खानपानमा ध्यान दिए जाडो याममा हुने विभिन्न सङ्क्रमणबाट बच्न सकिन्छ – डाक्टर

 कात्तिक २१, २०७८ आइतबार ८:२६:७ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्बिर

काठमाण्डाै - जाडो याम सुरु भएसँगै मौसममा आउने परिवर्तनका कारण स्वास्थ्य समस्या देखिने भन्दै खानपानमा ध्यान दिन डाक्टरले  ‍सुझाव दिएका  छन् ।

अहिले ज्वरो र रुघाखोकीको समस्या बढ्दै गएको छ । राइनो भाइरस कुनै सङ्क्रमित व्यक्तिले खोक्दा ,बोल्दा, हाछ्यु गर्दा हावाका माध्यमबाट अर्को व्यक्तिमा सर्ने गर्दछ ।

जाडोमा यी भाइरस बढी सक्रिय रहने जनरल फिजिसियन डा. लोचन कार्कीले बताउनुभयो । यो भाइरसले विशेष गरी बालबालिका र ज्येष्ठ नागरिकलाई बढी असर गर्ने गरेको छ । रुघाखोकीलाई सामान्य रूपमा सोचेर बेवास्ता गरे निमोनिया पनि हुन सक्ने डाक्टर कार्कीले बताउनुभयो । 

डाक्टरका अनुसार जाडो याममा बालबालिका र ज्येष्ठ नागरिक निमोनियाको उच्च जोखिममा हुन्छन् । याे बेला पिनासका बिरामी पनि बढी भेटिन्छन् । नाकको छेउमा हावाले भरिएको ठाउँ हुन्छ । चिसोका कारण नाकभित्रको पानी बाहिर निस्कन नसकी त्यहीँ ठाउँमा बस्छ । यसरी पानी भरिएपछि नै पिनास हुने डा.कार्की बताउनुहुन्छ । 

यस्तै, छालाको एलर्जीले पनि जाडो याममा धेरैलाई दुःख दिने गर्दछ । जाडो याममा पानीको मात्रा कमी भएका कारण छाला सुख्खा हुने गर्दछ । जसका कारण छाला चिलाउने, ओठ फुट्ने, कुर्कुच्चा फुट्ने, जस्ता छालामा समस्या आउने डा. कार्की बताउनुहुन्छ ।

दम, मुटु रोगका बिरामीलाई पनि जाडो याममा थप समस्या बढ्ने उहाँले बताउनुभयो । जाडो याममा श्वास नलीहरू खुम्चने भएका कारण श्वास फेर्न समस्या हुने डा. कार्की बताउनुहुन्छ । 

यस्तै, जाडो याम सुरु भएसँगै बाथ र जोर्नीको दुखाई पनि धेरैलाई हुन्छ । टन्सिल पनि चिसो याममा धेरै निम्तिने समस्या हो । चिसोका कारण हुने टन्सिलबाट बच्न तातो पानी, झोलिलो पदार्थको नियमित खानु पर्ने डाक्टरको भनाई छ । 

जर्नल फिजिसियन डाक्टर लोचन कार्कीका अनुसार जाडो याममा देखिने धेरै रोगका समाधानको उपाय भनेको नै खानपानमा ख्याल गर्नु हो । जाडो याममा तातो कुरा धेरै खानु पर्ने र शरीर छोपिने बाक्ला लुगा लगाउनाले नै यी समस्याहरू हट्न हुन सक्ने उहाँले बताउनुभयो ।

जाडो याममा पानी कम पिउँदा यस्ता समस्या आउन सक्ने भएकाले तातो पानी प्रशस्त पिउन उहाँको सुझाव छ । यस्तै, तातो झोलिलो पदार्थ र गेडागुडी पनि खान डाक्टरको सुझाव छ ।

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया