विद्यालय चलाउन अदुवा खेती

 मंसिर १२, २०७८ आइतबार ११:२०:४१ | रासस
unn.prixa.net

राेल्पा - विद्यालय चलाउन अदुवा खेती गरेको यहाँ एक सामुदायिक विद्यालयले उत्पादित अदुवा बिक्री गर्न थालेको छ । रोल्पा नगरपालिका–२ देउरालीमा रहेको सरस्वती आधारभूत विद्यालयले विद्यालय परिसरमा उत्पादित अदुवा बिक्री वितरण गर्न थालेको हो ।

'आर्थिक स्राेतकाे अभावका कारण विद्यालय सञ्चालनमा समस्या देखिएपछि अघिल्लो वर्ष रोपिएको अदुवा बिक्री वितरण गर्दै हिँडेका छौँ' विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगबहादुर वलीले भन्नुभयो ।

उहाँका अनुसार उत्पादित अदुवामध्ये आधा कोसेलीको रूपमा वितरण र आधा बजारमा बिक्री गरिने जनाइएको छ । 

'यस वर्ष १० क्विन्टल अदुवा उत्पादन हुने अनुमान गरेका छौँ', विद्यालयका शिक्षक होमबहादुर खड्काले भन्नुभयो  'उत्पादित मध्ये पाँच क्विन्टल निकालिसकेका छौँ, अरु निकाल्न बाँकी छ ।'

विद्यालयले उत्पादित अदुवा सदरमुकाम लिवाङमा रहेका शिक्षण संस्था, अन्य सरकारी तथा गैरसरकारी कार्यालय र व्यापारीलाई कोसेली स्वरुप वितरण गरिरहेको जनाएको छ । विद्यालय आफैँले अदुवा उत्पादन गरेको प्रचारप्रसार गर्न र आर्थिक सहयोग सङ्कलन गर्न कोसेली स्वरुप वितरण गर्दै हिँडेको शिक्षक खड्काको भनाइ छ ।

कोसेली वितरणपछि बचेको अदुवा बजारमा बिक्री वितरण गर्ने योजना बनाएको विद्यालयले स्थायी आयस्रोतको रूपमा अदुवा खेती गरेको जनाएको छ । निजी स्रोतमा काम गर्ने शिक्षकहरुको तलब व्यवस्थापनमा समस्या परेपछि विद्यालयले यस्तो योजना अघि बढाएको हो।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया