व्यङ्ग्य : ओलीको चालामाला र गैँडाको छाला !

 मंसिर ११, २०७८ शनिबार १०:३९:२ | मिलन तिमिल्सिना
unn.prixa.net

सबै जना चितवन चितवन भन्छन्, हैन के छ हो चितवनमा ?

चितवनमा के छैन, सबथोक छ । चितवनमा सबैभन्दा धेरै गैँडा छ, गैँडा! 

गैँडा त अहिले मात्रै भएको हो र ? पहिलेदेखि नै छ नि चितवनमा गैँडा ।

पहिले जङ्गलमा मात्रै थियो, अहिले त एमालेको झण्डा नै समाउने भैसक्यो गैँडाले ।

ए हो र ? गैँडा एमाले भैसक्यो ? 

गैँडा एमाले भएको हैन, एमालेले चाहिँ गैँडालाई एमाले बनाएको हो ।

पहिले पहिले देश नै एमालेमय बनाउँछौँ भन्थे । अब देशलाई एमालेमय बनाउन नसकेर गैँडालाई बनाउन थालेछन् है ।

खै गैँडा पनि महाधिवेशनभरको लागि मात्रै एमाले हुने होला । गैँडा जस्तो बाक्लो छाला भएका मै हुँ भन्नेले त एमाले छाडे, बिचरो गैँडा मात्रै के टिक्ला र ? अहिले एमालेको झण्डा समाउने काम दिएका छन्, हेरौँ कहिलेसम्म समाइरहन्छ गैँडाले एमालेको झण्डा !

भनेपछि चितवनमा गैँडाले एमालेको झण्डा समाउने भइसक्यो ? गैँडालाई झण्डा समाउन लगाउनुको अर्थ चाहिँ के रैछ नि ?

त्यो त समाउन लगाउनेलाई नै सोध्नुपर्ला । एकथरी मान्छेहरु चाहिँ गैँडा पनि लोप हुन लाग्यो, एमालेको कम्युनिस्ट विचार र सिद्धान्त पनि लोप हुन लाग्यो, त्यही भएर र्याङको ठ्याङ मिलाएको भन्छन् । एमालेहरु चाहिँ आफूहरुको छाला गैँडाकै जस्तो बाक्लो, गैँडा जत्तिकै बलवान र अमूल्य भएकाले झण्डा बोक्ने जिम्मा गैँडालाई सुम्पेको भनेर छाती ठोक्छन् ।  मेरो विचारमा चाहिँ एमालेका ओली र गैँडाको छाला उस्तै बाक्लो, चाम्रो र जति घोचे पनि नदर्फरिने भएकाले गैँडा र ओलीको समान स्वभाव र विशेषतालाई मिलाएर गैँडालाई झण्डा समाउन लगाएका होलान् ।

एमाले र गैँडाको सम्बन्ध त अलिअलि बुझियो । अनि  महाधिवेशन भनेको चाहिँ के रैछ नि ? एमालेको नि महाधिवेशन भन्छ, कांग्रेसको पनि महाधिवेशन भन्छ, राप्रपा र माओवादी पनि महाधिवेशन र सम्मेलन भन्छन्। पहिलेपहिले चुनाव भन्थे बुरुकबुरुक गर्थे, अहिले फेरि महाधिवेशन भन्छन्, फुरफुर गर्छन् ।

महाधिवेशन भनेको नि चुनाव जस्तै हो क्या । चुनावमा चाहिँ एउटा पार्टीले अर्को पार्टीलाई तथानाम भनेर आफूले जित्न तँछाडमछाड गर्छन् । महाधिवेशनमा चाहिँ आफूआफूमै गुट बनाएर मारमुङ्ग्री गर्छन् । चुनावले उम्मेदवार छानेजस्तै महाधिवेशनले पार्टीको नेतृत्व छान्छ क्या । 

त्यसो भए महाधिवेशन गर्ने दलहरुको नेतृत्वमा नयाँ आउँछन् त ?

आउन चाहिँ खोज्छन्, तर सक्दैनन् । खुट्टा उचाल्छन्, पछारिन्छन् । एमालेमा पनि आउने ओली नै हुन् । कांग्रेसमा पनि दोहोरिन देउवा नै हुन् । माओवादीमा त प्रचण्डको ठाउँ लिन्छु भनेर आँट गर्ने कोही छँदै छैनन्। महाधिवेशन चाहिँ नयाँ, दोहोरिने चाहिँ पुरानै ।

पुरानै मात्र आउने भए किन महाधिवेशन भनेर यत्रो रमझम र तडकभडक गर्नुपर्यो त ? न कार्यकर्तालाई फाइदा, न नागरिकलाई । तातो न भुत्लोको फर्याफुरुक !

ल फाइदा छ नि, नेतालाई पनि फाइदा छ, कार्यकर्तालाई पनि फाइदा छ।

कसरी फाइदा ?

यस्तो जाडोमा सबै पार्टीको महाधिवेशन हुँदैछ । पहिलो कुरा त महाधिवेशनले जाडो हटाउँछ ।

कसरी ?

भन्छन् नि महाधिवेशनको सरगर्मी भनेर । सरगर्मी भन्नेबित्तिकै गर्मीको याद आउने भयो । जाडोमा गर्मीको याद आउनेबित्तिकै तातो हुन्छ । गर्मी सम्झनेबित्तिकै न्यानो हुन्छ । अनि महाधिवेशनमा नाराजुलुस गर्दै, झण्डा हल्लाउँदै उफ्रन थालेपछि ज्यान तात्छ । कसैकसैले त सित्तैमा तीनपाने सुँघ्न र मासुभात पनि बजाउन पाउँछन् रे । 

अँ, त्यो त हो, अरु फाइदा चाहिँ के हुन्छ नि ?

अर्को फाइदा भनेको नेताहरुका मुख देख्न पाइन्छ, नयाँ नयाँ भाषण, उखान टुक्का र गालीगलौज सुन्न पाइन्छ । कसैले आफूलाई बाहेक अरुलाई गाली गरेको सुन्न पाउनु कम मज्जा हुन्छ ? भाषण सुनेर कुन पार्टीका कुन नेता कतिसम्म गएगुज्रेका रहेछन् भन्ने कुरा थाहा पाइन्छ । भाषण सुनेरै नेताहरुका बारेमा थाहा पाउन र मनोरञ्जन लिन पाइने अवसर सितिमिति कहाँ मिल्छ !

हो त है ?

अरु पनि छन् फाइदा । ल सुन । महाधिवेशनमा सबैले आफ्नो पार्टीको नयाँ सिद्धान्त र नीतिको व्याख्या गर्छन् । देश विकासका कुरा गर्छन् । यसो यसो गरेर नागरिकको हितका लागि काम गर्छु भन्छन् ।

चुनावताका सुनेर बिर्सिसकेको कुरा फेरि सुन्न पाइन्छ । भरेभोलि नै, उतिखेरै सबैथोक भइहाल्छ कि भनेर गदगद हुन पाइन्छ । एकछिन भने पनि सुखी नेपाली र समृद्ध नेपालको सपना देखेर आनन्द लिन पाइन्छ । मनमा सन्तोष हुन्छ । मनमा खुशी र सन्तोष हुनु भनेको मानसिक रुपमा पनि स्वस्थ हुनु हो ।

ए धेरैथोक फाइदा पो रैछ त । त्यसो भए महाधिवेशन त भइरहनुपर्ने पो रहेछ ।

हुन्छ त एमालेको सकिने बित्तिकै राप्रपाको हुन्छ । त्यसपछि कांग्रेसको पनि होला होला जस्तो छ । माओवादीले पनि पुसमै गर्छु भनेको छ । सबैले यही जाडोमा महाधिवेशन गर्नुको कारण नागरिकको दिमाग र ज्यान तताउन खोज्नु नै हो । त्यसमाथि एमालेमा झण्डा बोकेकोलाई पछि राप्रपाले स्वागत गरिहाल्छ । राप्रपाकोमा गएकालाई कांग्रेसले अबिर दलिहाल्छ । कांग्रेसमा भएकोलाई माओवादीले अँगालाेमा बेरिहाल्छ।उनीहरुका लागि सबै नागरिक बराबर । तपाईँ हामी नागरिकलाई पनि फाइदैफाइदा । कहिले यसकोमा सिन्दुर लगायो, कहिले उसकोमा माला पहिरियो । झण्डा बोक्यो, दौडियो । 

हो त ! हामी दल र नेताहरुलाई बेकारमा गाली गर्दा रहेछौँ । उनीहरुले हाम्रै लागि झण्डा फहराउँछन् । बेलाबेला महाधिवेशन र भाषण गर्छन् । हाम्रै लागि अर्कोलाई गाली गरेर आफ्नो जुँगामा ताउ लगाउँछन् । चुनाव गरेर आफैँ जित्ने दाउ गर्छन् । 

त्यसैले हिँड चितवन जाउँ । सित्तैमा रमिता हेरौँ, मनोरञ्जन लिउँ । त्यता सकिएपछि राप्रपा, कांग्रेस र माओवादीको पनि भ्याउनुपर्छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया