन अपनाइरहेको बताउनुभयो । 

मन्त्री गहतराजले खेलका बेला मात्रै खेलाडीहरूलाई राष्ट्रका गहना भन्ने र अरू बेला घर फर्काइदिने परिपाटी उचित नभएको बताउँदै यो परिपाटीलाई सरकारले गम्भीरताका साथ लिने र खेलकुद क्षेत्रको प्रगतिमा मन्त्रालय लागिपर्ने बताउनुभयो । उहाँले नेपालीहरू कहिल्यै कसैको अधिनमा नबसेको र वीर गोर्खालीहरूको देश भएकाले खेलाडीहरूले त्यसलाई मनमा राखेर शक्ति र साहसका साथ खेल्न हौसला दिनुभयो ।

उहाँले भन्नुभयो, ‘खेलाडीलाई खेल खेल्ने बेला, प्रतियोगिताका बेला उनीहरूलाई इमोशनमा लिनका लागि दुई महिनासम्म भएभरका विवसन दिने खेल सकिएपछि तिमीहरू बाबुआमाका छोराछोरी हौ भनेर घर पठाइदिने अनि कसरी हामी त्यसबाट राम्रो रिजल्ट ल्याउन सक्छौँ ? यो प्रश्न हामीले आफैँतिर, व्यवस्थापकतिर फर्काएका हौँ, खेलाडीतिर होइन ।’

मन्त्री गहतराजले खेलाडीहरूले नेपाली माटो र गौरव गाथालाई सम्झिएर खेल्न आग्रह गर्नुभयो । उहाँले अबको ध्येय जित भएको बताउँदै आँट र साहसका साथ खेलेको देख्न र उपाधि नेपाल ल्याउने आशमा आफू र देश रहेको भन्दै जितको स्वागतका लागि मन्त्रालय तयार भएको बताउनुभयो ।

बङ्गलादेशको ढाकामा हुने पाँचौँ सेन्ट्रल साउथ एसियन आर्टिस्टिक जिम्न्यास्टिक च्याम्पियनशिपमा सहभागी हुन राष्ट्रिय सिनियर र जुनियर टिमका खेलाडीहरूलाई मन्त्री गहतराजले खादा र अबिर लगाएर बिदाइ गर्नुभएको हो । जिम्न्यास्टिक च्याम्पियनशिपमा सहभागी हुन १२ जना खेलाडी  भाेलि सोमवार बङ्गलादेश प्रस्थान गर्नेछन् ।  

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया