राहदानी वितरणको काम पूर्ण रूपमा सञ्चालन हुन अझै केही दिन लाग्ने
मंसिर १०, २०८१ सोमबार
बाग्लुङ - दुई वर्षअघिसम्म घरमा भएको दूध मोही बनाएपछि मलखादमा फाल्ने भीमनाथ शर्माले अहिले दूधको बिक्रीबाट घर खर्च चलाउने आम्दानी गर्नुहुन्छ । बाग्लुङको बरेङ गाउँपालिका–१ धुल्लुबास्कोटमा रहेको उहाँको गोठमा बाँधिएका दुई दुहुना भैँसी उहाँका आम्दानीका स्रोत हुन् ।
दूधको बिक्रीबाट भएको आम्दानीले भीमनाथ र उहाँको गाउँका किसान उत्साहित छन् । दक्षिण बाग्लुङमा भनाइ छ, ‘रसिलो भैँसी खोज्न चित्रे धुल्लु जानू !’ धुल्लुबास्कोटका धेरै किसानले रसिलो अर्थात धेरै दूध दिने भैँसी पाल्छन् । वन तथा चरन क्षेत्र राम्रो रहेकाले यहाँ पाडापाडी हुर्काउने चलन पनि छ । यहाँका किसानको मुख्य आम्दानीको स्रोत नै दूध, पाडापाडी र मकैबाली हो ।
उहाँजस्तै धुल्लुबास्कोटका धेरै किसानले दही मथेपछि मोही मलखादमै मिलाउँथे । अहिले धेरैको दैनिकी फेरिएको छ । गएकाे असारको १ गतेदेखि यहाँका किसानले उत्पादन गरेको दूध कुश्माबाजरबाट पातीचौरसम्म पुग्यो । असार १ गतेको बाढीपहिराेका कारण सडक बन्द भएपछि अहिले यहाँका किसानले गाउँमै दूध बिक्री गर्छन् ।
'यहाँबाट एक क्यान दूध पातीचौरसम्म पुर्याइयो, असारयता बन्द छ', लिउँवा समाज सुधार कृषि तथा पशुपालन समूहका अध्यक्षसमेत रहनुभएका शर्माले भन्नुभयो, 'अब हाम्रो योजना पोखरा दूध पठाउने हो ।' एक क्यान दूधमा ४० लिटरमात्रै जान्छ । ढुवानी धेरै लाग्ने भएकाले दूधको मात्रा बढाएर बिक्रीका लागि समूहले पहल थालेको छ । पोखरामा दूध पाउडर बनाउने एक कम्पनीसँग समूहले कुराकानी गरिरहेको भन्दै शर्माले सिधा पोखरा पठाउँदा दूधको मूल्य थप पाइने आशा व्यक्त गर्नुभयो ।
जैमिनी नगरपालिकाको कुश्मीशेरामा रहेको दुग्ध उत्पादक सहकारीसँग समन्वय गरेर यहाँको दूध बजार जाने गरेको थियो । किसानबीचको समन्वयले दुर्गमको दूध बजारीकरणमा सहज भएको शर्माले बताउनुभयो । कृषि उत्पादन कम हुने बरेङमा पशुजन्य उत्पादन निर्यातका लागि योग्य उत्पादन हुन् ।
'हामी गुजारामुखी व्यवसायमा थियौँ, अहिले दूधमा आत्मनिर्भर भएर निर्यात हुन थालेको छ', गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले भन्नुभयो, 'यो गाउँपालिकाका लागि खुशीको कुरा हो । हाम्रो कार्यकालको महत्त्वपूर्ण उपलब्धि पनि ।' स्थानीय बजारमा समेत दूधको खुलेर बिक्री वितरण हुने वातावरण पछिल्लो दुई वर्षयता मात्रै भएको हो । सडकलगायतका कारण निर्यात हुन नसकेको समयमा समेत यहाँका किसानको दूध स्थानीय बजारमा बिक्री भइरहेको छ ।
किसानलाई गाउँपालिकाले सहयोग गरेको छ । दूधको बजारीकरणमा समेत गाउँपालिका किसानको साथमा रहने अध्यक्ष शर्माले बताउनुभयो । 'हामीले कार्यक्रम बनाउँदा होस् वा बजेट विनियोजन गर्दा किसान प्राथमिकतामा रहे', उहाँले भन्नुभयो, 'रोजगारीसमेत सिर्जना हुने गरी काम गरेका समूहलाई सघाइरहेका छौँ ।' किसानलाई तालिम, औषधि, गोठसुधार र नश्ल सुधारलगायतका कार्यक्रममा गाउँपालिकाले सघाउने गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।