बेनी–जोमसोम सडक खण्ड आजदेखि दैनिक १० घण्टा बन्द हुने

 कात्तिक १२, २०७८ शुक्रबार ७:३०:५८ | रासस
unn.prixa.net

फाइल तस्बिर

म्याग्दी - बेनी–जोमसोम–कोरला सडक खण्ड स्तरोन्नति गर्न आजदेखि दैनिक १० घण्टा बन्द हुने भएकाे छ ।

नियमित सडक सञ्चालन गर्दा विस्तारमा समस्या भएपछि आज बिहानदेखि अर्को सूचना जारी नहुँदासम्म गाडी बन्द र काम गर्ने गरी बिहान तथा दिउँसो गरी दैनिक १० घण्टा सडक बन्द हुने जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

सडक स्तरोन्नतिका लागि मुस्ताङको सिमानामा पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको काभ्रेभिरमा मर्मत र गाडी एकसाथ आवतजावत गर्न नसक्ने तथा चलाउँदा पनि अत्यन्तै जोखिमयुक्त हुने भएकाले जोखिमबाट सम्भावित दुर्घटना रोक्न गाडी आवागमन बन्द गर्नुपरेको प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बताउनुभयो ।

उहाँका अनुसार दैनिक बिहान ७ बजेदेखि ११ बजेसम्म तथा दिउँसो १ देखि ५ बजेसम्म गाडी सञ्चालन रोकेर सडक स्तरोन्नतिको काम गरिनेछ । त्यस्तै बेलुकी ७ देखि बिहान ७ बजेसम्म र दिउँसो ११ देखि १ बजेसम्म बाटो खुला रहनेछ । यस समयमा ठूला गाडीलाई रुप्से आसपासका क्षेत्रमा रोक्न र पैदलयात्रीलाई पारिबाट गन्तव्यमा पुग्ने गरी वातावरण बनाउन आवश्यक सहयोग गर्ने उहाँले बताउनुभयो ।

काभ्रेभिर बेनी–जोमसोम सडकको जोखिमयुक्त सडक पनि हो । हरेक वर्ष नेपाली सेनाको सहयोगमा विस्फोटक पदार्थको प्रयोग गरी सडक चौडा गर्ने कामसमेत हुँदै आएको छ । भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले ७६ किलोमिटर लामो बेनी–जोमसोम सडकको काम पछिल्लो समय तीव्र गतिमा अगाडि बढाइएको छ ।

झण्डै छ अर्ब रुपैयाँ लागतमा बन्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजना २०७४ सालदेखि निर्माण सुरु गरिएको हो ।

अन्तिम अपडेट: मंसिर २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया