नदेखेको डरसित डराउँदा डराउँदै ड्याम्म ....... !

 मंसिर १८, २०७८ शनिबार ९:३४:३१ | मिलन तिमिल्सिना
unn.prixa.net

बल्लतल्ल कोरोना भाइरसलाई छलेर आयु लम्बियो भनेर फुरफुर भैरहेको बेला फेरि मुटु नै थुरथुर हुने गरी मान्छेहरुले कोरोनाको नयाँ रुप देखियो भनेर तर्साइदिए । रोगको डर हटेर भोकको भरमा जिन्दगीले लय समाउँदै गर्दा पुरानै भयले मनमा ढ्याङ्ग्रो ठोक्यो । कोरोनालाई झेल्न र छल्न बाँकी नै रहेछ भन्ने थाहा भएपछि उसैगरी थर्कमान नभइ सुखै पाइएन ।

मुखमा मास्क त छुटेको छैन, तर दुई मिटरको भौतिक दूरी नाप्न बिर्सिसक्यो । दूरी नाप्न मिल्ने ठाउँ पाए पो नाप्नु । तरकारी बजारमा पनि उस्तै भीड, सरकारी अड्डामा पनि उस्तै भीड । न गाडीमा खुट्टा राख्ने ठाउँ, न दलहरुका जुलुसले भाग्न मिल्ने ठाउँ । जता हेर्यो उतै भीड, भीडबाट बच्नै गाह्रो । भीडबाट बच्न नसकेपछि कोरोनाको अर्को रुपबाट कसरी बच्ने ?

घरभित्र बस्दाबस्दा वाक्क भएर बल्लतल्ल फुक्काफाल भएर घरबाहिर निस्कन पाएको । बाहिर निस्कन नपाएर गुम्नै लागेको काम र मामको बाटो बल्लतल्ल मिल्न थालेको । यही बेला फेरि एकथरी मान्छेहरु अर्ति दिन्छन् : अब फेरि पनि घरबाहिर ननिस्केकै राम्रो । अर्काथरीले विज्ञता छाँट्छन् : कोरोना मात्र होइन, यतिबेला प्रदूषणको पनि डर छ, त्यसैले सकेसम्म घरभित्रै बसेको राम्रो ।

बाहिर निस्केपछि एकथरीले कोरोनाको डर देखाए, अर्काथरीले प्रदूषण देखाएर तर्साए । आँखाले नदेखे पनि देखाउनेले डर देखाएपछि डराउनै पर्यो । डर लागेपछि मन काम्यो । कामेको मनले कोरोना सम्झियो । कोरोना सम्झिएपछि ज्यानभरी काँडैकाँडा भएको, देख्दै डरलाग्दो कोरोनाको आकृति आइलाग्यो । मास्क, खोप र स्यानिटाइजरसँग पनि नतर्सने ज्याद्रो, अटेरी । देख्नेबित्तिकै सातो गयो । कता जाउँ, के गरौँ, कसो गरौँ भनेर यताउता दौडिँदै, छेलिँदै बल्लतल्ल मुस्किलले डरलाग्दो कोरोनाबाट एकैछिनलाई छुटकारा मिल्यो ।

कोरोना छलेर अघि बढेको त फेरि सडकमा धुलो र धुवाँको प्रदूषण छ । डाक्टरहरुले प्रदूषणबाट पनि जोगिनु भन्छन् । यतै धुलो, उतै धुवाँ । धुवाँ र धुलोको मुस्लोबाट कसरी फुत्कने ? मुखमा मास्क टम्म कसेर, आँखा चिम्लेर फाल हानेर दौडिएपछि बल्लतल्ल त्यो प्रदूषण पनि कटियो ।

प्रदूषण कटेर अघि बढ्दै जाँदा ठूलो र फराकिलो सडक काट्नुपर्ने भयो । तरकारी भए चुलेसीले काट्न हुन्थ्यो, बाँस भए खुकुरीले काट्न हुन्थ्यो । सडक त खुट्टैले काट्न पर्यो । खुट्टा सडकमा राखौँ यता र उताबाट गाडीको ताँती छुटेको छ । फुटपाथमै उभिँदा पनि गाडीले छोला भन्ने डर छ । यस्तो ठाउँबाट कसरी बाटो काट्ने ? कोरोना र प्रदूषणबाट बल्लबल्ल जोगिएर मात्र के गर्नु, गाडीबाट जोगिन सकेन भने त ठाउँको ठाउँ ठहरै भइन्छ !

निकै पर जेब्राक्रस भेटेपछि खुट्टा कँपाई कँपाई बल्लतल्ल सडक पार गरियो । गाडीले पनि छुन सकेन भनेर मन त्यसैत्यसै मख्ख पर्यो । यहाँ पनि काल काटियो, ज्यान बच्यो । पाइन्टको धुलो टक्टकाउँदै, कमिजको कल्लर मिलाउँदै हिँडिरहँदा सडकको पल्लो छेउमा एकजना साथी भेटिए ।

देख्नेबित्तिकै सोधे : यस्तो चिसोमा लुगलुग काँप्दै कता हिँडेको ?

कता हिँड्नु घरबाहिर हिँड्नै डराइ मर्नु भयो । कोरोनाको अर्को रुप देखियो रे, खोपले पनि नतर्सने खालको । उ नतर्सेपछि आफू तर्सनु परिगो । त्यसैले भागेको ।

भागेर कहाँ जाने ?

घरमा गएर बस्ने नि । 

अनि कति दिन बस्ने ?

हेरौँ यो डरलाग्दो कोरोनाले कहिलेसम्म जिस्काउँछ ?

कोरोनाले त जिस्काउन छोड्दैन भाइ, कति दिन घरभित्रै बसेर साध्ये लाग्छ ? अस्ति नै बस्दैमा अत्यास लागेको हैन र ? सधैँ घरमा बसेर के खाने ? कसरी गुजारा चलाउने ?

साथीले फेरि भोकको डर देखाए । भोकबाट पनि जोगिनुपर्छ, त्योभन्दा पहिले रोगबाट बचौँ भन्दै साथीसँग बिदा मागेर अलि पर पुगेको रेडियोमा समाचार बज्दै रहेछ । समाचार भन्नेले चिसो नामको अर्को डर थपिदिए । खबरमा उनी भन्दै थिए : चिसोको योबेला निमोनियाको जोखिम हुने भएकाले आफ्नो ख्याल गर्न डाक्टरले सुझाव दिएका छन् ।

भनेपछि कोरोनाबाट मात्र बचेर सुख रहेनछ । निमोनियाबाट पनि बच्नुपर्ने रहेछ । वरपर निमोनिया लाग्ने भाइरसले देख्ला कि भनेर डराइडराइ घरभित्र पसियो । दुई/चार दिन भोक खप्ने, बरु बाहिर ननिस्कने गरी आफ्नै मनले सर्वसम्मत निर्णय गरियो ।

कोरोना, प्रदूषण, निमोनिया, दुर्घटनाबाट जसोतसो आजका लागि त बचियो । आज केहीले छुन त के, देख्न पनि सकेनन् । अर्को काल नदेखिँदासम्म अहिलेलाई काल टर्यो । काललाई छकाउने आफ्नो कला सम्झेर आफैँ मख्ख पर्दै पुराना पत्रिका पल्टाउन थालेँ।

पत्रिकामा जुन पाना पल्टायो, त्यतै अर्काथरी डर । डर पनि रोगकै । एउटा पन्नामा लेखिएको रहेछ : धेरै भोको बस्न हुँदैन, ग्यास्टिक हुन्छ । अर्को पन्नामा छापिएको रहेछ : हप्तामा एक दिन भोको बस्नु स्वास्थ्यको लागि फाइदाजनक हुन्छ ।  अर्को पत्रिकामा डाक्टरको कुराकानी रहेछ : स्वस्थ र फुर्तिलो बन्न साँझ बिहान हिँड्नुपर्छ । बिहान बेलुकाको हिँडाइ, बिना पैसाको दबाइ  !

भनेपछि घरभित्र बसेर मात्रै नहुने रैछ, नहिँडे त अर्काथरी रोग पो लाग्ने रहेछ, हैन एकछिन त हिँड्नु पर्यो ।

सोच्दै थिएँ, अर्को पत्रिकामा अर्का डाक्टरले सल्लाह दिएका रहेछन् : यस्तो प्रदूषणको बेलामा हिँड्न हुँदैन, फोक्सोमा असर गर्छ । 

एउटा भन्छ हिँड्नु, अर्को भन्छ नहिँड्नु ।

एउटा भन्छ : अलि टन्न खानुपर्छ, नत्र ख्याउटे र कुपोषण हुन्छ । अर्को भन्छ : धेरै खान हुँदैन, मोटाइन्छ । मोटाएपछि सुगर, प्रेसरको रोगी भइन्छ ।

एकथरीको सल्लाह छ : कोरोनाबाट बच्न मास्क लगाउनुपर्छ । अर्कोतिर हल्ला छ : सधैँभरी मास्क लगायो भने त केटीको पनि जुँगा आउँछ, केटाको त झन् के होला !

एउटाले कोरोनाको डर देखाउँछ, अर्कोले प्रदूषणको । कसैले निमोनियाको त्रास देखाउँछन्, कसैले गोलागानू र ग्यास्टिकको । घरबाहिर निस्के पनि सुख छैन, भित्रै बसिरहे पनि सुख छैन । खाए पनि सुख छैन, नखाए पनि सुख छैन । श्वासबाट लाग्ने रोगबाट बचे मिर्गौला बिगार्ने रोगबाट बच्न मुस्किल । मिर्गौला जोगाए मुटु बचाउन मुस्किल । मुटु र मिर्गौला मात्र बचाएर पनि नहुने आँखा, कान, दाँत, छाला, हड्डी, रगत सबैको ख्याल गर्नुपर्ने ।

हैन आफ्नो कामको ध्यान दिनु कि शरीरका भएभरका अङ्गलाई जोगाएर हिँड्नु । एउटा दिमागले कति मात्र चिन्ता लिनु । यतै डर, उतै डर । कतै डरलाग्दा भाइरस, कतै अत्यासलाग्दा दुर्घटनाका जोखिम । डराउँदा डराउँदै वरपर तोरीको फूल देख्ने गरी ड्याम्म भयो । बिउँझँदा त खाटबाट लडेर आफैँ पो दुई बल्ड्याङ खाइ भुईँमा बजारिएको !

अन्तिम अपडेट: चैत १६, २०८०

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया