गाडी यात्राको खुद्रे कुरा : चकलेट खाने कि हप्की !

 कात्तिक १३, २०७८ शनिबार ९:३१:५० | मिलन तिमिल्सिना
unn.prixa.net

राजेन्द्रले मुख्यमन्त्रीको शपथ खाए पनि आफूले खाने त भातै मात्र हो । चोलेन्द्रले राजीनामा नदिए पनि आफूले दिने केही छैन, राजीनामा झन् कतै क्यै गरिराखेको भा पो दिनु ! आफू परियो आम मान्छे, खानै पर्यो, हिँड्नै पर्यो, बस चढ्नै पर्यो, बजार गर्नै पर्यो । अस्तिताकासम्म बसभित्र बस्ने त के उभिने ठाउँसम्म पाउन मुश्किल पर्थ्याे । अहिले त बसमा दुई, चारवटा बस्ने सिट पनि खाली देखिन्छ । अचम्म मान्दै भित्र पसेर हेर्दा ढोकामा ठूलो अक्षरमा नयाँ भाडादर टाँसिएको रहेछ । पहिलेभन्दा सरदर ३० प्रतिशत बढेको । पहिले १५ रुपैयाँ हुने ठाउँमा १८ रुपैयाँ, २० रुपैयाँले हुने ठाउँमा २७ रुपैयाँ । 

घरबाट निस्कँदा गाडीभाडा भनेर छुट्याएको १५ रुपैयाँमा अर्को तीन रुपैयाँ थप्नुपर्यो । गोजीमा हेरेको तीन रुपैयाँको खुद्रा नै भेटिँदैन । ३ रुपैयाँको एउटै नोट पनि हुँदैन । २ रुपैयाँ र एक रुपैयाँ जम्मा पारेर तीन रुपैयाँ बनाउनुपर्ने भो। तर एक र दुईको नोट देख्न नपाएको वर्षाैँ भइसक्यो । कहिलेकाहीँ भेटिने सिक्का पनि खुत्रुकेमा राख्न र पूजाआजामा गौदान गर्न मात्रै काम लाग्छ, बोकेर हिँड्ने बानी हराइसक्यो। 

त्यसमाथि सिक्का बोकेर हिँड्नै गाह्रो । पर्समा राख्दा पर्स नै प्वाल परेर हराउने डर, झोलामा राख्दा झोलाभित्रै कुन कुनामा गएर बस्छ, चाहिने बेलामा भेट्टाउनै मुश्किल । सर्टको गोजीमा राखौँ भने हिँड्दा ट्याङट्याङ बजेर हैरान । पाइन्टको पछिल्तिर गोजीमा राख्दा बस्ने बेलामा असजिलो । हातमा बोकेर हिँड्न पनि नहुने । त्यसैले सिक्का साथमा हुने कुरै भएन । पहिलो कुरा बजारमा एक र दुई रुपैयाँको सिक्का नै पाइँदैन, दोस्रो पाइहालेमा पनि बोकेर हिँड्न अप्ठ्यारो ।

एक र दुई रुपैयाँ नभेटिएपछि कि त पाँच रुपैयाँ खोजेर १५ मा ५ थप्न पर्ने भयो, कि त दशका दुईटा नोट मिलाएर २० रुपैयाँ बनाउनु पर्ने भयो । जसोतसो २० रुपैयाँको जोगाड गरेर मनमनै गमियो यति दिएपछि सहचालकले २ रुपैयाँ त फिर्ता देलान् नि ! हातमा १० को दुईवटा नोट चेपेर बसिरहेको बेला ‘खै भाडा दिनुस् त’ भन्दै सहचालक आइपुगे । त्यही १० को दुईवटा नोट दिएर हात तेर्स्याएर बसेको त सहचालक फर्केर पनि हेर्दैनन् । २० रुपैयाँ नै हातमा बोकेर पछिल्तिर लागे ।

‘ए भाइ खै त फिर्ता दिएको ?’

‘के फिर्ता माग्नुभएको दाइ ?’

‘दुई रुपैयाँ नि । भाडा त १८ रुपैयाँ हैन र ? खै दुई रुपैयाँ देउ ।’

‘दुई रुपैयाँ त भए पो दिनु ।’

‘हुनु पर्यो नि भाइ । सिधै दुई रुपैयाँ खान त भएन नि ।’

‘लौ तपाईंसँग खुद्रा भए मिलाएर दिनुस्, मसित त छैन । नभएपछि दुई रुपैयाँ बढी लिनै पर्यो । सबैसँग यसैगरी लिएको हो ।’

आफूसँग पनि थिएन । दुई रुपैयाँ जुवा नै खेलिएछ भनेर चित्त बुझाउन बाध्य भइयो ।

बजारमा काम सकिएपछि फेरि गाडी चढ्नुपर्ने भयो । योपालि चाहिँ अलि टाढैसम्म पुग्नुपर्ने, न्यूनतम १८ रुपैयाँले नभ्याउने ठाउँमा । त्यो बसमा पनि नयाँ भाडादर टाँसिएको रहेछ । झर्ने ठाउँको न्यूनतम भाडा २७ रुपैयाँ । अघि १८ रुपैयाँ लाग्ने ठाउँमा २० रुपैयाँ तिरियो, दुई रुपैयाँ गाडीवालालाई बढी भयो । अब यहाँ २७ रुपैयाँ लाग्ने ठाउँमा २५ रुपैयाँ तिरेपछि अघिको दुई रुपैयाँ यताबाट असुल हुन्छ । गाडीवालाले १८ रुपैयाँ लाग्ने ठाउँमा २० रुपैयाँ लिएपछि २७ रुपैयाँ लाग्ने ठाउँमा पक्कै पनि २५ रुपैयाँ लिन्छन् होला । कतै यात्रुबाट दुई रुपैयाँ बढी, कतै दुई रुपैयाँ कम । हिसाब बराबर । समग्रमा यात्रु र गाडीवाला दुवैलाई न्याय । आफ्नो सोझो हिसाबमा मख्ख पर्दै हातमा २० र ५ को नोट लिएर बस्दै गर्दा सहचालक उसैगरी भाडा उठाउँदै आए । अघि नपाएको दुई रुपैयाँ असुल गर्न पाइयो भनेर मख्ख पर्दै २० र ५ को नोट दिएको त सहचालकले खाउँलाझैँ गरेर आँखा तरे ।

‘खै ५ रुपैयाँ पुगेन ।’ 

‘कसरी ५ रुपैयाँ पुगेन भाइ, भाडा त २७ रुपैयाँ हो नि ।’

‘अनि यो २७ रुपैयाँ भयो त ? २० र ५ गरेर २५ भयो । कि खुद्रा मिलाएर २७ रुपैयाँ दिनुस्, हैन भने अरुले झैँ ३० रुपैयाँ नै दिनुस् ।’

‘अघि १८ रुपैयाँ लाग्ने ठाउँमा २० रुपैयाँ दिएपछि यता २७ रुपैयाँ लाग्ने ठाउँमा २५ रुपैयाँ दिँदा ठिक हुन्छ नि भाइ । मलाई उता घाटा, यता फाइदा, तर हिसाब बराबर ।’

‘तपाईँलाई मात्र हिसाब बराबर भएर हुन्छ ? हामीलाई हुन पर्दैन ? अघि तपाईँले मलाई दिनुभएको हो र २० रुपैयाँ ।’

‘मैले नदिएको भए पनि अरु यात्रुले त दिए होला नि । तिमीले पक्कै फिर्ता दिएनौँ । १८ रुपैयाँको सट्टा २० रुपैयाँ लिएपछि २७ रुपैयाँको सट्टा २५ रुपैयाँ लिनुपर्यो नि । तिमीहरुलाई पनि हिसाब बराबर, यात्रुलाई पनि हिसाब बराबर ।’

‘त्यस्ता कुरा थाहा छैन दाइ हामीलाई । हामीलाई तोकेको भाडाभन्दा थोरै लिन आउँदैन, बढी लिन त मिल्दैन, तर फिर्ता गर्ने पैसा नभएपछि के गर्नु ?’

'एकछिन तर्कवितर्क र भनाभन भयो । मेरो केही लागेन । केही जोर नचल्ने भएपछि ५ रुपैयाँको नोट झिकेर दिनैपर्यो । ‘खै लेउ मलाई ३ रुपैयाँ ।’

‘३ रुपैयाँ त भए पो दिनु । लौ बरु यो चकलेट छ खानुस्।’

‘मलाई चकलेट के काम ? पैसा देउ।’

‘खुद्रा पैसा त छैन दाइ, लिए यो चकलेट लिनुस्, नभए धेरै किचकिच नगर्नुस्।’

गाडीवालासँग किचकिच गरेर पनि साध्य नलाग्ने । लौ तिम्रो चकलेट पनि चाहिएन, खुद्रा पैसा पनि चाहिएन । बरु पैदल हिँडिन्छ, खुद्राको खुद्रा कुरा नसकिँदासम्म तिम्रा गाडी पनि चढिन्न!

अन्तिम अपडेट: मंसिर ६, २०७८

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया