कांग्रेसमा अझै मतदान सुरु भएन : प्रतिनिधि बिहानैदेखि लाइनमा

 मंसिर २७, २०७८ सोमबार १०:५९:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहान ८ बजेदेखि नै मतदान हुने भनिए पनि अझै मतदान सुरु भएको छैन ।

भृकुटीमण्डप र राष्ट्रिय सभा गृहमा बिहान ८ बजे नै मतदान सुरु गर्ने कार्यतालिका भए पनि अहिलेसम्म सुरु हुन सकेको छैन ।  मतपत्र आउन ढिलाइ भएकाले मतदानमा ढिलाइ भइरहेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

मतदानका लागि भनेर प्रतिनिधिहरु बिहान ८ बजेअघि नै मतदान स्थलमा लामबद्ध भएका थिए । तर, लाइनमा बसेको झण्डै तीन घण्टा हुन लाग्दा समेत मतदान सुरु नभए पछि उनीहरु निराश हुन थालेका छन् । राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा रहेका मनदानस्थल बाहिर प्रतिनिधिहरु लाइनमा छन् ।

कांग्रेस महाधिवेशनमा ४ हजार ७ सय ४३ प्रतिनिधिले सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्यका लागि मतदान गर्नेछन् । उम्मेदवारहरु प्रतिनिधिको लाइनमै पुगेर भोट माग्दै छन् । भृकुटीमण्डप  र प्रदर्शनी मार्गमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रदर्शनी मार्ग प्रवेश गर्ने सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । कांग्रेसको सभापतिमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । प्रकाशमान सिंह र विमलेन्द्र निधिको उम्मेदवारीले प्रतिस्पर्धालाई पेचिलो बनाएको छ ।

सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेमा शीर्ष दुईबीच प्रतिस्पर्धा हुनेछ । पहिलो चरणबाटै विजयी हुनेमा देउवा समूह आशावादी छ । छुट्टाछुट्टै प्यानल बनाएका कोइराला, सिंह र निधिले भने चुनावलाई दोस्रो चरणमा लैजाने नीति लिएका छन् । दोस्रो चरणमा पुर्याउन सकेमा सबै एक ठाउँमा उभिएर देउवामाथि दबाब बढाउन सकिने उनीहरुको बुझाइ छ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया