सरकारले टी–२० खेलिरहेको छ, एक–दुई बलमा चौका–छक्का लागेन भनेर आत्तिनु पर्दैन : मन्त्री ढकाल

 भदौ २२, २०७५ शुक्रबार १३:५१:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री भानुभक्त ढकालले नयाँ मुलुकी अपराध(संहिता) ऐन संशोधन गर्न सकिने बताउनु भएको छ । 

मुलुकी अपराध(संहिता) ऐनका प्रावधानले प्रेस स्वतन्त्रतामा पार्ने असरबारे अनलाइन पत्रकार संघद्वारा अायाेजना गरिएको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री ढकालले ऐन संशोधनका लागि सरकार उदार रहेको स्पष्ट पार्नुभयो । 

नयाँ मुलुकी एनले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रालाई अंकुश लगाउने काम गरेको भन्ने विभिन्न विचारहरु आइरहेकै बेला मन्त्री ढकालले ऐनमा केही कमीकमजोरी भए त्यसलाई सच्याउन सरकार तयार रहेको स्पष्ट पार्नुभयो । ९ वर्ष लगाएर सर्वसम्मत रुपमा नयाँ कानुन बनेकाले यसमा आग्रह–पूर्वाग्रह नराखिएको बताउनुभयो ।

संविधानमा उल्लेख गरिएका मौलिक हकलाई खण्डित गर्ने तरिकाले नयाँ कानुन आएको भए त्यसलाई संशोधन गर्न सरकार तयार रहेको कानुनमन्त्री ढकालले बताउनुभयो । मन्त्री ढकालले अहिलेको सरकार आलोचना सुन्न नडराउने बताउँदै भन्नुभयो, ‘लोकतन्त्रमा आलोचनाबाट सरकार कमजोर हुँदैन । यसले झन कमजोरीहरु हटाउँछ र लोकतन्त्रलाई बलियो बनाउँछ ।’

उहाँले अहिलेको सरकार आफूले चुनावमा गरेका वाचाहरु पूरा गर्नतर्फ लागेको बताउँदै भन्नुभयो, ‘कसै–कसैले यो सरकारलाई विश्वकपको खेललाई झैँ हेरेका छन् । फाइनल खेलमा पेनाल्टी हान्ने क्रममा बल बाहिर जाँदा जित–हारको फैसला भएँझै अहिलेको सरकारको कामकारबाहीलाई हेर्न हुँदैन । यो सरकार टी–२० क्रिकेट खेलको शैलीमा अगाडि बढेको छ ।’ उहाँले छिट्टै नै नागरिकले अनुभूति गर्नेगरी काम हुने भन्दै अगाडि थप्नुभयो, ‘ एक–दुई ओभर खेल्दैमाकुनै बलमा चौका–छक्का हानिएन भने गेम नै हारिन्छ भन्ने शंका गर्नुपर्दैन ।’

अन्तरक्रिया कार्यक्रममा वरिष्ठ पत्रकार किशोर नेपालले पत्रकारहरुले सरकारले के ऐन बनायो भनेर बहस गर्नुभन्दा पनि आफ्नो पेशामा इमान्दारितापूर्वक लाग्नुपर्ने बताउनुभयो । सरकारले सूचना लुकाउनै खोज्ने भएकाले पत्रकारले त्यो सूचनालाई कसरी खोज्ने भन्नेतर्फ लाग्नुपर्ने बताउनुभयो । विश्वका अधिकांश देशमा रहेका आचारसंहितालाई पालना गर्ने हो भने पत्रकारिता गर्नै नसक्ने अवस्था रहेको बताउँदै पत्रकारले संघर्ष गर्दै सूचना प्राप्त गर्नुपर्ने नेपालको धारणा थियो । 

त्यस्तै नागरिक दैनिकका सम्पादक गुणराज लुइँटेलले अहिले अपराध संहितामा राखिएका कुराहरु देवानी संहितामा राख्दा पत्रकारहरुलाई अप्ठेरो नपर्ने बताउनुभयो । त्यस्तै नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले अहिलेको मुलुकी ऐनले पत्रकारहरुलाई सूचना प्राप्त गर्न र सूचना सम्प्रेषण गर्न कठिन भएकाले ऐन संशोधन नभएसम्म आफूहरुले आन्दोलनलाई निरन्तरता दिने बताउनुभयो ।

त्यस्तै कार्टुनिष्ट समाज नेपालका अध्यक्ष अबिन श्रेष्ठले नयाँ ऐनले गर्दा आफूहरुको सिर्जनामा नै असर परेको बताउनुभयो । मुलुकी अपराध(संहिता) ऐनको दफा ३०६ को उपदफा २(ग) मा ‘व्यङ्ग्य गरी वा अरु कुनै घुमाउरो तवरले कुनै आक्षेप लगाएमा’ गाली बेइज्जती ठहर हुने भन्ने कुरामा अन्योल सिर्जना भएको बताउँदै श्रेष्ठले कार्टुनिष्टको काम नै घुमाउरो पाराले कसैलाई व्यङ्ग्य गर्न नसकिने अवस्था सिर्जना भएको बताउनुभयो । 

त्यस्तै फोटोजर्नालिस्ट क्लब(पीजे क्लब) का अध्यक्ष विकास कार्कीले आफूहरुले फोटो खिच्नुभन्दा पहिले डराउनुपर्ने अवस्था सिर्जना भएको बताउनुभयो । नयाँ अपराध संहिताका कारण प्रत्येक क्लिक र सटमा डराउनुपर्ने अवस्थामा फोटोपत्रकारिता गर्न कठिन भएको श्रेष्ठले बताउनुभयो । 
 

अन्तिम अपडेट: फागुन २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया