विश्व शौचालय दिवस : नेपालमा अझै पनि ५ प्रतिशत नागरिक शौचालयको प्रयोगबाट वञ्चित

 मंसिर ३, २०७८ शुक्रबार ९:२१:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज विश्व शौचालय दिवस । ‘शौचालयको उपयोगिता’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी दिवस मनाइँदैछ ।

विश्वमा हरेक वर्ष नोभेम्बर १९ तारिखमा यो दिवस मनाउने गरिएको छ । तर, दिवस मनाइरहे पनि नेपालका ५ प्रतिशत नागरिक अझै शौचालयको पहुँचमा पुग्न सकेका छैनन् । सरकारले २०७६ साल असोज १३ गते नै नेपाललाई खुला दिसा मुक्त देश घोषणा गरे पनि अझै पनि ५ प्रतिशत नागरिक शौचालयको पहुँच भन्दा बाहिर रहेका हुन् ।

बढ्दो सहरीकरण र जनसङ्ख्याका कारण सार्वजनिक शौचालयको आवश्यकता बढेको छ । तर व्यवस्थित सार्वजनिक शौचालय नहुँदा आम नागरिकले समस्या भोग्दै आएका छन् ।

सुरक्षित शौचालय नहुँदा झाडापखाला, हैजा जस्ता सरुवा रोगको जोखिम हुन्छ । शौचालयको राम्रो व्यवस्थापन र उपयोग गर्न सकेमा यस्ता सङ्क्रामक रोगबाट जोगिन सकिन्छ । शौचालयको प्रयोगपछि साबुन पानीले राम्ररी हात धुनुपर्छ । 

काठमाण्डौ महानगरमा चालु आर्थिक वर्षभित्र थप १० वटा सार्वजनिक शौचालय बन्ने

जनघनत्व बढ्दै गएको काठमाण्डौ उपत्यकामा नै सार्वजनिक शौचालयको अभाव छ ।

ठाउँठाउँमा सार्वजनिक शौचालय नहुँदा यात्रुले हैरानी खेप्दै आएका छन् । यात्रुको सुविधाका लागि काठमाण्डौ महानगरपालिकाले थप शौचालय बनाउने भएको छ । यो चालु आर्थिक वर्षभित्रमा १० वटा स्मार्ट सार्वजनिक शौचालय बनाउने गरी काम भइरहेको महानगरपालिकाका प्रवक्ता इश्वरमान श्रेष्ठले जानकारी दिनुभयो।

उहाँका अनुसार महानगरपालिकाको वडा नम्बर १०, १३, १५ र वडा नम्बर १८ र १९ को बीचमा शौचालय निर्माणकाे कार्य सम्पन्न भइसकेकाे छ भने ११ मा निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

१४ र २० वडामा शौचालय बनाउने काम सुरु भएको श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै वडा ७, ३१ र ३२ मा छिट्टै निर्माण कार्य सुरु गर्ने तयारी छ । बाँकी अर्को आर्थिक वर्षमा बनाउने कार्ययोजना रहेको प्रवक्ता डङ्गोलले जानकारी दिनुभयो । 

अहिले काठमाण्डौ उपत्यकामा भएका शौचालयको अवस्था नाजुक रहेको स्वीकार गर्दै उहाँले अब सुधारका काम सुरु भएको बताउनुभयो । महानगरपालिकाले पनि स्मार्ट शौचालय अन्तर्गत अटोमेटिक फ्ल्स र त्यहाँ प्रयोग भएको पानी फेरि प्रयोग गर्न मिल्ने बनाउने भएको छ । त्यसमा प्रयोग गर्न आकाशे पानी सङ्कलन गरिनेछ । 

यस्तो शौचालय निर्माणका लागि ३० देखि ३५ लाख रुपैयाँ लाग्ने प्रवक्ता डङ्गोलको भनाइ छ । काठमाण्डौ महानगरपालिकाले सानो स्मार्ट शौचालयका लागि डेढ करोड, मझौलाका लागि दुई करोड र ठूला शौचालयको लागि तीन करोड रुपैयाँ बजेट छुट्याएको छ ।

अन्तिम अपडेट: जेठ ३२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया