एमाले महाधिवेशन : नारायणी किनारमा उद्घाटन, सौराहामा बन्द सत्र

 कात्तिक ८, २०७८ सोमबार ११:९:१६ | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ - नेपाल कम्युनिस्ट पार्टी (एमाले) को १० औँ महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनार नारायणगढ र बन्द सत्र सौराहामा हुने भएको छ । आउँदो मङ्सिर १० देखि १२ गतेसम्म हुने महाधिवेशनका लागि चितवन जिल्ला कमिटीले दुई ठाउँ सिफारिस गरेको हो ।

एमाले चितवनका अध्यक्ष पार्वती रावलले महाधिवेशनको तयारी सुरुआत भएको जानकारी दिनुभयो । यसका लागि ठाउँको स्थलगत अवलोकन गर्ने काम भइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, 'महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनार र बन्द सत्र सौराहामा गर्ने गरी केन्द्रलाई आज सिफारिस पठाउँदै छौँ ।'

उद्घाटन सत्रमा पाँच लाखभन्दा बढी जनसहभागिता हुने भएकोले नारायणी नदी किनारको खुल्ला ठाउँ छनोट गरिएको उहाँको भनाइ छ । सर्वसाधारणलाई सहज हुने गरी त्यही ठाउँ उद्घाटन सत्रका लागि उपयुक्त हुने रावलले बताउनुभयो । यस्तै महाधिवेशन प्रतिनिधि अधिकांशलाई सौराहामा आवासको व्यवस्था हुने भएकाले बन्द सत्र त्यही ठाउँमा गर्न सहज हुने गरी सिफारिस गर्न लागिएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, 'महाधिवेशन प्रतिनिधि अधिकांशलाई हामीले सौराहामा आवासको व्यवस्था गर्दै छौँ, त्यही बन्द सत्र भयो भने सहज हुन्छ।'

अधिवेशनकै सन्दर्भमा हिजाे नारायणी नदी किनार र सौराहाको स्थलगत अवलोकन गरिएको अध्यक्ष रावलले जानकारी दिनुभयो । एमाले नेता सुरेन्द्र पाण्डे, काशीनाथ अधिकारीलगायतकको उपस्थितिमा अवलोकन गरिएको हो । यस्तै पार्टीका नेताले सौराहाका होटल व्यवसायीसँग महाधिवेशनको उपयुक्त ठाउँको बारेमा छलफल भएको जनाइएको छ।

व्यवसायी सकारात्मक रहेको र सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको उहाँले जानकारी दिनुभयो । यसैगरी आइतवार नै जिल्लाका सुरक्षा निकायका प्रमुखसँग पनि महाधिवेशनका सन्दर्भमा छलफल भएको छ ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया