हिमालको काखैमा पुगेका लमजुङका घुम्ती गोठ बेसी झरे

 कात्तिक १८, २०७८ बिहिबार १९:१३:२४ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – चिसो बढेसँगै हिमालको काखैमा पुगेका लमजुङका भेडीगोठ बेसी झरेका छन् । माथिल्लो क्षेत्रमा चिसो बढेकाले सबै भेडीगोठ अहिले बेसी झरिसकेका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङका प्रमुख डा. रूपेश श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँका अनुसार भदौदेखि कात्तिक मसान्तसम्ममा सबै भेडीगोठ बेसी झरिसक्छन् । चिसो मौसम सुरु भएसँगै माथि लेकमा चरनको अभाव हुने भएकाले यो समयमा भेडीगोठ बेसी सारिन्छन् ।

उहाँका अनुसार चिसो मौसममा लेकमा हिउँ पर्छ । हिउँले घाँस पुर्छ । चिसोमा चरनको अभाव हुनुका साथै भेडी गोठालालाई पनि बस्न असहज हुन्छ । ‘त्यसैले गर्मी मौसममा भेडीगोठ लेक उक्लन्छन् । चिसोमा भेडीगोठ बेसी झर्छन्’, उहाँले भन्नुभयो ।

जग्गाधनीलाई पैसा तिरेर, मल दिएर भेडी गोठालाहरूले बेसीमा रहेका जग्गामा भेडीगोठ राख्छन् । ‘बेसी सारिएका भेडीगोठ चैतदेखि बिस्तारै लेक उक्लन्छन् । जेठसम्ममा भेँडीगोठ हिमालको काखैमा पुग्छन्’, डा. श्रेष्ठले भन्नुभयो ।

घुम्ती गोठमा पालिएका गाई–भैँसी, भेडा–बाख्रा चराउँदै लमजुङका गोठालाहरू बर्सेनि बौद्ध हिमाल, माछापुच्छ्रे हिमाल, मनास्लु हिमाल, हिमचुली हिमाल, लमजुङ हिमाल लगायतका थुप्रै हिमालको काखैमा पुग्छन् ।

घुम्ती भेडीगोठहरू चार हजार मिटर उचाइसम्ममा पुग्छन् । घुम्ती गाई–भैँसी गोठ भने तीन हजार मिटर उचाइसम्म मात्रै पुग्छन् । 

परम्परागत रूपमा घुम्ती भेडीगोठमा भेडा पाल्ने परम्परा लमजुङमा अझै कायमै छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार लमजुङको भोजे, पसगाउँ, घनपोखरा, घेर्मु, ताघ्रिङ, बाहुनडाँडा, भूलभूले, फलेनी, वन्सार, पाचोक गौँडा, कोल्की, इलमपोखरी, दूधपोखरी लगायतका ठाउँमा घुम्ती भेडीगोठ रहेका छन् ।

डा. श्रेष्ठका अनुसार लमजुङमा ९० वटा घुम्ती भेडीगोठ रहेका छन् । ती भेठीगोठमा झन्डै १५ हजार ‘वरुवाल’ जातका भेडा रहेका छन् भने झन्डै ६ हजार ‘सिन्हाल’ जातका बाख्रा पालिएका छन् ।

घुम्ती भेडीगोठमा पालिएका भेडाहरूबाट वार्षिक दुई सय मेट्रिक टन मासु उत्पादन हुने गरेको छ । जिल्लामा भेडाको मासु बिक्रीबाट मात्रै वार्षिक झन्डै १२ करोड रुपैयाँ आम्दानी हुँदै आएको छ । उत्पादित भेडाको मासु काठमाण्डौ, पोखरा, चितवनलगायतका सहरमा पुग्छन् ।

विज्ञ केन्द्रका अनुसार लमजुङमा वार्षिक झन्डै ६ देखि १० हजार केजीसम्म उन उत्पादन हुँदै आएको छ । उन बिक्रीबाट मात्रै वार्षिक १२ लाख रुपैयाँभन्दा बढी आम्दानी हुँदै आएको छ । उनबाट केही स्थानीयवासीले बक्खु तथा राडी–पाखी बनाएर राम्रो मूल्यमा बिक्री गर्दै आएका छन् । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया