चुनावकाे परिणाम स्वीकार गरेर अघि बढ्नुपर्छ : राणा

 मंसिर १९, २०७८ आइतबार १९:०:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष पशुपतिशम्शेर राणाले चुनावकाे परिणाम स्वीकार गरेर अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई आग्रह गर्नुभएको छ । पार्टीको एकता महाधिवेशनमा चुनावद्वारा नेतृत्व चयन भएको उल्लेख गर्दै उहाँले याे परिणामलाई स्वीकार गरेर पार्टीका सबै नेता, कार्यकर्ता अघि बढ्नुपर्ने बताउनुभएको हो । 

आज आइतवार काठमाण्डाैमा आयोजित नवनिर्वाचित केन्द्रीय समितिको शपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै उहाँले चुनावकाे परिणाम स्वीकार गरेर अघि बढ्न आफू तयार रहेको पनि बताउनुभयो । 

निवर्तमान अध्यक्ष राणाले पार्टीको लक्ष्य प्राप्तिका लागि सशक्त ढङ्गले अघि बढ्न पनि पार्टीको नयाँ नेतृत्वलाई सुझाव दिनुभयो । उहाँले भन्नुभयो, ‘मैले चार दिनअघि भनेको थिएँ– सकभर सर्वसम्मति गरौं । हुन सकेन भने परिणाम स्वीकार गरौँ भनेको थिएँ । म त्यो परिणाम स्वीकार गर्छु । साथीहरूलाई पनि स्वीकार गर्न अनुरोध गर्दछु । एउटै कुरा छ, साथीहरू बाटो सजिलो छैन । बाटो अत्यन्त कठिन छ, तपाईँहरूको सामुन्ने । त्यो बाटो बनाउँदा इमानदारिता र दक्षताको बाटो लिनुपर्छ । पार्टीले लिएको लक्ष्यमा नयाँ नेतृत्वलाई सफलता मिलोस् भन्ने शुभकामना पनि व्यक्त गर्दछु ।’

निवर्तमान अध्यक्ष राणाले राप्रपालाई नयाँ नेतृत्वले देशको वैकल्पिक प्रजातान्त्रिक शक्तिको रूपमा स्थापित गराउने विश्वाससमेत व्यक्त गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया