अलमुताइरी नेपाल फर्किने पक्का, एन्फासँग नयाँ सम्झाैताका लागि तयार

 कात्तिक १०, २०७८ बुधबार १६:१०:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली राष्ट्रिय फुटबल टाेलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपाल फर्किने पक्का भएकाे छ । अलमुताइरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फासँग) नयाँ सम्झाैता गर्न सहमत भएका हुन् । 

एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एसाेसिएशन (क्यूएफए) पदाधिकारीसँगको भेटपछि आफू एन्फासँग नयाँ सम्झाैता गर्ने निर्णयमा पुगेकाे अलमुताइरीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । 

आफूलाई नेपाल फर्काउनका लागि सहयाेग गर्ने सबैलाई अलमुताइरीले धन्यवाद भनेका छन् । 

‘नयाँ मिसनमा सफलताको कामना गर्दछु । हामी हाम्रो लक्ष्य र आउँदाे दुई वर्षको योजना छिट्टै प्रकाशित गर्नेछौँ, मेरो वाचा नेपाली फुटबलको भविष्य राम्रो हुनेछ तर हामीलाई समयमात्र चाहिन्छ’, अलमुताइरीले सामाजिक सञ्जालमा भनेका छन् । 

यसअघि माल्दिभ्समा भएको साफ च्याम्पियनशिप फुटबलकाे फाइनलमा भारतसँग फाइनल खेल्नुअघि उनले नेपाली टाेलीसँग याे नै अन्तिम खेल हुने र नेपाल नफर्कने बताएका थिए । त्यसपछि अलमुताइरीलाई नेपाल फर्किन अनुराेध गर्दै एन्फा अध्यक्ष शेर्पा र महासचिव इन्द्रमान तुलाधारले माल्दिभ्सम पुगेका थिए । 

त्यसपछि पनि नेपाली टाेलीसँग नफर्की कतार गएका अलमुताइरीलाई भेट्न एन्फा अध्यक्ष र महासचिव उतै गए । यसबीचमा क्यूएफएसँग छलफल गरेपछि उनले नेपाल आउन सक्ने सङ्केत गरेका थिए । 

गएकाे चैतमा अलमुताइरी क्यूएफएकाे सहयोगमा एक वर्षका लागि नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक नियुक्त भएका थिए । त्यसपछि जुनमा उनीसँग सन् २०२२ सेप्टेम्बरसम्म नयाँ सम्झाैता गरेकाे एन्फाले जनाएकाे छ । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया